बैंकहरुको आधार दर १.१६ प्रतिशतले बढ्यो, चार बैंकको आधार दर ९ प्रतिशतभन्दा माथि, कर्जा महङ्गो हुने

बैंकहरुको आधार दर १.१६ प्रतिशतले बढ्यो, चार बैंकको आधार दर ९ प्रतिशतभन्दा माथि, कर्जा महङ्गो हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा अधिकांश बैंकहरुको आधारदर बढेको छ । अघिल्लो पुसको तुलनामा सबैजसो बैंकहरुको आधारदर बढेको छ । तर पहिलो त्रैमास अर्थात असोजको तुलनमा भने केहि बैंकको आधारदर घटेको छ ।

वित्तीय प्रणालीमा तरलता अभाव हुँदै आएपछि गत साउनदेखि नै बैैंकहरुले ब्याजदर बढाउँदै आएका थिए । जसले गर्दा बैंकहरुको आधारदर समेत निरन्तर बढेको छ । पुस मसान्तसम्म आईपुग्दा आधारदर बढेर ९.७४ प्रतिशतसम्म पुगेको छ ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असोजको तुलनामा पुसमा बैंक अफ काठमाण्डू र मेगा बैंकको बाहेक सबै बैंकको आधारदर बढेको छ । त्यस्तै अघिल्लो वर्षको पुसको तुलनामा कृषि विकास बैंक बाहेक सबैको आधारदर बढेको छ ।

चालु आवको पुस मसान्तसम्मको विवरण अनुसार सबैभन्दा बढी आधार दर सिभिल बैंकको ९.७४ प्रतिशत पुगेको छ । गत असोजमा बैंकको आधारदर ८.२६ प्रतिशत तथा अघिल्लो पुसमा ८.४५ प्रतिशत थियो । एनआईसी एशिया, एनसीसी र सिटिजन बैंकको आधारदर ९ प्रतिशत माथि रहेको छ ।

सबैभन्दा सस्तो आधार दर राष्ट्रिय वाणिज्य बैंकको ६.६० प्रतिशत छ । गत असोजमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम आधारदर ५.१८ प्रतिशत थियो । आधारदर कम हुनेमा दोस्रोमा रहेको स्ट्यान्डर्ड चार्टडको ६.८३ प्रतिशत छ । ५ बैंकको आधारदर ७ देखि ८ प्रतिशतको बीचमा रहेको छ । धेरैजसो बैंकको आधारदर ८ देखि ९ प्रतिशतको बीचमा रहेको छ ।

बैंकहरुको आधार दर बढ्दा कर्जाको ब्याज समेत महङ्गो पर्नेगर्छ । बैंकहरुले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याज लिने गर्दछन् । आधार दर जति बढी भयो कर्जाको ब्याज त्यति नै बढी हुनेगर्छ । बैंकहरुसँग कर्जा दिनका लागि आवश्यक रकमको अभाव भएपछि निक्षेपको ब्याजदर बढ्यो यसको असर कर्जाको ब्याजदरमा समेत परेको हो ।

औसतमा बैंकले आधारदरमा ५ प्रतिशतसम्म थप ब्याजदर लिन पाउँछन् । जुन बैंकको आधार ब्याजदर कम छ त्यो बैंकबाट सस्तो ब्याजदरमा ऋण पाउन सकिन्छ । जसको आधार ब्याजदर बढी छ त्यो बैंकबाट ऋण लिदा महंगो पर्छ । ऋण कसलाई दिने वा नदिने भन्ने अधिकार भने बैंकसँग रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सबैभन्दा सस्तो ऋण पूर्णसरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकबाट पाइन्छ । वाणिज्य बैंकको कर्जाको आधार दर ६.६० प्रतिशत रहेको छ । वाणिज्य बैंकको गत पुसको आधारदर सबैभन्दा कम भएपनि गत असोज र अघिल्लो पुसको तुलनामा भने धरै हो । आधार ब्याजदर सिभिल बैंकको सबैभन्दा धेरै छ ।

सिभिलले प्रकाशित गरेको विवरण अनुसार उसको आधार ब्याजदर ९.७४ प्रतिशत छ । त्यस्तै एनआइसी एशिया बैंकको आधार दर ९.४४ प्रतिशत छ भने एनसीसी बैंकको ९.१५ प्रतिशत र सिटिजन्स बैंकको ९.०८ प्रतिशत रहेको छ । अन्य बैंकको भने ९ प्रतिशतभन्दा कम छ ।

संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमा ४ वटा वाणिज्य बैंकको कर्जाको आधार दर ९ प्रतिशतभन्दा बढी छ । यी बैंकको ऋणको ब्याजदर बढी हुन्छ । १६ वटा वाणिज्य बैंकको ८ देखि ९ प्रतिशतसम्म आधार दर रहेको छ । यस्तै ७ वटा बैंकको कर्जाको आधार दर ८ प्रतिशतभन्दा कम छ ।

\"\"