९ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

९ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनका लागि पुस २० गतेबाट ९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले यसअघि जारी भएको ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोलको माध्यमबाट नवीकरण गर्न लागेको हो ।

केन्द्रीय बैंकले पुस १९ गते सोमबार ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । ट्रेजरी बिल खरीद गर्न चाहने सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आगामी चैत २२ गते परिपक्व हुनेछ । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ । यसअघि जारी भएको पुस १२ गते जारी भएको ९ अर्ब १० करोडको ट्रेजरी बिलमा ५.०९८२ प्रतिशत डिस्काउन्टदर कायम भएको थियो । 

आन्तरिक ऋण उठाउनका लागि केन्द्रीय बैंकले १ वर्ष वा सो भन्दा कम अवधिको ट्रेजरी बिल जारी गर्ने गर्दछ । ट्रेजरी बिल आन्तरिक ऋण उठाउनका लागि प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो । बैंकले प्रमिशरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा ७० लाख रुपैयाँ  मूल्यमा ९० दिने ट्रेजरी बिल निष्काशन गरिएको थियो । बोलकबोल प्रक्रियाबाट २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ।

यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन् । नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका ट्रेजरी जारी गर्ने गर्दछ ।नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन ।