फ्रान्सले १० वर्षमा एक लाख कृषि फार्म गुमायो, विस्थापन हुनबाट बचेका फार्म भने तीव्र व्यवसाय विस्तारमा

फ्रान्सले १० वर्षमा एक लाख कृषि फार्म गुमायो, विस्थापन हुनबाट बचेका फार्म भने तीव्र व्यवसाय विस्तारमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फ्रान्स — फ्रान्सले सन् २०१० देखि २०२० सम्म करिब एक लाख कृषि फार्म गुमाएको छ । फ्रान्समा १० वर्षयता प्रत्येक दिन २७ भन्दा बढी फार्म विस्थापित हुने गरेका छन् । फ्रान्समा खेती किसानी गर्नेको संख्या प्रत्येक दिन कम हुँदै गएको छ, जसकारण बाँझो खेत बढ्ने तर कृषि फार्म घट्ने क्रम वृद्धि भइरहेको छ ।

विस्थापन हुनबाट बचेका कृषि फार्मले भने राम्रै गरी व्यवसाय विस्तार गरिरहेको डिसेम्बर १० मा सार्वजनिक कृषि जनगणनाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२० को कृषि जनगणनाले बनाएको यो तथ्यांक शुक्रबार फ्रान्सका कृषिमन्त्री जुलियन डेनोरमान्डीले सार्वजनिक गरे । युरोपेली संघको निर्देशनअनुसार हरेक १० वर्षमा गरिने यस सर्वेक्षणको अन्तिम नतिजा अप्रिल २०२२ मा उपलब्ध हुनेछ । यससँगै फ्रान्समा किसानको संख्या पनि घटेको छ । 

सन् २०१० मा कृषिमा छ लाख चार हजार सक्रिय प्रबन्धक, सहकारी र सहयोगी थिए । तिनीहरूको संख्या २०२० मा १८ प्रतिशत घटेर चार लाख ९६ हजारमा झर्‍यो । कृषि कामदारहरूको संख्या २०१० मा सात लाख ४० हजारबाट सन् २०२० मा ११ प्रतिशत घटेर सन् ६ लाख ५९ हजारमा साँघुरिएको छ । कृषिमा यस्तो अवस्था आउनुको मुख्य कारण कृषिमन्त्रीले नै बताउन सकेका छैनन् । ‘किनभने जीवनको प्रत्येक पाठ्यक्रम विशिष्ट छ । यो उमेरको उतारचढाव हुन सक्छ,’ जुलियन डेनोरमान्डीले अनुमान गरेका छन् ।

कृषि क्षेत्रमा बसोबास गर्नेभन्दा निवृत्त हुनेहरूको संख्या फ्रान्समा धेरै छ । ४० वर्षमुनिका किसानको संख्या स्थिर र ५० देखि ६० वर्षभन्दा बढीको संख्या बढ्दै गएको छ । पत्रकार सम्मेलनमा कृषिमन्त्री डेनोरमान्डीले पुस्ता परिवर्तनले कृषिमा धेरै अवरोध सिर्जना गर्ने उल्लेख गरे । सुविधा र तलब कम, जलवायु परिवर्तनको परिणाम अनि किसानहरूलाई व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन मिलाउन भएको कठिनाइले किसानको संख्या घट्दै गएको उनको भनाइ छ ।

गएको एक दशकमा पशुधन र साना फार्म विशेष पीडित भएको बताइएको छ । पशुपालनमा विशेषज्ञता भएका फार्मको हिस्सा सन् २०१० मा ५५ बाट सन् २०२० मा ४८ प्रतिशतमा झरेको छ । १० वर्षमा ६४ हजार फार्म घटेका छन् । अर्थात् ३१ प्रतिशत कमी आएको छ । यो कमी दूध र मासु उत्पादन गर्ने गाईबस्तु फार्महरूमा अझ उच्च छ । तिनमा ४१ प्रतिशतले कमी आएको तथ्यांक छ ।

फ्रान्समा माइक्रो–फार्महरूको संख्या पनि घटिरहेको छ । औसतमा १२ हेक्टर जमिनमा फैलिएको र प्रतिवर्ष कुल उत्पादनको २५ हजार युरोभन्दा कम भएकोलाई माइक्रो फार्ममा गनिन्छ । सन् २०१० मा एक लाख ५६ हजार यस्ता फार्म रहेकामा सन् २०२० मा ३१ प्रतिशत घटेर एक लाख आठमा झरेको छ । यसको विपरीत उपयोगी कृषि क्षेत्र दुई करोड ६७ लाख हेक्टरमा स्थिर छ । यो राष्ट्रिय क्षेत्रको लगभग आधा हो ।

यस क्षेत्रमा महिलाहरूलाई आकर्षण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ । अहिले महिला किसानको संख्या फ्रान्समा जम्मा २७ प्रतिशत छ । त्यसमा पनि विद्यार्थीहरूले आधा प्रतिनिधित्व गर्छन् । कृषि उच्च शिक्षा भएका व्यक्तिले अधिकांश श्रमशक्तिको प्रतिनिधित्व गर्छन् । यो संख्या पनि आगामी दिनमा घट्न सक्ने औंल्याइएको छ । सन् २०२० को कृषि जनगणनाबाट धेरैजसो कृषि फार्मले जैविक खेती, गुणस्तर लेबल र छोटो क्षेत्रलाई मात्रै लक्ष्य गरेर बजारीकरणको नीति अपनाइरहेको देखिएको छ । १० वर्षमा, अर्ग्यानिक खेतीको हिस्सा तीन गुणा बढेको छ ।

सन् २०१४ मा कृषि क्षेत्रको गुणस्तर बढाउन भन्दै फ्रान्सले उच्च वातावरणीय मूल्य (हाई इन्भाइरोन्मेन्टल भ्यालु) सिर्जना गरेको थियो । रासायनिक पदार्थ, कीटनाशक औषधिलगायतको प्रयोग कम गरेर प्राकृतिक खेती उत्पादन गर्ने र त्यसलाई उच्च मूल्यमा बिक्री गर्न सकिने प्रावधान फ्रान्सले नीतिगत रूपमै ल्याएको थियो । यो पद्धति दुई हजार पाँच सयभन्दा बढी फार्मले अपनाएको कृषि मन्त्रालयले उल्लेख गरेको छ । तर यसमा किसानको उत्साह कम देखिएको कृषिमन्त्री डेनोरमान्डीको भनाइ छ । एजेन्सी