काठमाडौं – जलवायु परिवर्तन र त्यसका असरसँग जुध्न चक्रीय अर्थतन्त्रको महत्त्व बुझाउन आयोजित दुई दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। सोमबार र मंगलबार सञ्चालित तालिमको आयोजना वन्यजन्तु संरक्षण संघ नेपालले गरेको हो। तालिममा सहभागीहरूले चक्रीय अर्थतन्त्र पद्धति अपनाउनु पर्नेमा जोड दिएका थिए। वातावरण प्रदूषण हुने सामग्रीहरू प्रयोग नगर्नु, नयाँ सामग्री उत्पादन गर्दा पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्नु, उद्योगबाट निस्किने फोहोरको व्यवस्थापन उद्योग स्वयंले गर्नु पर्ने लगायतका सुझावहरू तालिममा छलफलका विषयका रूपमा उठेका थिए।
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले नेपालले चक्रीय अर्थतन्त्र पद्धतिमा आफूले सक्ने लक्ष्य मात्र राख्नुपर्ने बताए । विश्वका अन्य देशहरू फेरि प्रकृतितर्फ फर्किएको भन्दै उनले नेपालका प्राकृतिक सम्पदा जोगाउनुपर्नेमा जोड दिए ।
वन्यजन्तु संरक्षण नेपालकी निर्देशक सजीवनी योञ्जनले विश्व चक्रीय अर्थतन्त्र पद्धतिमा गइरहेको र नेपाल पनि सोही पद्धतिमा जानुपर्ने बताइन्। तालिममा वातावरण पत्रकार सुबोध गौतम र पीताम्बर सिग्देलले चक्रीय अर्थतन्त्रसम्बन्धी समाचार लेखनको महत्त्व र शैलीबारे प्रशिक्षण दिएका थिए। नेपालमा युरोपियन युनियनको आर्थिक सहयोगमा वन्यजन्तु संरक्षण संघले चक्रीय अर्थतन्त्रसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छ।



About Us
प्रतिक्रिया