महिला प्रहरीकाे भूमिकाकाे कदर, प्रधान कार्यालयमा वुमन ग्यालरी


काठमाडौं – प्रहरी राज्यको सुरक्षा प्रदायक निकाय हो । जुन निकायले सार्वजनिक विश्वास कायम राख्दै कानुन कार्यान्वयन, अपराध नियन्त्रण, रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य निर्वाह गर्दै आइरहेको छ। प्रहरी संगठनको प्रभावकारिता र कुशलताको सुनिश्चितता प्रहरी व्यवस्थापन, प्रशासन र आन्तरिक नियन्त्रणजस्ता संगठनात्मक कारक तत्त्वमा निर्भर हुन्छ। 

अहिले हरेक क्षेत्रमा महिलाहरूको सक्षम नेतृत्व, समावेशिता र सहभागिता बढ्दो छ। यसकाे उत्कृष्ट ज्वलन्त उदाहरण सत्य सेवा सुरक्षणम् मूल मन्त्र बनाएर राष्ट्रको सेवा गरिरहेका महिला प्रहरीहरू हुन्। उनीहरूले साहस, दृढता, र समर्पणको अद्वितीय उदाहरण प्रस्तुत गरेका छन् । प्रहरी सेवामा समाजमा अन्याय र जोखिममा परेका व्यक्तिहरूलाई सहयोग गर्न समर्पित महिला प्रहरीहरू राष्ट्रको गौरव र प्रेरणाको स्रोत बनेका छन् ।

यीनै महिला प्रहरीहरूकाे सम्मान स्वरूप नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले महिला बालबालिका तथा जेष्ठ र नागरिक सेवा निर्देशनालयमा वुमन पुलिस ग्यालरी स्थापना गरेकाे छ । यो ग्यालरी प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले उद्घाटन गरेका थिए। ग्यालरीमा नेपालकी पहिलो महिला प्रहरी चैतमाया डंगोलको साहस र योगदानदेखि अपराध अनुसन्धान, शान्ति सुव्यवस्था, नागरिक सहायता, खेलकुद, संयुक्त राष्ट्र संघ शान्ति मिसन, र अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्टता प्रदर्शन गरेका महिला प्रहरीहरूको तस्बिर राखिएको छ ।

प्रहरी नायव महानिरीक्षक डा. मनोजकुमार केसीले महिला प्रहरीहरूको समर्पण र साहसले समग्र महिलाहरूलाई व्यावसायिकता र निस्वार्थ सेवामा लाग्न प्रेरित गर्ने बताए। ‘ग्यालरीले महिला प्रहरीहरूको गौरवमय इतिहासलाई जीवन्त राख्दै, आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने छ। यो ग्यालरीले महिला प्रहरीहरूको योगदानलाई सम्मान गर्दै, समाजमा लैगिंक समानताको महत्वलाई उजागर गर्ने छ।’

नेपाल प्रहरीको यो पहलले महिलाहरूको साहस र समर्पणलाई सम्मान गर्दै, प्रहरी सेवामा उनीहरूको भूमिकालाई उजागर गर्दछ। यो ग्यालरी महिला प्रहरीहरूलाई साहसिक, व्यावसायिक र निस्वार्थ सेवामा लाग्न प्रेरित गर्ने एक महत्त्वपूर्ण स्रोत बन्ने विश्वास प्रहरी प्रधान कार्यालयले लिएकाे छ।