बजेटले सुनचाँदी व्यवसायीमा छाएकाे निराशा

बजेटले सुनचाँदी व्यवसायीमा छाएकाे निराशा


काठमाडौं – पछिल्लो समय सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । यो हप्तामा मात्रै हेर्ने हो भने ५ हजार ३ सय रुपैयाँले बढेको छ । बजेटले सुनमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएसँगै सुनको कारोबार गर्ने व्यवसायीहरुले आफूहरु मर्कामा परेको बताउँदै आएका छन् ।

बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस २ हजार ३५८ रहेकाले नेपाली बजारमा प्रति तोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। व्यवसायीले बुधबार भने भन्सार दरबारे बुझ्न समय लागेका कारण बढेको महसुलका आधारमा मूल्य बढाएका थिएनन्।

महासंघले बिहीबार र शुक्रबार भने सो भन्सार दर समायोजनसहित मूल्य तय गरेको हो। यससँगै बिहीबार सुनको मूल्य २३ सयले र शुक्रबार १७ सयले बढेको छ। यसअघि जेठ ७ गते सुनको मूल्यले त्यसअघिका सबै रेकर्ड तोडेको थियो। सो दिन १ लाख ४१ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेका बेला सरकारले पनि भन्सार वृद्धि गरेकाले सुनको मूल्य थप महँगिन पुगेको व्यवसायीहरुको भनाई छ ।

यसरी भन्सार शुल्क बढेसँगै १० ग्राम सुनमा अब २३ हजार ५५० रुपैयाँ भन्सार लाग्नेछ। भन्सार थप ५ प्रतिशत बढाइएकाले अब विदेशमा भन्दा नेपालमा सुनको मूल्यमा तोलामा २५ हजार रुपैयाँ बढी पर्ने व्यवसायीहरूले बताएका छन्। सरकारले झिटीगुन्टाका रूपमा विदेशबाट आउनेले ल्याउने एक सय ग्रामभन्दा बढी सुनमा पनि अतिरिक्त ३ प्रतिशत भन्सार महसुल लगाएको छ। नेपाल राष्ट्र बैंकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत असोज दोस्रो साता सुनको दैनिक आयात कोटा १० किलोबाट २० किलो पुऱ्याएको थियो। कोटाअनुसार बैंकहरुले सुन आयात गर्छन्।

व्यवसायीमा निराशा बढाउँदै सुन तस्करलाई बढवा दिदै सरकार

सरकारले बजेटमार्फत सुनको भन्सार शुल्क बढाएसँगै सुनचाँदी व्यवसायी आक्रोशित बनेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य पछिल्लो समय सुनको मूल्य बढेर व्यापार घटिरहेको समयमा भन्सार शुल्क बढ्दा थप नकारात्मक असर परेको बताउँछन् । भन्सार शुल्क बढेसँगै सुन तस्करी थप बढ्ने तर्क अध्यक्ष शाक्यको छ ।

उनी भन्छन्, ‘भन्सार शुल्क बढेसँगै अवैध रुपमा सुन भित्रिने क्रम बढ्द, तोलमा २८ हजार फाइदा भएसँगै सुनस्करहरु ज्यान फालेर लाग्ने भए । झन् हाम्रोमा त तीनतिरको बोर्डर खुल्ला छ । पहिले उत्तरतिबाट मात्र सुन आउथ्यो भने, अब दक्षिण तिरबाट पनि आउने जोखिम बढेको छ ।’

सरकारले भन्सार शुल्क समीक्षा गरेर पुनरावलोकन गर्नुपर्ने

नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्य सरकारले बजेटमार्फत भन्सार शुल्क बढाउँदा कुनै सल्लाह नगरेको बताउँछन् । कुनै पनि जानकारी नदिई भन्सार शुल्क बढाइएको उनी बताउँछन् । उनी भन्छन् ,‘ कुनै पनि छलफलहरूमा सुनको भन्सार शुल्क बढाउने विषयमा छलफल भएको थिएन, चाँदीमा लचिलो नीति लिनुपर्ने हाम्रो माग थियो तर त्यसको सम्बोधन नगरी सुनको भन्सार बढाइयो।’ सुनको मूल्य अत्यधिक वृद्धि, उपभोक्ताको क्रय शक्ति घटेको बेला सरकारले भन्सार शुल्क बढाएर सुनचाँदी व्यवसायीलाई अन्याय गरेको उनी बताउँछन् । जसले गर्दा समग्र सुनचाँदी व्यवसाय, व्यवसायीहरुमा नकारात्मक असर परेको उनको भनाइ छ। वि.स. २०२२ सालदेखि सुनचाँदी व्यवसायमा आबद्ध शाक्य भन्छन् भन्सार शुल्क बढाइएकोप्रति सरकारले पुनरावोलन गरेर समीक्षा गर्नुपर्छ ।

यो साता सुनको मूल्य कुन दिन कति थियो ?
यो साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियो। अघिल्लो शुक्रबार प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार स्थिर रहेको थियो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको थियो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमामा कारोबार भएको थियो ।

साथै मंगलबार सुनको मूल्य सोमबारको तुलनामा १ सय रुपैयाँ अर्थात् ४ सय रुपैँयाले बढेको थियो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार सु्नको मूल्य मंगलबारको तुलनामा २ सय रुपैयाँ अर्थात् ६ सय रुपैयाँले बढको थियो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो । साथै बिहीबार सुनको मूल्य बुधबारको तुलनामा १७ सय बढी अर्थात् २३ सय रुपैयाँले बढेको थियो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुनको मूल्य १७ सय रुपैयाँले बढेको थियो । अघिल्लो दिन २३ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार १७ सयले बढेको हो। त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।