हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैन : नाट्टा

हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैन : नाट्टा


काठमाडौं – नेपाल एशोसिएसन टुर्र एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ। आर्थिक वर्ष २०८१/ ८२ को बजेट वक्तव्यपछि नाट्टाका अध्यक्ष रमेश थापाद्वारा बुधबार जारी विज्ञप्तिमा व्यवसायीले हवाई टिकटमा लगाएको भ्याट हटाउन सरकारलाई पटकपटक ध्यानाकर्षण गराइए पनि नहटाउँदा पर्यटन व्यवसायी र हवाई यात्रुलाई समस्या परेको उल्लेख छ। 

 ‘गत वर्षको बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेपछि पर्यटन व्यवसायी र हवाई यात्रु मर्कामा परेका छन्, जसका कारण नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यासमेत उल्लेख्य मात्रामा बढ्न सकेको छैन,’ नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष थापाले हवाई क्षेत्रको विकासका रूपमा सम्पन्न भइसकेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको अवस्थामा भ्याट बढाउँदा आगामी आवमा पर्यटक भित्र्याउनका लागि सरकारले राखेको लक्ष्य पूरा हुन नसक्ने उल्लेख गरे । हवाई टिकटमा भ्याट लगाउँदा यात्रु र व्यवसायीमा आर्थिक रूपले वृद्धि भइरहेको तथा यस पेसामा संलग्न व्यवसायीहरुसमेत विस्तापित हुने वातावरण सिर्जना भएको नाट्टाले जनाएको छ।