यस वर्ष वाणिज्य बैंकहरुको ६ वर्षयताकै न्यून निक्षेप संकलन

यस वर्ष वाणिज्य बैंकहरुको ६ वर्षयताकै न्यून निक्षेप संकलन


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन निकै कम देखिएको छ। नेपाल बैंकर्स एशोशियसनको तथ्याङ्क अनुसार बैंकहरुको निक्षेप संकलन विगत ६ वर्ष यताकै न्यून देखिएको हाे। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा बैंकहरुको निक्षेप संकलन जम्मा ३२ अर्ब रुपैयाँले बढेको छ।

गत आर्थिक वर्षको यही चार महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १ खर्ब ६१ अर्ब रुपैयाँले बढेको थियो। तर यस वर्षको सुरुवातदेखिनै बैंकहरुमा निक्षेप संकलन बढ्न सकेको छैन्। उल्टै निक्षेप संकलन घट्दो क्रममा छ।

आर्थिक वर्ष २०७६/७७ को यसै अवधिमा बैंकहरुको निक्षेप १ खर्ब २१ अर्ब रुपैयाँले बढेको थियाे भने २०७५/७६ मा ९६ अर्ब, २०७४/७५ मा ७८ अर्ब, २०७३/७४ मा ७६ अर्ब र आर्थिक वर्ष २०७२/७३ मा पनि निक्षेप संकलन ५६ अर्ब रुपैयाँले बढेको थियो।

यस वर्ष भदौ र असोजमा निक्षेप संकलन केही बढेको भए पनि आर्थिक वर्षको सुरुवाती महिना असारमा नै निक्षेप संकलन ७८ अर्ब रुपैयाँले घटेको थियो। यस्तै गत कार्तिक महिनामा पनि निक्षेप संकलन ३६ अर्ब रुपैयाँले घटेको छ।

विगतमा लगानीयोग्य रकम कम हुँदा बैंकहरुले निक्षेपको ब्याजदर उच्च रुपले बढाएर निक्षेप संकलन बढाउने गरेका थिए। तर यस वर्ष राष्ट्र बैंकको नीतिको कारण बैंकहरुले धेरै ब्याजदर बढाउन पाएनन्।

पछिल्लो केही साताको तथ्याङ्क हेर्ने हो भने बैंकमा आउने भन्दा बाहिरिने निक्षेप धेरै छ। मंसिर लागेपछि मात्रै बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले घटेको छ। यो भनेको दैनिक झण्डै दुई अर्ब रुपैयाँले निक्षेप संकलन घटिरहेको देखिन्छ।

निक्षेप संकलन बढ्न नसकेपछि केन्द्रिय बैंकले बैदेशिक मुद्राको निक्षेप बढाउन चालु आर्थिक वर्षको मौद्रिक नीतिकाे समीक्षमार्फत केही सहजीकरण गर्न खोजेको छ। गैरआवासीय नेपालीहरुले पनि नेपालमा विदेशी मुद्राको खाता खोल्न सक्ने व्यवस्था गरेको छ।

कर्जा लगानी भने ६ वर्ष यताकै धेरै
बैंकहरुको कर्जा लगानी भने गत ६ वर्ष यताकै धेरै देखिएको छ। बैंकर्स एशोशियसनको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा बैंकहरुका ३ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

गत साउनमा ४३ अर्ब कर्जा दिएका बैंकहरुले भदौमा १ खर्ब ८ अर्ब, असोजमा १ खर्ब २६ अर्ब र कार्तिकमा ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

गत आर्थिक वर्षको यही ४ महिनामा बैंकहरुको १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। गत वर्षको तुलनामा दोब्बरभन्दा धेरै कर्जा बैंकहरुले दिइसकेका छन्।

बैंकहरुले आर्थिक वर्ष २०७६/७७ पहिलो ४ महिनामा १ खर्ब ४२ अर्ब कर्जा दिएका थिए भने २०७५/७६ मा १ खर्ब ७२ अर्ब, २०७४/७५ मा ८८ अर्ब, २०७३/७४ मा १ खर्ब ५ अर्ब र आर्थिक वर्ष २०७२/७३ मा ५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थिए।

४ महिनाम साढे ८ प्रतिशतले बढ्यो कर्जा लगानी
कार्तिक महिनासम्ममा बैंकहरुको कर्जा लगानी ८.४१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष बैंकहरको कर्जाको बृद्धिदर १९ प्रतिशत हुने लक्ष्य राखेको छ। पहिलाे ४ महिनामानै उच्च रुपले कर्जा बृद्धि भएपछि अब बैंकहरुसँग थप कर्जा लगानी गर्ने रकम छैन। अघिकाँश बैंक सिडिको सीमाका कारण धेरै कर्जा विजस्तार गर्न नसक्ने अवस्थामा पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म्मा ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले गत कार्तिक अन्तिमसम्ममा ४० खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। सो पश्चात पनि बैंकहरुले १४ अर्ब कर्जा लगानी गरिसकेका छन्।