उत्पादनमूलक कम्पनीले पनि विदेशबाट ऋण लिनसक्ने

उत्पादनमूलक कम्पनीले पनि विदेशबाट ऋण लिनसक्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रका कम्पनीहरुले पनि विदेशीबाट संस्थागत ऋण लिन सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत उत्पादन मूलक तथा पुर्वाधार कम्पनीले बाह्य वित्तीय स्रोत जुटाउने बाटो खुलाएको हो ।

पछिल्लो समयमा वित्तीय प्रणाीमा स्रोत अभावको समस्या जटिल बन्दै गएपछि राष्ट्र बैंकले विदेशी ऋणका लागि बाटो खुलाउने जनाएको हो ।
बैंक वित्तीय संस्थामा हाल देखिएको तरलता अभाव र कर्जा लगानीयोग्य रकमको समस्याले उत्पादन, पुर्वाधार तथा पर्यटन क्षेत्रका कम्पनीलाई समस्या नहोस् भन्दै वाणिज्य बैंकको ग्यारेन्टीमा विदेशी संस्थाबाट संस्थागत ऋण लिने विकल्पमा केन्द्रीय बैंक गएको हो ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित कम्पनीले विदेशबाट संस्थागत ऋण लिनसक्ने व्यवस्था गरिने उल्लेख गरेको छ । यसरी विदेशेबाट संस्थागत ऋण लिन चाहने कम्पनीलाई आवश्यक पर्ने बैंक ग्यारेन्टी वाणिज्य बैंकहरुले जारी गर्न आवश्यक नीतिगत व्यवस्था समेत मिलाइने समीक्षामा उल्लेख छ ।

पछिल्लो समयमा उच्च आयतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थालेपछि त्यसलाई समेत ध्यानमा राखी विदेशी लगानी भित्र्याउन कही खुकुलो नीति अवलम्बन गरिने जनाएको छ । विदेशी मुद्राको आप्रवाह बढाउन राष्ट्र बैंकले उत्पादन मूलक क्षेत्रमा ऋण तथा बैंक वित्तीय संस्थाले विदेशी मुद्रामा ल्याउने कर्जाको ब्याजदर तथा शुल्कमा समेत पुनरावलोकन गरिने केन्द्रीय बैंकले जनाएको छ ।

विगतका वर्षहरुमा पनि कर्जा स्रोत अभावको समस्या देखिएपछि राष्ट्र बैंकले विदेशी बैंक वित्तीय संस्थाबाट विदेशी मुद्रामा कर्जा लिन सकिने व्यवस्था अहिले पनि कायम छ । बैंकहरुले कर्जा लगानीका लागि समस्या परेको खण्डमा तोकिएका क्षेत्रमा लगानी गर्ने गरी विदेशी बैंक तथा वित्तीय संस्थाबाट परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

यस्तो कर्जाको सीमा बैंक वित्तीय संस्थाको प्राथमिक पूँजीको आकार बराबरको ल्याउन सक्छन् । केन्द्रीय बैंकले विदेशी ऋण यस्तो ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने समेत केन्द्रीय बैंकले जनाएको छ । यद्यपी देशको कन्ट्रि रेटिङ्ग र हेजिङ विनियमावलीमा संशोधन नहुँदा विदेशी स्वामित्व समेत रहेका केही बैंकहरुले विदेशी ऋण ल्याएपनि सबै बैंकहरुले ऋण ल्याउन सकेका छैनन् ।

राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढाउने तथा अहिलेको स्रोत अभावको समस्या पनि सहज हुने गरी विदेशी मुद्रा भित्र्याउने नीति अबलम्बन गरेको देखिन्छ । यसका लागि केन्द्रीय बैंकले गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्था समेत सहज बनाउने जनाएको छ । समीक्षा मार्फत विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमाको समेत पुनरावलोकन गर्ने उल्लेख छ ।