धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अन्ततः बर्खास्त भएका छन् । 

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले बोर्ड अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

 

 

सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमार्फत गलत ढंगले खरीद गरेको, ५१ वटा कम्पनीलाई जोखिमयुक्त भन्दै विभिन्न शक्तिकेन्द्रको प्रभावमा परेर सूची प्रकाशन गरेको, धितोपत्र बजारमा गैरकानूनी काम गरेको तथा बजार सम्बद्ध विभिन्न पक्षबाट आर्थिक लाभ लिएको लगायतका गम्भीर आरोप उनीमाथि लागेको थियो । 

यसअघि ढुंगानालाई अर्थमन्त्रालयले निलम्बन गरेको थियो । निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रीपरिषद बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सरकारलाई उनलाई स्पष्टीकरण समेत बुझाएका थिए । तर स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

ढुंगाना मुख्य रुपमा  ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई सेयर बिक्री खुलाउने पहिलो कम्पनी बन्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । उनले बोर्डको अध्यक्ष भएकै बेला अमेरिकामा रहेकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारबाट खरीद गरेका थिए । 

यो प्रकरणमा बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि मुछिएका थिए । तर, यो प्रकरणमा मुछिएसँगै उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए । बोर्ड अध्यक्ष ढुंगाना भने आफ्नो गल्ती नभएको भन्दै राजीनामा नदिई अटेर गरी बसेका थिए ।