बैंकको बिजनेस मोडेल के हो ?

बैंकको बिजनेस मोडेल के हो ?


काठमाडौं–हामी बैंक तथा वित्तीय संस्थामा आफुसँग भएको पैसा बचत गर्छौं, किनकी बैंकले हाम्रो पैसा सुरक्षित राख्छ ।चाहिएको बखत फिर्ता गर्छ र पैसा राखे बापत ब्याज दिन्छ । जसकारण हामीलाई फाइदा हुन्छ र हामीले बैंकमा पैसा राख्ने गछौं । तर हामीले बैंकमा राखेको पैसाबाट बैंक तथा वित्तीय संस्थाले कसरी नाफा कमाउँछ वा उसलाई फाइदा हुन्छ ? अझ भनौ हाम्रो पैसाबाट आफ्नो लागि कसरी पैसा कमाउँछ होला ! आउनुहोस् आजको भिडियोमा यस विषयमा चर्चा गरौं:

बैंकले तपाईँ हामीबाट लिएको पैसा बैंक लकरमा राखिराख्ने होइन । उसले हामीबाट लिएको पैसाको सही प्रयोग गरिरहेको हुन्छ। बैंकमा बचत भएको वा हामीले राखेको पैसा दोस्रो व्यक्ति वा संस्थालाई ऋण दिएको हुन्छ। उदाहरणका लागि : ए नामको बैंक छ, उसले तपाईँबाट रु. एक हजार रुपैयाँ लिन्छ वा तपाईँको पैसा बचतको रुपमा लिन्छ र तपाईँलाई रु. एक हजार रुपैयाँको प्रत्येक महिना ५ प्रतिशत ब्याज दिन्छ । अब तपाईँको त्यो एक हजार रुपैयाँ पैसा बैंकले कोही ऋण लिन चाहने व्यक्ति वा संस्थालाई दिन्छ र ऊसँग १० प्रतिशत ब्याज लिन्छ । यसकाे मतलब एक सय रुपैयाँ प्रत्येक महिना, बैंकलाई फाइदा हुने भयो ५ प्रतिशत । यसलाई इन्ट्रेस्ट स्प्रेड भनिन्छ । बैंकले नाफा कमाउने मुख्य औजार नै यो हो । अब तपाईँलाई लाग्ला त्यतिले त यतिकाे धेरै बैंक कसरी चल्छन् । बैंकले तपाईँ हामी जस्ता मानिस १०० औं व्यक्तिबाट पैसा संकलन गरेको हुन्छ । यसमा अब एउटा महत्वपूर्ण कुरा जानौं है त । जस्तो तपाईँलाई बैंकमा राखेको पैसा अर्जेन्ट चाहियो तर त्यो ऋण लिनेले बैंकलाई त्यो पैसा बुझाएको हुँदैन । त्यस्तो बेलामा बैंकले तपाईँलाई त्यो पैसा कसरी उपलब्ध गराउँछ होला यो प्रश्न आउन सक्छ । अब यस्तो अवस्थामा बैंकहरुले तपाईँको पैसा कसरी उपलब्ध गराउँला ?

ए नामको बैंकमा तपाईँ १ जना मात्र त होइन पैसा डिपोजिट गर्ने, त्यहाँ पैसा राख्ने सयौं बचतकर्ता हुन्छन् तर ती बचतकर्ताबाट लिएको पैसा ब्याज बैंकले लोन मार्फत बजारमा लगानी गरेको हुन्छ । यस्तो अवस्थामा बैंकहरुको लागि नेपाल राष्ट्र बैंकले एउटा नियम बनाएको हुन्छ । जस्तै: ए नामको बैंकमा बचतकर्ताको रकम जति डिपोजिट छ, त्यसको ४ प्रतिशत रकम बैंकले आफुसँग रिजर्भ गरेर राख्नुपर्दछ । यसलाई अनिवार्य नगद अनुपात भनिन्छ । यो पनि समय अनुसार राष्ट्र बैंकले परिवर्तन गर्ने गर्दछ । त्यस्तै,अर्को हुन्छ एसएलआर, जुन बैंकहरुले सरकारी ऋणपत्र,गोल्ड रिर्जभ जस्ता तरल सम्पत्ती मार्फत राख्नुपर्ने हुन्छ । यस्तो तरल सम्पत्ति वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १२ प्रतिशत राख्नुपर्ने हुन्छ । अब अनिवार्य नगद अनुपात र एसएलआरको १६ प्रतिशत बाहेकको ८४ प्रतिशत डिपोजिट रकम बैंकहरुले बजारमा लोन मार्फत लगानी गर्दछन् । यही १६ प्रतिशत रकमबाट तपाईँलाई अर्जेन्ट पर्दा बैंकले पैसा फिर्ता गर्छ । त्यस्तै, तपाईँको ब्याजको रकम र बैंकले आफ्नो फाइदा भने बजारमा लोन मार्फत प्रवाह गरेको ८४ प्रतिशत रकमको ब्याजबाट पूर्ति गर्दछन् ।

अब यसबाहेक बैंकले फाइदा हुने अन्य गतिविधि पनि गर्दछन् । जस्तै: बैंकहरुले बचतकर्तालाई विभिन्न आकर्षक खाताहरु देखाएर निक्षेप संकलन गरिरहेको हुन्छ । बैंकले दोस्रो ठाउँमा ऋण दिँदा स्थिर बेस्ट प्रोफिट आउने प्राेजेक्टमा लगानी गर्दछ । अर्को बैंकहरूले शुल्कमा आधारित सेवाहरू जस्तै: खाता मर्मतसम्भार शुल्क, ओभरड्राफ्ट शुल्क, एटीएम शुल्क, तार स्थानान्तरण शुल्क र लेनदेन शुल्कहरू मार्फत राजस्व उत्पन्न गर्दछ । जस्तो हामीले बैंकबाट एटिएम कार्ड लिएका हुन्छौं बैंकमा सयौं बचतकर्ता हुन्छन् जसमा केही बाहेक सबैले यो सुविधा लिएका हुन्छन् । जसबापत बैंकले कार्डको सेवा शुल्क लिने गर्दछ ।