‘हबीबी चाये’ चियाको अर्को अड्डा

‘हबीबी चाये’ चियाको अर्को अड्डा


‘चिया पिउनु भयो ? चिया त पिएर जानु होस् ।’ यो आम नेपालीको भाष्य मात्र होइन, भावना भरिएको संस्कार पनि हो । विशेष गरी नेपाल र भारतमा चिया पिउने संस्कृति नै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफुलाई चियावाला भनेर चिनाउन गर्व गर्छन् । पछिल्लो समय चियाको स्वादलाई झन् स्वादिष्ट बनाएर व्यवसायिक चिया पसल खुलिरहेका छन् । त्यसै मध्येको एउटा उदाहरण हाे, ‘हबीबी चाये’ जुन अहिले सामाजिक सञ्जालमा चर्चामा छ । चिया मन पराउनेहरूका लागि ‘हबीबी चाये’ नयाँ गन्तब्य बन्न थालेको छ । ‘हबीबी चाये’ दुई साथी नितेन कोइराला र दिपेश दाहालको परिकल्पना हो, जुन साकार भइरहेको छ ।
फस्टाउँदै गरेको ‘हबीबी चाये’ विदेश बसाईको क्रममा सिकेको सिप अनि स्वदेश मै केही गर्नुपर्छ भन्ने हुटहुटीले रोपेको बिरुवा हो । ‘यसलाई अन्य सामान्य चिया पसलभन्दा फरक बनाउने सोचेर खोलेका हौं’, सञ्चालक दिपेश भन्छन्, ‘१४वर्षको परदेशी जीवनमा त्यो खुशी नै मिलेन जुन यो चिया पसलले दिएको छ ।’ अर्का सञ्चालक नितेन भन्छन्, ‘नेपालमा चियाको माग बढ्दै जाँदा आफ्नो चिया पसल अरु भन्दा फरक र लोकप्रिय नाम राख्न खोज्दा ‘हबीबी चाये’ खोलेका हौं अनी हबीबी चाये नेपालमा नयाँ स्वाद र नयाँपन दिन खोलिएको हो ।’

कामको शिलशिलामा विभिन्न देशमा घुमिरहँदा एकचोटि इजिप्टको पिरामिड हेर्न पुगेका उनीहरुले पहिलो पटक बालुवामा पकाएको चियाले उनीहरूलाई लोभ्याएको थियो । कसरी गरेको होला भन्ने कौतुहलताले सबै प्रकृया बुझेर ग्राहकको प्रतिक्रिया, स्वाद र चिया बनाउने फरकपनले उनीहरु आश्चर्य भए । उक्त ठाउँमा त्यो नाम प्रख्यात थियो । ‘हबीबी’ अरबी शब्द हो । जस्को अर्थ मेरो माया हुन्छ । नेपालमा पनि सुरुवात गर्न पाए हुँन्थ्यो भन्ने भावनाले सुरुवात गरे ‘हबीबी चाये’ । दुई वर्ष अघि सानो टेबलमा सुरुवात गरेको हबीबी चायेको अहिले दु्ई वटा ब्राञ्च पनि खोलिसकेका छन्। हबीबी चाये अन्य साधारण चिया भन्दा फरक हिसाबले बनाइन्छ । जसको स्वाद अन्य चियाको भन्दा फरक हुने सञ्चालकको भनाइ छ।

उनीहरु भन्छन्, ‘चुनौती हरेक व्यवसायमा हुन्छ । चुनौती भन्दा ठूलो कुरा अरु भन्दा कसरी फरक तरिकाले प्रस्तुत हुने भन्ने हो ।
आर्थिक मन्दीका कारण सबै व्यवसायलाई असर परिरहेको छ । यस्तो अवस्थामा विभिन्न चुनौतीहरू भए पनि ग्राहकको प्रतिक्रियाले अघि बढ्न सहयोग पुगेको उनीहरु बताउँछन्। ‘नेपालको व्यवसायिक जगतमा विभिन्न चुनौती त छन् तर चुनौतीहरूलाई कसरी ग्रहण गर्ने भन्नेमा भर पर्छ’, दिपेश भन्छन्, ‘व्यवसाय यहाँसम्म पर्यााउन साथी बिना सम्भव थिएन । दुबैको साथ र हिम्मतले सम्भव भएको हो ।’ नेपालमा सम्भावना छैन भन्ने भिडमा क्यानडाको भिसालाई त्यागेर नेपालमा केही गर्छु भन्ने धारणा लिएर फर्किएको कुरालाई सम्झिदै नीतेन भन्छन्, ‘नेपालमा सम्भावना नभएको होइन नेपालमा सम्भव बनाउन गाह्रो मानिएको हो ।’

नेपालमाभन्दा बढी अवसर बाहिरी देशमा भएपनि नेपालमा केही गरौं भनेर फर्किएको बताउँदै उनीहरु भन्छन्, ‘नेपालमा पनि धेरै सम्भावना छ नेपालमा कोसिस गर्नुपर्छ सबै सम्भव छ।’ स्वदेशमै नयाँ व्यवसाय सुरुवात गर्न खोजिरहेका युवाहरूलाई कुनै पनि सहयोग वा प्रोत्साहन नमिल्ने विडम्बना रहेको उनीहरु बताँउछन् । नेपालमा विदेशबाट फर्किएका युवाहरूलाई सबै प्रकारको सहयोग हुने गरेको भ्रम मात्र रहेको उनीहरुको बुझाई छ । उनीहरु अहिले सरकार वा बैंकबाट पाउने सहयोग के कस्तो हुन्छ बुझेर लिने तयारीमा छन् । ‘नयाँ योजनाको कुनै सीमा छैन, नेपालमा गलत प्रचलन बसेको छ अरुको नक्कल गर्ने, अरुले जे गरेको हुन्छ त्यहि गर्न खोज्ने यो प्रवृितले गर्दा नै बजार अस्तव्यस्त भएको हो । नेपालमा गर्न सके धेरै राम्रो बजार छ । यसमा सबैले सिर्जनात्मक तरिकाले प्रस्तुत हुनुपर्छ’ उनीहरु भन्छन् ।

सफलता रातारात पैदा हुने कुनै चमत्कारीक बस्तु होइन । यसका लागि इच्छा शक्ती र दृढ संकल्पको आवश्यता पर्छ । विदेशमा सिकेको सिपलाई स्वदेशमा व्यवसायिक बनाउनु आफ्नो लागि मात्र नभइ धेरैका लागि प्रेरणा बन्न सक्छ । त्यसकारण सकारात्मक व्यक्तिले चुनौतीमा अवसर देख्छ भने नकारात्मक धारणा भएको व्यक्तिले अवसरलाई चुनौतीका रुपमा बुझ्छ । त्यसकारण देशको अवस्थालाई सराप्नुभन्दा आफ्नो सिप, क्षमतालई प्रयोग गरे स्वदेशमै केही गर्न नसकिने ठाउँ नै नभएको भने होइन।