काठमाडौं– नेपाल राष्ट्र बैंकले घ वर्गको इजाजत दिएको लघुवित्त संस्था दुई किसिमका छन् । एक थरीका लघुवित्तले थोक कर्जा प्रदान गर्दछन् भने अर्का थरीले खुद्रा कर्जा लगानी गर्छन । हाल थोक कर्जा प्रदान गर्ने लघुवित्त ३ वटा रहेका छन् । खुद्रा कर्जा प्रदान गर्ने लघुवित्तको बारेमा धेरैलाई जानकारी भएतापनि थोक कर्जा प्रदान गर्ने लघुवित्तको बारेमा निकै कमलाई मात्र जानकारी भएको पाइन्छ । थोक कर्जा प्रदान गर्ने लघुवित्तको काम के हो ? कसरी कार्य गर्दछ ? भनेर थोक कर्जा प्रदान गर्दै आएको साना किसान विकास लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालासँग कुराकानी गरेका छौं । प्रस्तुत छ कोइरालासँग बैंकिङ्ग समाचारका लागि रोजिना काप्रीले गरेको कुराकानीको सम्पादीत अंश :
थोक कर्जा दिने लघुवित्त संस्थाको बारेमा सर्वसाधरणले खासै बुझेको पाईँदैन, कसरी काम हुन्छ ?
नेपाल राष्ट्र बैंकले इजाजत दिएको मध्ये पनि एक थोक कर्जा प्रदायक र खुद्रा कर्जा प्रदायक भन्ने छ । खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरुले समूहमा ऋण लगानी गर्ने गर्दछन् । थोक कर्जा प्रदायकले समूह तथा व्यक्तिलाई नभई सहकारी र खुद्रा लगानी गर्ने लघुवित्त संस्थाहरुलाई ऋण दिने गर्दछ ।
क्षमता अभिवृद्धिका विषयमा के कस्ता कामहरु गर्दै आउनुभएको छ ?
क्षमता अभिवृद्धिमा हामीले धेरै कामहरु गर्दै आएका छौं । हामी कर्जा मात्रै दिएर गरिबी निवारण नहुने मान्यता राख्ने भएकाले आर्थिक र सामाजिक रुपान्तरणलाई नै मुख्य जोड दिन्छौं त्यसका लागी ऋणमात्रै दिएर हुँदैन । समाजको लक्षित वर्ग जस्तै महिला, तथा सामाजिक न्यायमा बाट बञ्चीत भएको वर्गलाई शसक्तिकरण गर्दे जाने कुरामा जोड दिन्छौं । हामीले यस्ता बर्गको क्षमता विकास नगरी, सीप नदिई, व्यवसायीक योजना बारेमा नबताई, वित्तीय साक्षरताको प्रयास नगरी पैसा मात्रै दिने काम गर्दैनउ । भविष्यको योजना सफल बनाउन ऋण लगानी गर्ने मान्यतालाई आत्मसाथ गछौं । हमीले हाल लघुवित्त संस्थालाई ऋण असुलीमा समस्या भयो भन्ने कुरा सुन्दै आएका छौं ।
तपाईँहरुले थोक कर्जा प्रदान गर्नुहुन्छ, तपाईँहरुले कर्जा दिएको संस्थाहरुबाट कर्जा असुलीमा समस्या छ की छैन ?
हामी थोक कर्जा प्रदायक लघुवित्त संस्था भएका नाताले खुद्रा कर्जा प्रदायकलाई कर्जा दिने हो । संस्थाले ब्यक्ती तथा समुहलाई ऋण दिएर प्रभावकारी रुपमा परिचालन गरेको छैन भने, उसले उत्पादन गरेको वस्तु बजारमा बिक्री भएको छैन भने अथवा उत्पादन गरेको वस्तुले उचित मूल्य पाएको छैन भने त ऋण तिर्न सक्दैन । त्यसपछि संस्थाले पनि हाम्रो कर्जा समयमा तिर्न सक्दैन । स्वभाविक रुपमा यसको असर त हामीलाई पनि पर्ने नै भयो । तर साना किसान विकास लघुवित्तको कुरा गर्ने हो भने हामीले जम्मा कर्जाको ५० प्रतिशत भन्दा बढि साना किसान सहकारीहरुलाई लगानी गरेका छौं । हामीले सीप सिकाएर र क्षमता विकास गरेर मात्रै ऋण लगानी गर्ने हुँदा असुलीमा प्रभाव परेको छैन ।
पहिले त थोक कर्जा प्रदायकलाई कर्जा पनि दिने र नियमन पनि गर्ने गरी स्थापना गरियो । अहिले त नेपाल राष्ट्र बैंकले नै सबैलाई नियमन गर्छ । अब थोक कर्जाको औचित्य कम भएको हो ?
राष्ट्रबैंक कै हैसियतमा नियमन त हामीले कहिलै पनि गरेनौं । कुनै समयमा केही (१०÷१२ वटा) सहकारीहरुलाई इजाजत दिएको थियो । नियमन पनि राष्ट्र बैंकले नै गर्ने गर्दथ्यो । केही वर्षको लागि हामीले रेगुलेट गर्ने भनेर निश्चित समय दिएको थियो । अहिले छैन । हाल हामीले नियमन गर्ने भनेर गर्दैनौं । राष्ट्र बैंकले पनि सहकारीलाई रेगुलेट गरेको छैन । हामीले संस्थाहरुलाई नियमनकारी निकाय भएको हिसाबले नियमन गर्दैनौं तर हामीले एक ऋणदाता भएर अनुगमन गर्छौं । हामीले गार्जियनसीपको रोल गछौं । तर हामीले उहाँहरुले गरेको काममा हस्तक्षेप गर्ने काम गर्दैनौं ।
पहिले त बैंकहरुले खासै कर्जाहरु दिदैन थिए ।
सो समयमा त तपाईँहरुले धेरै लगानी गर्नुभयो अहिले त बैकहरुले पनि दिन थाले अब तपाईंहरु पनि थोक कर्जा बितरण मै आउनुपर्ने हो की ?
त्यो त समयको आवश्यकता हो भोलि रिटेल (खुद्रा) मै पनि आउनुपर्ने हुनसक्छ। अहिले नै हामीले त्यसबारे सोचिसकेका छैनौं । वाणिज्य बैंकहरु र अन्य बैंकहरुले पनि साना सहकारीमा ऋण दिन थाले भनेर भोलिको बजार के होला, हामी कहाँ जाने होला भन्ने चिन्ता छैन । अहिले हेर्ने हो भने ठुला बैंकहरु जाने कहाँ भन्दा जहाँ धितोको ग्यारेन्टी हुन्छ, जहाँ राम्रो जग्गाको मूल्य हुन्छ त्यहाँ जाने हो । हामीले त ग्रामिण अर्थतन्त्रको संरचनात्मक रुपान्तरण गर्ने भन्ने लक्ष्य राखेका छौं । हामीले जहाँ कोहि पुग्दैन त्यहाँ हामी पुग्ने भनेका छौं । हामीले काम गरेको ठाउँमा वाणिज्य बैंकहरुले सेवा दिन सक्दैनन्।
त्यसो हो भने कुनैपनि सहकारी र संस्थाहरुलाई तपाईँसँग लोन लिँदा र कमर्सियल (वाणिज्य) बैंकबाट लोन लिदा के फाइदा छ त ?
हामीबाट ऋण लिँदा धेरै फाइदा हुन्छन् हाम्रो लक्ष्य र पद्धति नै फरक हो । कमर्सियल बैंकमा जाँदा पहिलो प्रश्न के हुन्छ भने तपाईको धितो छ ? छ भने कहाँ छ भन्ने कुरा आउँछ । तर हामी धितो छैन भने सदस्य बन्नुस, पढेलेखेको हुनुहुन्न भने सदस्य बन्नुस, सीप क्षमता छैन भने, व्यवसायीक योजना छैन भने सदस्य बन्नुस् भन्छौं । ऋण दिएर गरिबी निवारण हुन्छ भन्ने कुरामा हामी विस्वास गर्दैनौं । त्यसैले हाम्रोबाट ऋण लिनु र अन्य बैंकहरुबाट ऋण लिनु धेरै फरक छ ।
हाल कतिपय लघुवित्तकर्मीहरुबाट गरिबी कम हुँदै जाने हो भने लघुवित्तलाई ग्रामीण विकास बैंक तथा विकास बैंकको रूपमा अपग्रेड गर्नुपर्छ भन्ने कुरा आइरहेका छन् तपाईँलाई के लाग्छ ?
त्यो सोचलाई बेठिक भन्न सकिदैन तर लघुवित्त त सम्पन्न मुलुकमा पनि चाहिन्छ । लघुवित्त भनेको गरिबीका लागी मात्रै होइन । गरिब जुनसुकै ठाउँमा पनि हुन्छन् । नेपालमा लघुवित्त चाहिदैन भनेर हटाउने हो भने मान्छे ऋण लिन कहाँ जाने ? कमर्सियल बैंकले बझाङ, बाजुराका गरिबलाई ऋण दिदैन । त्यसैले लघुवित्त चाहिदैन भन्नुभन्दा लघुवित्तको सेवालाई अझ प्रभावकारी बनाउँनुपर्दछ । अहिले त लघुवित्तको आवश्यकता धेरै महसुश छ । त्यसकारण म अब लघुवित्त चाहिदैन भन्ने कुरामा सहमत हुन सक्दिन ।
माइक्रो फाइनान्स कम्पनीहरूले सर्वसाधारणलाई छुट्याइएको सेयर मध्ये ४० प्रतिशत सेयर आफ्ना कर्जा ग्राहकलाई छुट्याउनु पर्ने भनेर संसदमा पुगेको बाफियामा उल्लेख छ यसमा तपाईँको धारणा के छ ?
अहिले भर्खरै त संसदमा पुगेको छ । त्यहाँ त राजनीतिमा खारिएका व्यक्तिहरु हुनुहुन्छ । हामीले छानेका जनप्रतिनीधिहरु हुनुहुन्छ उहाँहरुको बहस नै नभई त्यसमा मैले आफ्नो धारणा राख्नु हुँदैन । यो हुनसक्यो भने स्वामित्व बोध हुन्छ । शेयरधनीले संस्था मेरो हो म मालिक हुँ भन्ने भएपछि संस्था बलियो हुनुका साथै संस्थाको विकासमा राम्रो टेवा पुग्छ ।
प्रतिक्रिया