जनावरको मायाबाट सुरु भएको ‘भेगन डेरी’ 

जनावरको मायाबाट सुरु भएको ‘भेगन डेरी’ 


काठमाडौं – युवा उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसाय प्रवर्द्धनका लागि पछिल्लो समय राज्यले प्रोत्साहनमुखी नीति ल्याइरहेको छ । केही समय यता नयाँ उधमीहरुको संख्या बढ्दो छ । कुनै पनि व्यवसाय गर्नुअघि सपना, लगन पहिलो आधार हो। उद्यमको विकास र विस्तारका लागि मानिसमा नयाँ-नयाँ किसिमका व्यावसायिक सोचको विकास हुनु र त्यस्ता सोचले प्रोत्साहन पाउनु जरुरी हुन्छ। बैंकिङ्ग समाचारले विभिन्न नयाँ सोच तथा सिर्जनात्मक व्यवसायको स्वदेशमै सम्भावना देखेर गरिएको नयाँ सुरुवात, साथै विदेशबाट फर्किएर मुलुकलाई आर्थिक रुपमा टेवा पुर्याउने प्रयत्न गरिरहेका उद्दमीहरुको कथालाई प्रस्तुत गर्दै आएको छ। यस्तै आफ्नै योजना र केही गरौँ भन्ने भावना बोकी अघि बढेकी महिला मध्येकी एक हुन्, काजल सेठिया । सिङ्गपुरमा इन्जिनियरिङ गरेकी उनले आफुमा नेपालमा केही गर्छु भन्ने भावना सुरुवात देखि नै रहेको बताँउछिन्। प्राकृतिक सौन्दर्य तथा नयाँ-नयाँ कुराहरूको अनुभव गर्न मन पराउने काजल अझ जनावर भने पछि हुरुक्कै हुन्छिन्। काजल एक जनावर प्रेमी हुन्।  उनी भन्छिन्,‘जनावर कै लागि केही गर्न चाहन्थे । जनावरको माया र उनीहरुलाइ दुख दिन नपाए हुन्थ्यो भन्ने सोचेर नै म भेगन भएको हो ’त्यहि मायाबाट सुरु भयो ‘भेगन डेरी नेपाल ’

यसरी सुरुवात भयो व्यवसायिक यात्रा

भेगन डेरी नेपाल सुरुवात भएको छ वर्ष भैसकेको छ। काजल सिङ्गपुरमा इन्जिनियरङ गर्दै गर्दा दुई महिनाको लागि नेपाल छुट्टिमा आएको थिइन् । छुट्टिमा आफू जस्तै जनावर प्रेमी र भेगन भेटर उनी दङ्ग भइन्। ‘म भिगन भए देखि नेपालमा कोही पनि त्यस्तो भेटेकी थिइन ।’ आफू जस्तै जनावर प्रेमी र भेगन साथीहरू भेटिदा उनी साह्रै खुशी भएकी थिइन् । उनको लागि आमाले भिगन खानेकुरा बनाउँथिन् अनि अरुलाई  पनि चखाउन उनले घरमै बोलाउँथिन् । सबैले मन पराए । सबैले खानेकुरा बेच्न आग्रह गरे सबैले राम्रो प्रतिक्रिया पनि दिन थाले । उनी भन्छिन्, ‘मैले यो क्षेत्रमा ठूलो सम्भावना देखेँ । आमाको लागि पनि व्यवसाय हुने र नेपालमा भेगन हुन खोज्नेहरूका लागि खाना उपलब्ध हुने सोचेर सुरु गरे भेगन डेरी । ’भिगन जीवनशैलीका लागि गरिने उत्पादन जनावरलाई दु:ख नदिई बनाइएको सामानहरु हो। हामीले जनावरबाट केही पनि लिदैनौ लेदर, दूध, मासु, लुगा केही पनि प्रयोग नभएको वस्तु नै भेगन हो।’ उनले थपिन्, ‘भिगन बन्नुको आफ्नो-आफ्नो कारण हुन्छ । कोही स्वास्थ्यको लागि बन्न रुचाँछन्, कोही जनावर प्रेमी भएर बन्न चाहन्छन् । वास्तवमा अहिले नेपालमा पनि भिगनहरुको संख्या बढेको छ । भेगन डेरीमा जनावरबाट केही पनि नलिकन बनेको दुध, ध्यू , पनिर, बटर र अन्य सामान उपलब्ध छन् ।’ 

‘सफलताको पहिलो सिढी परिवारको साथ’ 

महिला भएकै कारणले आफुले कहिले पनि कुनै चुनौती भोग्नु नपरेको  काजलको बुझाइ छ । परिवारबाट साथ भयो भने सबै कुरा सम्भव छ । ‘सफलताको पहिलो सिढी नै परिवारको साथ  हो । मैले गर्न चाहेको सबै काममा परिवारबाट पाएको साथको कारण सबै मलाई सबै कुरा सजिलो भयो । यस्ता थुप्रै महिलाहरु छन् जो आफ्नो केही गर्न खोजिरहेका छन् तर परिवारको साथ र सहयोग नपाएर पछाडि परिरहेका हुन्छन्’, उनले भनिन् । समाजमा  महिला भनेको विवाह गरेर घर समाल्नु पर्छ भन्ने बुझाइका बारेमा सेठि भन्छिन्,‘महिला सर्वगुण सम्पन्न भएका हुन्छन् । उनीहरुले आफ्नो व्यवसाय र घर बराबर हिसाबले चलाउन सक्छन् । सबैले महिलाहरूप्रतिको आफनो बुझाइलाई परिवर्तन गर्ने हो भने महिलाहरुले नै केही समय पश्चात नेपाललाई माथिल्लो तहमा पुराउने कुरामा म विश्वस्त छु ।’ 

नेपालमा कोसिस गर्ने भन्दा भिसाको पर्खाइ

पछिल्लो समय नेपालमा नयाँ आइडिया सिर्जना गर्नेको जमात बढे पनि वैदेशिक रोजगारको लागि भिसा कुर्नेको संख्या भने कम भएको छैन । यसै सन्दर्भमा सेठीले घरबाट अफिस आउने क्रममा पठाओको भाइसँग  कुराकानी गर्दै आउने क्रममा सुनिन्, ‘म भिसाको लागि कुरिरहेको छु । भिसा आउने बितिक्कै बस्दिनँ म नेपालमा ।’ यो भनाइले काजलको मनमा चिसो पस्यो र फेरी सोधिन्, ‘अनि त्यहाँ गएर सीप, पैसा कमाएर नेपाल फर्किनुहुन्छ ?’ जवाफ  यस्तो आयो, ‘हेरौ के हुन्छ तर पुगिसके पछि को फर्किन्छ र, म त जान मात्र पाउँ नेपाल आउदिन ।’ यस्तो प्रसङ्ग सुनाउदै काजल भन्छिन्, ‘नेपालमा त्यहि मेहेनतमा २० हजार कमाइन्छ भने त्यही मेहेनतमा बाहिर १ लाख कमाउन सकिन्छ भन्ने सोचले र नेपालमा मेहनतको  कदर नभएर पनि सबै युवाहरु बाहिरिहेका हुन् ।’ यस्तो अवस्थामा युवाहरुले पनि नेपालको भविष्य हामी नै हो भन्ने मनन गर्नु पर्ने काजलको धारणा छ । काजल आफू पनि पढाइ सकेर नेपालमा सम्भावना देखेर फर्केको र अरुलाई पनि त्यस्तै गर्न जरुरी रहेको मान्छिन् । उनी भन्छिन्, ‘नेपालमा धेरै सम्भावना छ जुन अझै औँल्याउन बाँकी छ ।’ म मेरो कर्मचारीहरूलाई पनि भोलिको नयाँ उद्यमी बन्न  प्रोत्साहन गरिरहेको हुन्छु ।’

केही गर्छु भन्ने जोस व्यवसायको पहिलो आधार 

कुनै पनि काम गर्नु पूर्व हरेक व्यक्तिमा आत्मविश्वास र केही गर्ने लगन अत्यन्तै आवश्यक हुन्छ । उनी भन्छिन्, ‘कुनै पनि व्यवसाय गर्दा हरेक दिन लाग्छ म सक्दिन, गर्दिन त्यही सोचलाई रोकेर होइन सकिन्छ भन्दै कसरी त्यसलाई सम्हाल्न सकिन्छ भन्ने हौसलाले काम गर्नु नै एक सफल उद्यमीको माइन्डसेट हो ।’ कुनै पनि चुनौतीलाई सकारात्मक तरिकाले लिएर अघि बढियो भने सफल पक्कै भइन्छ त्यही सोचले नै असम्भवलाई सम्भव बनाउन सकिन्छ।