बैंकर र व्यवसायी छुट्याउने ऐनले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश जान्छ : पूर्व गभर्नर नेपाल

बैंकर र व्यवसायी छुट्याउने ऐनले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश जान्छ : पूर्व गभर्नर नेपाल


काठमाडौं- गत हप्ता संसदमा पेश भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा प्रस्तुत भएपछि यस सम्बन्धमा विभिन्न वित्तीय क्षेत्रका व्यक्तिहरु मार्फत विभिन्न धारणाहरु बाहिरिरहेका छन् । प्रस्तुत विधेयकका केही बुँदाहरुमा कतिपय बैंकरहरुले असन्तुष्टि जनाइरहेका छन् भने केही बुँदाहरु पेचिलो समेत बनेको छ । बाफियाको संशाेधन विधेयकमा उल्लेखित बुँदाहरुले नेपालको बैंकिङ्ग क्षेत्रमा बैंकर र व्यवसायी छुट्याउने बहसको सुरुवात भएको छ।

मुल ऐन दफा ५२ को संशोधनको प्रस्तावमा बैंक वा वित्तीय संस्थाले आफूसँग सम्बद्ध व्यक्ति वा कुनै बैंकमा उल्लेख्य स्वामित्व भएका व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न पाउने छैन भनी उल्लेख छ । ऐनको दफा १८ को उपदफा १ मा नयाँ खण्ड थप गर्दै व्यवसायीलाई आफूले ऋण लिएको बैंकको आफै सञ्चालक बन्न नदिने व्यवस्था गरिएको छ । अहिले निकै चर्चामा रहेको यस बुँदा प्रति बैंकर र व्यवसायी असन्तुष्ट देखिन्छन् ।

पूर्व गभर्नर चिरन्जीवी नेपालका अनुसार नेपालमा व्यवसायीहरुले नै बैंक खोल्दै आएको हुँदा बैंकर र व्यावसायी छुट्याउन धेरै गाह्रो रहेको छ । उनले यो निकै जटिल विषय भएको बताए । ‘जुन मुलुकमा व्यवसाय राम्रो हुन सकेको छैन त्यसमा पनि व्यवसायमा लागेर बैंक खोलेकालाई कसरी यो नगर भनेर प्रतिबन्ध लगाउन सक्छन् ?’ उनले भने । ‘यो निकै जटिल विषय हो ।’ उनले हालको यो ऐनले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश जाने बताए । उनले गलत समयमा बाफिया संशोधनको विधेयक आएको टिप्पणी समेत गरे ।

नबिल बैंकका नायव कार्यकारी अधिकृत मनोज ज्ञवाली भन्छन्, ‘यो संसोधन को प्रस्ताव बैंक तथा वित्तीय संस्थाका उल्लेख्य शेयरधनी र व्यापारी, व्यावसायिलाई छुट्याउने सम्बन्धमा चलिरहेका चर्चाहरुलाई क़ानूनी रुप दिन ल्याएको देखिन्छ ।’

ज्ञवालीले यो ऐन तत्काल लागू भए बैंकमा उल्लेख्य स्वामित्व भएका व्यवसायीहरुले कर्जा तिर्न पर्ने हुन्छ र यसले कानुनी जटिलताका साथै अर्थतन्त्रमा थप समस्या निम्तिने बताएका छन् । उनले भनेका छन्, ‘यो विधेयकको संशाेधन नभई पारित भएमा कानून भएर आउने प्रक्रियामा जानेछ र यसले तत्कालै अनुपालनमा चुनौती सृजना हुने देखिन्छ । न त व्यवसायीहरु तत्कालै कर्जा चुक्ता गर्न सक्ने अवस्थामा हुनेछन् न त शेयर खरिदकर्ता भेट्ने अवस्थामा रहनेछन् कि जस्तो आभास हुन्छ ।’

नेपालको बैंकिङ्ग क्षेत्रको महत्वपूर्ण परिवर्तनको प्रस्थान बिन्दु बैंकर र व्यवसायी छुट्याउने हो ।