ग्लोबल मनी विक: वित्तीय ठगीबाट आफ्नो पैसालाई  कसरी सुरक्षित राख्न सकिन्छ ?

ग्लोबल मनी विक: वित्तीय ठगीबाट आफ्नो पैसालाई  कसरी सुरक्षित राख्न सकिन्छ ?


आउनुहोस्  वित्तीय जोखिमबाट बच्न जान्नै पर्ने प्रचलित ५ ठगीका तरिकाको बारेमा भिडियो र यो लेखमार्फत चर्चा गरौँ।

 १ .लट्री स्क्याम

तपाईँको मनमा लालच देखाउँदै लोभको फन्दामा पार्न अपरिचित व्यक्तिहरूले गहना, उपहार वा ठुलो धन राशिको चिट्ठा परेको भन्दै फोन म्यासेज गर्ने गर्दछन् । यसलाई ‘लट्री स्क्याम्’ भनिन्छ ।यसका लागि ठगीमा संलग्न व्यक्तिले अनेक प्रलोभन मार्फत  तपाईँलाई विश्वासमा लिएर उक्त चिट्ठाको धन राशि प्राप्त गर्न प्रेरित गर्दछन् र उक्त चिट्ठा बापत प्राप्त हुने रकम भन्दा न्यून  केही रकम कर चुक्ता गर्न पठाउनु पर्ने सर्त रहेको उल्लेख गर्दै उक्त रकम पठाउन अनुरोध गर्दछन्।  जब तपाईँ ठुलो धन राशि प्राप्त गर्ने लोभले रकम पठाउनु हुन्छ ठगी गर्ने गिरोह उक्त रकम असुल गरी सम्पर्क विहीन हुने वा अन्य बहाना बनाउँदै थप रकमको माग गर्न थाल्दछ त्यसकारण यस्ता लोभ र लालचको  पासोबाट सावधान रहनुहोस् ।

२ . रोमान्स स्क्याम

यस्तो ठगीमा संलग्न गिरोहको सदस्यले भावनात्मक रूपमा तपाइसँग नजिकिएर तपाइको माया र विश्वास आर्जन गर्दछन्। जब तपाईँ सम्पूर्ण रूपमा यस्ता मानिसहरूसँग माया वा विश्वासमा परेको सुनिश्चित हुन्छ तब तिनीहरूले यस लाई दुरुपयोग गरी गर्ने  सम्पत्तिको ठगी  हो ‘रोमान्स स्क्याम’ । विश्वमा कुल १.५ बिलियन डलर बराबर को सम्पत्ति घुमाउँदै ९८ हजार मानिस गत वर्ष रोमान्स स्क्यामको सिकार भएका छन् । तपाईँसँग  पनि कोही  अपरिचित व्यक्ति डेटिङ एप्स, फेसबुक, टिकटक भाइबर जस्ता प्लेटफर्ममा माया प्रेम र सुन्दर भविष्यको लालच देखाएर नजिक भएका त छैनन्  ? यसमा सचेत रहनुहोस् ।

३ . फ्री वाईफाई

हामी फ्री वाईफाई भेट्ने बित्तिकै त्यहाँ मागिने लगइन पासवर्ड हालेर दङ्ग पर्दै इन्टरनेट चलाउन थाल्छौ । तपाइको पासवर्ड लगायतका गोप्य सूचना हात पार्न फ्री वाइफाइ सक्रिय भइराखेको हुन्छ। हामी  थोरै डाटा बचाउने को लागी लोभका कारण  ठुलो गल्ती गर्दै आफूलाई असुरक्षित बनाइराखेका हुन्छौ । फ्री वाईफाई सधैँ फ्री नहुन सक्छ । त्यसैले आधिकारिक वाईफाई नेटवर्कहरूबाट मात्र इन्टरनेट सेवा प्रयोग गर्ने गर्नुपर्दछ। 

४ . सामाजिक सञ्जालको प्रयोग 

सामाजिक सञ्जालमा आफ्नो र आफ्नो पारिवारिक गतिविधि यथेष्ट जानकारी उपलब्ध गराउँदा पनि चोरी ठगी हुने गर्छ । चोरी र ठगी गर्नेहरूले सामाजिक सञ्जालबाट तपाईँको बारेमा सम्पूर्ण जानकारी प्राप्त  गरी योजना बनाउने गरेका उदाहरणहरू हामीसँग प्रशस्तै छन्  । त्यसैले अनावश्यक तक भडक नगरी आफ्नो पर्सनल र पारिवारिक दैनिकीलाई सकेसम्म  गोप्य राख्ने गर्नुहोस् ।

५ . अधिक मुनाफाको प्रलोभन

अधिक फाइदा हुने लगानी योजना, नेटवर्किङ, उच्च ब्याजदार दिने सापटी योजनाहरू कसैले सुनाउँदा हामी भित्र छिट्टै धनी हुने लालच उत्पन्न हुन्छ । यही तपाईँ भित्र भएको लोभ र लालचको फाइदा उठाउँदै तपाईँसँग भएको पैसा र सम्पत्ति माथि कसैले आखाँ लगाइरहेको हुन्छ । त्यसैले यस्ता अपत्यारिला र छिट्टै नाफा कमाउने सकिने योजना प्रति सजग रहनुहोस् ।