यूनियन लाइफको आइपिओ बाँडफाँट, १६ लाखले शेयर पाएनन्, ७० हजार रद्द

यूनियन लाइफको आइपिओ बाँडफाँट, १६ लाखले शेयर पाएनन्, ७० हजार रद्द

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान प्रि अलटमेण्ट गरी बोर्डमा प्रतिवेदन बुझाएको थियो। साथै आजै शेयर बाँडफाँटको अनुमति माग गरेकोमा बोर्डको स्वीकृति पाए लगत्तै क्यापिटलले शेयर बाँडफाँट गरेको हो ।

आइपिओमा कुल २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए। तीमध्ये ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारण रद्द भएको छ भने ६५ हजार १७५ जनाको बैंकिङ विवरण नमिल्दा रद्द भएको छ। यसरी कुल ६९ हजार ९७६ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

२१ लाख १२ हजार ७९९ आवेदक बाँडफाँटका लागि योग्य भएकोमा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ताका दरले आइपिओ पाएका छन्। यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।

इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । असार २४ देखि २८ गतेसम्म कम्पनीको आइपिओका लागि आवेदन खुलेको थियो।

क्यापिटलका अनुसार रिजल्ट्स डट प्रभु क्यापिटल डटकममा तथ्यांक प्रशोधनको काम सकिए पछि नतिजा अपलोड गरिनेछ । नतिजा अपलोड नहुञ्जेल उल्लेखित डोमेनमा सर्भिस 'टेम्पोरर्ली अनअभाइलेभल' देखाउनेछ। नतिजा अपलोड भए पछि आफूलाई शेयर परे नपरेको हेर्न सकिने क्यापिटलले जनाएको छ । यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु, ज्योति र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।

आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्। संचालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४६ पैसा छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा छ। कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेपछि भने प्रतिसेयर आम्दानी घट्नेछ। यसमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ।

शुलभ अग्रवाल, शेखर गोल्छा, शाहिलकुमार अग्रवाल, संदिपकुमार अग्रवाल लगायत संस्थापक छन्।