शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा, चालु खाता घाटा बढेर ३ खर्ब नजिक पुग्यो

शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा, चालु खाता घाटा बढेर ३ खर्ब नजिक पुग्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
चालु आर्थिक वर्षको ११ महिना अवधिमा मुलुकको शोधनान्तर अवस्था घाटामा पुगेको छ । देश भित्रिनेभन्दा बाहिरिने रकम बढ्दै गएपछि २०७८ जेठ मसान्तसम्ममा घाटा १५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । गत आवको सोही अवधिमा शोधनान्तर घाटा १ खर्ब ६४ अर्ब २२ करोड रुपैयाँले बढेको हो ।

अमेरिकी डलरमा २०७७ जेठ मसान्तमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा पुगेको छ ।

मुलुकको अन्तर्राष्ट्रिय कारोबारमा देखिएको यस्तो घाटाले अर्थतन्त्रमा जोखिम ल्याउने संकेत गर्छ । घाटा बढ्दै गए विदेशी मुद्राको सञ्चिति सकिएर मुलुक टाट पल्टिने अवस्थामा पुग्न सक्छ ।

मुलुकको अर्थतन्त्र धान्ने मुख्य स्रोत रेमिटयान्समा वृद्धिदर भएपनि निर्यात, पर्यटन लगायत बाहय क्षेत्रमा अपेक्षित सुधार हुन नसेकेको र आयात उच्च दरले बढेपछि शोधनान्तर घाटा पनि बढ्दै गएको हो ।

शोधनान्तर घाटामा रहँदा खासगरी, विदेशी लगानी निरुत्साहित हुन्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ ।

चालु खाता घाटा ३ खर्ब नजिक

नेपाल राष्ट्र बैंकले बिहीबार सावर्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु खाता घाटा बढेर ३ खर्ब नजिक पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६२ अर्ब ५९ करोडले घाटामा रहेकोमा २०७८ जेठ मसान्तसम्ममा चालु खाता घाटा २ खर्ब ९३ अर्ब ९७ करोड पुगेको हो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९३ करोड १५ लाख रुपैयाँले बढेर २ अर्ब ५१ करोड डलर घाटामा छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई १४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई १६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चिति घट्यो, दश महिनाको वस्तु तथा सेवाको आयात धान्ने

२०७७ असार मसान्तमा १४ खर्ब ०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा १३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ जेठ मसान्तमा २.३ प्रतिशतले कमी आई ११ खर्ब ९७ अर्ब ६५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ४.४ प्रतिशतले कमी आई १ खर्ब ६८ अर्ब कायम भएको छ । २०७८ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.० प्रतिशत, ७६.६ प्रतिशत र २७.८ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।