काठमाडौं– राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् । बिहीबरको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताए ।
उनले अर्थतन्त्रको समस्या गम्भीर चुनौतिको रुपमा रहेको जिकिर गरे । अहिलेको सरकार अर्थतन्त्रका समस्या समाधानका लागि सफल हुनुपर्ने बताउँदै उनले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा प्रश्नहरु उठिरहेको औंल्याए । उनले अहिलेको समीकरण फेरि परिवर्तन नहुने गरी अघि बढ्नुपर्ने बताए ।
उनले भने ‘आज मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा छ । अस्तिको दिनसम्म म आफैँ सरकारमा थिएँ । प्रधानमन्त्रीसँग पटकपटक छलफल गरेका छौँ । अर्थतन्त्रका केही केही सूचकांकहरु खासगरी वाह्य सूचकांकहरुमा सुधार देखिएको छ । तर पनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्याहरु छन् । एउटा गम्भीर चुनौतिको रुपमा यतिबेला हाम्रो अर्थतन्त्र संकटमा छ । यसलाई समाधान गर्नका निम्ति यो सरकार सफल बनोस् ।’ उनले बेरोजगारी, शिक्षा र स्वास्थ्यको समस्या देशमा धेरै नै रहेको बताए । (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया