नेपालमा लघु बीमा कार्यक्रम अघि बढेको एक दशक पुगिसकेको छ । बि. स. २०७१ मा तत्कालिन बीमा समितिले लघुबीमा निर्देशिका जारी गरी कम्पनीहरुलाई लघु बीमा ‘बिमालेख बिक्री गर्न निर्देशन दिएको थियो । लघु बीमा गर्दा आफ्नो महँगो प्रशासनिक खर्चका कारण लागत बढ्ने तर त्यसको प्रतिफल कमहुने भएपछि ठूला बीमा कम्पनीहरु त्यसतर्फ आकर्षित नहुदा , लघु बीमा कम्पनी नै खडा गरेर लघु बीमा कार्यक्रम अघि सारिएको हो । हाल लघु बीमा कम्पनीहरुले बीमाको पहुँच बढाउन आक्रामक रुपमा काम गरिरहेको देख्न सकिन्छ । पछिल्लो समय बीमाको पहुँच बढाउन लघु बीमा कम्पनीहरुले कसरी काम गरिरहेको छन्,यसै विषयमा बैकिङ्ग समाचारको तर्फबाट नमुना के.सीले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ सँग गरेको कुराकानीको सम्पादित अशं
जीवन बीमाको पहुँच बढाउन लघु जीवन बीमा कम्पनीको योगदान कस्तो हुन्छ ?
पुष मसान्तको तथ्याकं हेर्दा जीवन बीमाको दायरा ४३ प्रतिशत रहेको छ । बीमाको पहुँच बढाउन लघुबीमाको एकदमै महत्वपूर्ण भूमिका रहेको हुन्छ । ट्रेडिसनल बीमा कम्पनीहरुको पोलिसी संख्या एकदमै कम र प्रिमियम धेरै हुन्छ । लघुबीमा भन्ने बितिक्कै पोलिसी सख्या धेरै हुन्छ । प्रिमियम दर पनि कम हुने हुदाँ बीमाको दायरा बढाउन यसले सहयोग पुग्छ ।
ट्रेडिस्नल बीमा कम्पनीले धेरै रकमको बीमा गर्दै आएकोमा लघुबीमा कम्पनीले अधिकतम पाँच लाख रुपैयाँसम्मको मात्रै बीमा गर्न पाउने व्यवस्था छ, यसले केही फरक पर्दैन ?
अधिकतम पाँच लाख रुपैया भनिएको छ तर प्रति पोलिसी भनेको हो वा प्रति जीवन बीमाको पाँचलाख भनेको हो भन्ने कुरामा कोहीपनि प्रष्ट छैनन् । प्रति जीवन बीमा हो भने फरक पर्छ तर यसमा प्रति पोलिसीमा हो भने फरक पर्दैन । किनभने पोलिसी त फरक फरक पनि लिन सकिन्छ । एउटा तरिकाले सोच्ने हो भने नेपालको गरिबहरू सँधै गरिब त रहदैनन् । एक चोटिमा पाँच लाखको बीमा गरियो भने अर्को वर्ष पुन पाँच लाखको बीमा गर्न सकिन्छ । लघुबीमा भनेकै बिपन्न वर्गको लागि गरिने हो, अन्तराष्ट्रिय अभ्यासअनुसार पनि रकमको निश्चित सीमा तोक्ने अभ्यास रहेको पाहिन्छ । पाँच लाखलाई बढाउने भन्दा पनि अहिले राष्ट्र बैंकले लघु वित्तीय संस्थाहरूलाई बीमित राशि सात लाखसम्म गर्न सकिने भनेको छ हामीले पनि त्यति नै गर्न मिल्छ र त्यसमा हामीलाई पनि कुनै बन्देज लगाएको अवस्था छैन ।
बीमाको विषय थाहा नभएको ग्रामीण भेगको जनताहरुको लागि लघुबीमा भनिन्छ, ग्रामिण भेगमा पोलिसी वेच्न कतिको कठिन छ ?
लाइफ इन्स्योरेन्स भनेको यस्तो प्रोडक्ट हो जुन देखाएर होइन बुझाएर विश्वास दिलाएर गरिने बीमा हो । ठुलो बीमा कम्पनीको सांगठनिक ढाचा हेर्ने हो भने लघु बीमा बेच्नको लागि नै बनाइएको जस्तो छ तर गाउँ घरमा ठूला बीमा कम्पनीहरु नपुगेको ठाउँमा लघुबीमा पुगेको छ , त्यस्तो ठाउँमा गएर पोलिसी बेच्न सजिलो त छैन तर त्यति कठिन पनि छैन । हाम्रो कारोबार शुरुवात भएको चार महिनामा हामीले १४ हजार पोलिसी बेचिसकेका छौ ।
लघुबीमा कार्यक्रमको अवधारणा ल्याउन ढिलाइ किन भयो ?
नेपालमा बीमाको शुरुवात भए पनि यसको बजार व्यवस्थित भएको थिएन । अहिले नेपाल बीमा प्राधीकरणको भूमिकामा बीमा क्षेत्रले परिवर्तन ल्याइएको छ । ठूला कम्पनीले ठुलै कारोवार, सानो कम्पनीले सानो कारोबारबाट पनि बीमाको पहुँच बढाउने प्रयत्नमा छ । नेपालमा बीमा बजार सुरु भए पनि व्यवस्थित थिएन, नियामकिया भूमिकाको सुरुवात संगै यो व्यवस्थित हुदै गईरहेको छ। बीमा बजार ठुलो छ त्यसैले समग्र बीमा बजार समेट्न ठुलो बीमा कम्पनिहरुले ठुलो रकम बीमा समेट्ने र हामीहरुले लघु बीमालै समेट्ने हो भने नेपालमा इन्स्योरेन्सको कभरेज पनि बढ्दै जान्छ।
लघु जीवन कम्पनीलाई प्रोडक्ट पाउनै मुस्किल भएको थियो नि ? शुरुमा प्राधिकरणले प्रोडक्ट दिन गाह्रो भएको हो ?
प्राधिकरणले प्रोडक्ट दिन नमानेको होइन । लघुबीमा नयाँ अवधारणा भएको कारण अलिकति ढिलाई भएको मात्र हो । सुरुवातमा जति पनि लघुबीमाको नेतृत्व गर्दै थिए सबै ट्रेडिस्नल बीमा कम्पनीवाट आएका हुन् । हामी सबै भागीदारी मुलक व्यवसाय बाट आएका हौ तर लघुबीमा गैर-भागीदारीमुलक व्यवसाय भएको हुनाले हामी लघुबीमा कम्पनीले सोचेको र प्राधिकरणले दिन खोजेको पोलिसी नमिलेको हो । तर अहिले अवस्था त्यस्तो छैन सबै समाधान भैसकेको छ । अहिले हामी सगँ दुई वटा प्रोडक्ट छ र अर्को प्रोडक्ट पनि ल्याउने तयारीमा छौ ।
बीमाको दायरा बढाउन एजेन्टको मुख्य भूमिका हुन्छ, के लघुबीमा कम्पनीले अन्य बीमा कम्पनी जसरी एजेन्टलाई कमिसन दिन सक्छ ?
यो बीमा प्राधिकरणको निर्देशनमा समावेश छ । भागीदारी मुलक बीमामा कति कमिसन दिने गैर-भागीदारीमुलकमा कति दिने प्राधीकरणले स्पष्ट व्यबस्था गरेको छ, एउटा दुईटा सर्तहरु फरक छन् बाकि सबै व्यबस्था उस्तै छन् । हामीले नेपाल बीमा प्राधीकरणको निर्देशनलाई पालना गर्ने हो । निर्देशनमा एजेन्टको कमिसनको कति हुने खुलाएर नै तोकिएको छ ।
बीमाको क्षेत्र पूर्ण रुपमा डिजिटल कारोबारमा लाग्ने प्राधिकरणको लक्ष्य छ, यसले ग्रामीण भेगमा बीमाको पहुँच बढाउँन कठिन छैन् ?
यस्तो प्रविधिले झनै सहज हुन्छ । हाम्रो हेड अफिस सुर्खेत हो, त्यहाँ ग्रामीण भेगमा हामीले एजेन्टलाई ल्यापटप दिएर बीमा गर्न प्रोत्साहन गरिरहेको छौ । अनलाइन बाट प्रोपोजल फर्म भर्ने, केवाईसी फर्म भर्ने काम हुन्छ त्यसपछि ग्राहकले अनलाइनवाट पेमेन्ट गर्न सक्छन् । नेपालको सन्दर्भमा सामाजिक संजाल प्रयोगमा आएको वृद्धिले डिजिटल प्रविधिमा पहुँच नपुग्नेको सख्या धेरै कम छ । हामिले सबैलाई डिजिटल कारोबारमा समेट्ने हाम्रो लक्ष्य हो र हाम्रा धेरै पोलिसीहरु गाउँ गाउँ बाट डिजिटल्ली बिक्रि भईरहेका छन्
गरिबी उत्थानमा लघु बीमाको भूमिका कस्तो हुन्छ ?
परिवारको सदस्यको मृत्युहुँदा र अन्य आकस्मिक जोखिमका कारण आईपर्ने खर्चबाट सुरक्षित राख्दै लघुबीमाले गरिव वर्गलाई झन गरीब हुन बाट जोगाउँछ । जस्तो शहरको परिवेशमा पाँच लाख सामान्य हो तर ग्रामीण भेगको लागि ठुलो रकम हो र यसले भविष्यमा आइपर्ने जोखिमको लागि बिपन्न बर्गलाई लघुबीमाले एकदम सहयोग पुग्दछ । सिमान्तकृत तथा ठुला बीमा कम्पनीहरुले नसमेटिएका बर्गलाई लघुबीमाले समेटेको छ।
लघुबीमाको विषयमा सचेतना बढाउन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आगामी दिनको लागि योजना कस्तो छ ?
हामीले केन्द्रमा अनलाइन पोर्टलबाट विज्ञापन दिइरहेका छौ । कर्णाली प्रदेशलाई केन्द्रित गरेर प्रत्येक गाउँमा लघुबीमाको विषयमा सचेतना बढाउन गीतहरु बजाइरहेका छौ । प्रत्येक गाँउबाट एजेन्ट छानेर लघुबीमाको तालिम दिइरहेका छौ ।
विगतमा ठूला कम्पनीमा ठुलो ठुलो कारोबारलाई सम्हालेर काम गर्नुभएको छ, अहिले लघुबीमा जस्तो सानो कारोबारको पाटोलाई कसरी लिनु भएको छ ?
जुनसुकै कम्पनीहरुको शुरुवाती चरणमा कारोबार सानो नै हुन्छ । आजको मिति सम्म हामीले यो आर्थिक वर्षमा साढे तीन करोड बराबरको कारोबार गरिसकेको छौ । पुरानो कम्पनीहरुले पनि एक दुई करोडको रकम बराबर नै कारोबार गरेको देखिन्छ । लघुबीमा कम्पनीको व्यवसायको आधारमा वर्षको पचास करोड पुराउने लक्ष्य छ । त्यसैले सानो कम्पनीहरू र ठुला कम्पनीमा फरक छैन । ठुलो बीमा कम्पनीहरुलाई पनि आफ्नो कुल बीमा व्यवसायको १० प्रतिशत हिस्स लघु बिमाको हुनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया