दुई लाख गृहिणीहरूलाई  स्वरोजगार बनाउने लक्ष्य: देसना 

दुई लाख गृहिणीहरूलाई  स्वरोजगार बनाउने लक्ष्य: देसना 


पछिल्लो समय आफ्नै थोरै पुँजी, सीप र व्यवस्थापनमा उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर हुनेहरूको जमात बढ्दो छ । आफ्नो अठोट र उद्यमशीलतामा विश्वास गर्दै बजारको आवश्यकतालाई सुक्ष्म रूपमा बुझ्न सके नेपालमै सम्भव छ भनेर कोसिस गर्नेको सख्या पनि निकै बढेको छ । यही कुरालाई मनन गर्दै सरकारले पनि स्टार्टअपको विषयलाई थप चासोका साथ  हेर्न थालेको छ । यसले स्वदेशमै सम्भव छ भनेर कोसिस गरिरहेका नयाँ उद्ममीहरुको लागि थप उत्प्रेरणा र आशा जगाएको छ । 

बढ्दो शिक्षाको पहुँच, सूचना र प्रविधिको विकासले नेपाली महिलाहरूमा पनि स्वदेशमै उद्ममी बनी केही गर्ने रूचि बढ्दो छ । तथ्यांक विभागका अनुसार कुल  ९ लाख २२ हजार ३ सय ५६ व्यवसाय मध्ये २९ प्रतिशत व्यवसाय महिलाहरूद्वारा सञ्चालित छन् । यस्तै उद्ममशीलतामा अग्रसर भएर आफ्नो व्यवसायलाई निरन्तरता  दिनहेरू मध्येकी एक उदाहरण हुन मोनिका श्रेष्ठ । मास्टर्स अफ बिजनेस एड्मिनिस्टे्रसनमा एमबिए सकेकी मोनिका कलेज पढ्दै गर्दा देखि नै  नेपालमै आफ्नै केही गनुपर्छ भन्ने कुरामा अडिग थिइन्  । मोनिकाले भनिन्, ‘आफ्नै केही गर्छु भन्ने कुरामा विश्वस्त थिए ।’ उनलाई व्यवसाय मात्र गर्नु थिएन् उक्त व्यवसायसँग अरू धेरै महिलाहरूलाई जोड्नु थियो । जसले उनीहरूलाई पनि आर्थिक रूपले आत्मनिर्भर हुने अवसर दिन सकोस् । उनी भन्छिन्, ‘मलाई गृहिणीहरूलाई सहयोग हुने काम गर्न मन थियो ’ ।

उच्च शिक्षाको लागि मोनिका काठमाडौं बस्दै गर्दा उनलाई आमाको धेरे न्यास्रो लाग्थ्यो । तर आमाले गाँउबाट बनाएर पठाउने मिठो अचारले उनको न्यास्रो केही कम गर्न सहयोग गर्दथ्यो । शिक्षा र अवसरका लागि विस्तारै सबै सन्तान काठमाडौं आएपछि उनकी  आमा पनि काठमाडौं सर्न वाध्य भइन् । गाँउमा केही न केही काममा व्यस्त रहने उनकी आमालाई शहरको फुर्सदिलो जीवनशैलीले उकुसमुकुस बनाइरहन्थ्यो । छोरा छोरीको कमाई खानु भन्दा सकेको काम आफूपनि  गर्न पाए हुने भन्ने आमाको सधैं गुनासो हुन्थ्यो  मोनिका भन्छिन् ‘आमाको आफ्नै केही गर्छु भन्ने हुटहुटीले देसनाको शुरुवात भएको हो’ । उहाँलाई सहज हुने र उहाँको आफ्नै अचार बनाउने सीपलाई कमाईमा परिणत गर्न सकियोस् भनेर अचार बनाएर बेच्ने आइडिया फुरेको हो ।’ मोनिकाले यही क्रममा २०७७ सालमा स्याङजा गएर अचार बनाउने र प्याकेजिङ गर्ने तरिका सिकिन् । विशेषत देसना अचार गृहिणी फुड उद्योग मार्फत ल्याएको अचार ब्रान्ड हो । 

काम गर्दै जादा उनले आफ्नो आमा जस्तै काम गर्न खोजिरहेको तर कारणवश केही  गर्न नपाएर निराश भएका गृहिणीहरूलाई पनि देसनासँग जोड्न सकिन्छ भन्ने लाग्यो । अनि देसनाले अचार बनाउने तालिम  सिजन अनुसारका अचारका आवश्यक सामग्रीहरू गृहिणीहरुको घरमा पुर्याइदिन थाल्यो, जब धेरै गृहिणीहरूले धेरै थरीको स्वादमा अचार बनाउन थाले यही कुरा देसना अचारको विशेषता र फरकपनको कारण बन्न पुग्यो, यसले नै धेरै महिलाहरूमा स्वरोजगारको सृजना गरेको उनी मान्छिन् । शुरुमा लप्सीको अचारबाट शुरुवात गरेको देसनाले अहिले तामा,आँप,लप्सी,टिमुर,डल्ले खुर्सानीको अचार उपलब्ध गराउँदै आएको छ । उनी भन्छिन्, ‘शुरुमा नै अचार बनाउने भन्दा पनि घर–घरको महिलाहरुलाई आत्मनिर्भर बनाउने योजनाले यो व्यवसाय खोलिएको हो ।’ देसना मेरो मात्र नभएर देसनामा जोडिनु भएका गृहिणीहरुको पनि संस्था हो , उहाँहरु देसनाको पार्टनर हो ’ ।

उनी आफ्नो उत्पादन कति उपयुक्त र गुणस्तरीय भयो भनेर आफैं निरन्तर परीक्षण गर्छिन् । नयाँ उत्पादन बजार पठाउनु अघि जाँच गर्छिन् । उपयुक्त छ भन्ने विश्वास भएपछि मात्र बजारमा पठाउछिन् । महिलाहरु आफ्नै  व्यवसाय गरी आत्मनिर्भर हुन् खोजिरहेका हुन्छन् । तर विभिन्न चुनौतीहरूका कारण अघि आउन डराउने मोनिकाको धारणा छ । मोनिका भन्छिन् कामको सुरूवात गर्न  आफनो वरिपरि कस्तो सोच भएको मानिसहरु छन् भन्ने कुराले ठूलो भूमिका खेल्ने गर्दछ । त्यसमा परिवारको साथ झन् मत्वहपूर्ण हुन्छ । ’देसना अचारले नेपालमा मात्र होइन जापान,अमेरिका भारतमा पनि आफनो स्वाद धेरै ग्राहक र अचार पारखीहरूलाई चखाइरहेको मोनिका बताउँछिन् । ‘देसना विदेशमा समेत प्रचलित छ’  उनले भनिन् । 

मोनिकाको लक्ष्य दुई लाख महिलाहरुलाई देसनाको व्यवसायसँग जोड्नु हो । जसका लागि उनलाई थप पुँजीको आवश्यकता रहेको छ । सरकारबाट दिइने कर्जाहरूको व्यवस्था बारेमा भर्खरै थाहा पाएकी उनी भन्छिन्, अहिले स्टार्टअप ऋण भनेर आएको रहेछ, त्यो ऋणको लागि आवेदन दिने सोचेको छु ’ । पछिल्लो समय स्वदेशमा केही सम्भव छैन भनेर विदेशिने क्रम जारी छ । तर पहिलाबाट नै कतै नगई नेपालमा केही गर्ने चाहना रहेको मोनिका बताँउछिन्, ‘परिवारको प्राय सदस्य विदेश हुनुहुन्छ तर मलाई कहिले पनि विदेश जाने सोच आएन’ 

कुनैपनि व्यवसायमा धैर्यता र लगन हुनु अत्यन्तै आवश्यक रहेको मोनिका बताँछिन्, ‘व्यवसायमा केही गर्छु भन्ने सोच र निरन्तरता दिन सक्ने आँट चाहिन्छ । केही वर्षसम्म मिहेनत र लगन जारी राख्यौं भने व्यवसाय आफुले सोचेको ठाउँसम्म पुराउन सकिन्छ ।’ मोनिका सबैले आफनै केही गर्छु भन्ने सोच राखेर अघि बढियो भने अवश्य सफल हुने बँताउछिन् ।  ‘फर्केर हेर्दा मैले धेरै खुट्किला पार गरिसकेको छु । परिवारमा सबैले गर्व गर्नुहुन्छ । मोनिका भन्छिन्, ‘मैले धेरै मेहनत गरेका छु, आफुले चाहेको कामबाट सफल हुँदा मलाई सन्तुष्टि मिलेको छ ’ ।