बेलायती राजकुमार ह्यारी अमेरिकामा जागिरे

बेलायती राजकुमार ह्यारी अमेरिकामा जागिरे


एजेन्सी।
बेलायती राजकुमार ह्यारी अहिले अमेरिकाको क्यालिफोर्निया पुगेका छन्। आफ्नो राज्य र सम्पत्ति त्यागेर उनी अमेरिकामा जागिरे भएर बसेका छन्।

सिएनएन बिजनेसका अनुसार ह्यारी सिलिकन भ्याली स्टार्टअप कम्पनी ‘बेटरअप’का ‘चिफ इमप्याक्ट अफिसर’का रुपमा जागिर खाइरहेका छन्।    

‘बेटरअप’ कम्पनीले आफ्ना ग्राहकहरुलाई कोचिंग र मानसिक स्वास्थ्य सेवाहरु प्रदान गर्छ। कम्पनीको वेबसाइटले ह्यारीलाई नेतृत्व टोलीको रुपमा सूचीकृत गरेको छ, जसमा उनलाई मानवीय, सैन्य दिग्गज, मानसिक स्वास्थ्य वकालत गर्ने व्यक्ति र पर्यावरणविद् भनेर वर्णन गरिएको छ।

ह्यारी कम्पनीको  ‘चिफ इमप्याक्ट अफिसर’ पद पाउने पहिलो कर्मचारी हुन्। उनको यो पद धेरैलाई नयाँ र नौलो लाग्न सक्छ।

आफ्नो काम र पदबारे बुझाउँदै राजकुमार ह्यारीले लेखेका छन्, ‘बेटरअपको पहिलो प्रमुख अधिकारीको रुपमा मेरो लक्ष्य मानसिक स्वास्थ्यसम्बन्धि आलोचनात्मक संवाद उठाउनु, सहयोगी समुदाय निर्माण गर्नु, इमान्दार कुराकानीको लागि वातावरण विकास गर्नु हो। साथै मानिसलाई आन्तरिक शक्ति र विश्वास विकास गर्न मद्दत गर्नु हो।’

अमेरिकी प्रस्तोता ओप्रा विन्फ्रेलाई दिएको अन्तर्वाताको केही हप्तापछि ह्यारीले कम्पनीमा काम गर्न थालेका हुन्। सो अन्तर्वार्तामा ह्यारी र उनका श्रीमता मेगन मार्कलले उनीहरुलाई बेलायती शाही परिवारले गर्ने व्यवहार खुलासा गरेका थिए।

अन्तर्वाताको क्रममा मेगनले आफ्नो छालाको रंगका कारण गरिने भेदभाव र त्यसले उनको मानसिक स्वास्थ्यलाई पुर्याएको असरबारे बोलेकी थिइन्।

बेटरअपमा अब ह्यारीले उत्पादनबारे निर्णयले लिने, परोपकारी योगदान गर्ने र मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयमा सार्वजनिक रुपमा वकालत गर्ने अपेक्षा गरिएको सिएनएन बिजनेसले बताएको छ।

कम्पनीले ह्यारीलाई कति तलब दिने कुरा भने खुलासा गरेको छैन।