स्वदेशमै सम्भव छ

डाक्टरसावको ‘चिया दैलो’

डाक्टरसावको ‘चिया दैलो’



काठमाडौं-चियासँग पफ अनी साथीको गफ । आफ्नो व्यस्त समयलाई आनन्दित बनाउन हामीलाई यती भए पुग्छ । चिया पारखीहरूलाई त झन भन्नै पर्दैन । तपाईँहरूलाई भनेजस्तो चिया चाख्न मन छ ? अझ सहज वातावरण अनी थरि–थरि चियाको स्वाद एकै ठाउँ चाख्न पाए हुन्थ्यो भन्ने लागेको छ भने ‘चिया दैलो’ तपाईहरुको लागि उपयुक्त ठाउँ हुनसक्छ ।

भिडियो


हामी सबैको बिहान चियाबाट सुरुवात हुन्छ । प्राय जसोको रुचि भनेको कालो, लेमन र दूध चिया मात्रै हो । धेरैले यो भन्दा बढी स्वाद नचाखेका पनि हुन सक्छन । तर ‘चिया दैलो’ मा भने हामीले सोचेभन्दा धेरैथरि चियाका स्वादहरु पाउन सक्छौँ । चियाको रोजाई बढेसँगै चिया पसल, होटल, रेस्टुरा एवं क्याफेको संख्या बढ्दो क्रममा छ । कतै भनेजस्तो चिया नपाइने, कतै सुहाउँदो वातावरण नहुने त कतै महँगो हुने ।

यही समस्या देखेर पलिष्ठा श्रेष्ठले ‘चिया दैलो’ सञ्चालनमा ल्याइन् । पलिष्ठा पेशाले डाक्टर हुन । डाक्टरीबाट माथि उठेर उनी आफ्नै केहि व्यवसाय गर्न चाहन्थिन । यही चाहनालाई पच्छ्याउँदै उनले ‘चिया दैलो’ को शुरुवात गरिन । चिया सबैको रोजाई हो । अझ जाडोयाममा त कसैलाई चिया नभई हुँदैन । आफुले ‘चिया दैलो’ को शुरुवात गर्दाको क्षण सम्झिँदै उनले भनिन, ‘म र मेरो श्रीमान चिया पिउन धेरै ठाउँ गइरहँदा केही न केही कमी महशुस हुन्थ्यो ।

त्यसैले हामीले चिया खाने पसल खोल्दा किन नहुने, भन्ने मनमा लाग्यो । त्यसपछि हामीले नेपाली स्वाद आउने थरि–थरि चियाका प्रकारहरुका बारेमा बुझ्यौं । त्यसले गर्दा नेपाली चियाको संस्कृतिको विकास हुने र व्यवसाय विस्तार पनि हुने । यही नै हाम्रो मुख्य उद्देश्य हो । त्यसैले नाम पनि सबैले बुझ्ने खालको राख्ने सोचेर ‘चिया दैलो’ राख्यौं ।’ पलिष्ठा भन्छिन ‘जागिर खाइरहे पनि मलाई आफ्नै व्यवसाय गर्न मन थियो । चियाको तलतलले ‘चिया दैलो’ शुरु गर्न ठुलो प्रेरणा मिल्यो ।’ जागिरबाट राम्रै कमाइ हुन्छ । तर आफैं केही गर्ने चाहनाले ‘चिया दैलो’ खोलेको हो । ‘चिया दैलो’ को शुरुवात गरेसँगै कोसिस गर्यो भने असम्भव केहि रहेनछ भन्ने भान भयो ।’विशेषगरी ‘चिया दैलो’ मा कलेज छुट्टिपछि विद्यार्थीको हुल हुन्छ । व्यस्त क्षेत्रलाई ‘चिया दैलो’ ले आनन्दित क्षेत्रको ठाउँमा परिवर्तन गरिदिएको छ । हरेक समय ग्राहक चिया र गफसँगै झुलेका पाइन्छन । यहाँ चिया पाकुन्जेल एक्लोपन वा दिक्क महसुस नहोस भनेर वरपर भित्तामा रमाईला कुराहरू लेखिएको छ । पलिष्ठाका अनुसार ‘चिया दैलो’ को उद्देश्य चिया बेच्नु मात्र होइन । कसरी हुन्छ ग्राहकलाई चिया मन परोस भन्ने हो । ‘चिया दैलो’ को मुख्य आकर्षण नेपाली मौलिकता झल्किने चकटी, सरल सजावट र मिठो चिया हो ।

व्यवसाय शुरुवात गर्दै गर्दाको समयलाई सम्झिदै पलिष्ठा भन्छिन, ‘एउटा डाक्टर भएर चिया व्यवसायमा लाग्नु उचित नभएको धेरैको धारणा थियो । तर मैले कोसिस गरेर हेर्न रुचाँए । र आज सफल पनि भए ।’ पलिष्ठा भन्छिन, ‘अहिले टाढा टाढादेखि चियाकै लागि ग्राहक आउनुहुन्छ । सामाजिक सञ्जाल र विशेषगरी इन्स्टाग्रामले गर्दा ‘चिया दैलो’ भाइरल भएको छ । छोटो समयमा नै ग्राहकले ‘चिया दैलो’ मन पराएका छन, यतिसम्म कि बस्ने ठाउँ नहँुदा पनि उठेर चिया पिउने गर्छन ।’ उनी यतिबेला ग्राहकबाट आएको प्रतिक्रियाले भने दंग छिन् । धेरै ग्राहकहरू ‘चिया दैलो’ को चियाको स्वाद र वातावरणको तारिफ गरिरहेको उनले बताइन् । ‘चिया पनि यति मिठो, आनन्द वातावरण र सोचे जस्तै चियाको स्वाद भन्ने धेरै हुनुहुन्छ । ग्राहकको सकारात्मक प्रतिक्रियाले कामलाई निरन्तरता दिन सहयोग पुराउँछ ।’ उनले भनिन ।

युवाहरूका लागि स्वदेशमै अवसर छ भन्ने प्रमाणित डाक्टर पलिष्ठाको ‘चिया दैलो’ ले गरेको । विदेश गइरहेका हजारौं युवाहरुको गतिलो उदाहरणको रुपमा ‘चिया दैलो’ परिचित भएको छ । उनी भन्छिन, ‘‘चिया दैलो’मा ग्राहक प्राय युवा नै आउँछन । त्यहाँ उनीहरुको गफगाफ सुन्दा धेरैजसो युवाहरुको सोच विदेश जाने नै भेटिन्टछ ।’

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारको लागि विदेशिने जमात बढिरहेको छ । पलिष्ठा युवाहरुको लागि देशमै अवसर भएको महसुस गर्छिन र भन्छिन, ‘आफुमा विश्वास हुनुपर्यो जे पनि सम्भव छ । जस्तो समस्या आएपनि काम गर्ने जोस जाँगर छ भने नेपालमै धेरै कुराहरु सम्भव छ । विदेश जानै पर्दैन ।’ पछिल्लो समय महिलाहरू आर्थिक रुपमा सबल बन्दै गएका पनि छन । आफ्नो व्यवसायलाई निरन्तरता दिदैँ थोरै भएपनि आँफैले कमाउन सकिने हो भने आत्मनिर्भर हुन सकिन्छ भन्ने उदाहरण ‘चिया दैलो’ले दिइरहेको छ । पलिष्ठा भन्छिन, ‘बैंकहरूले स्टार्टपको लागि थोरै ब्याजदरमा ऋण दियो भने नेपालमा यस्ता धेरै व्यवसायहरु सञ्चालन हुन्छ । यसले गर्दा थुप्र्र्रै रोजगारी सिर्जना हुन्छ ।’

उनी आफ्नो उमेरका सबै युवाहरुलाई विदेशमा गएर काम गर्नेहरुलाई नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन्छिन । वैदेशिक रोजगारको लगि गएका युवाहरूलाई त्यहाँबाट सिकेको ज्ञानलाई आफ्नो देशमा आएर प्रयोग गर्न सुझाव दिइन । उनले भनिन, ‘केहि गर्छु भन्ने सोच थियो । महिला उद्यमीका रुममा आफूलाई चिनाउन मन थियो । आज व्यवसायमा आए । म जस्तै धेरै महिलाहरू केही गर्न चाहनुहुन्छ भने कोसिस गर्नुस । अवश्य सफल भइन्छ ।’ सफलता र सन्तुष्टिलाई पलिष्ठा फरक किसिमले बुझिछन र भन्छिन, ‘आँटेको काम सफल भयो । धेरै युवाहरू जोडिए । यो नै मेरो लागि सफलता हो । मैले रुचाएको काम गर्न पाएकोमा म खुशी छु । आफुले गरेको जुनसुकैै काममा खुशी हुनु नै सन्तुष्टि हो ।’
हरेक व्यक्तिसँग कुनै न कुनै ‘आईडिया’ हुन्छ । नेपालमा हरेक व्यवसायका लागि राम्रो अवसर पनि छ । प्रतेक व्यक्तिको सोचलाई व्यवसायमा रुपमान्तरण गर्ने हो भने स्वदेशमै धेरै कुराहरु सम्भव छ । डाक्टर पलिष्ठा पनि काम र व्यवसायलाई अघि बढाउन डराउन नहुने सन्देश दिन्छिन ।