बीमा समाचार

बीमा क्षेत्रमा आर्थिक मन्दीको असरः पोलिसी सरेण्डर रकम ३६ प्रतिशतले बृद्वि

बीमा क्षेत्रमा आर्थिक मन्दीको असरः पोलिसी सरेण्डर रकम ३६ प्रतिशतले बृद्वि

कुन बीमा कम्पनीको कति ?


काठमाडौं-मुलुकको आर्थिक गतिविधिमा सुस्तता छाएसँगै बीमा क्षेत्रमा पनि असर परिरहेको देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । तथ्यांकमा मंसिर महिनामा पछिल्ला महिनाहरूको तुलनामा बीमा पोलिसी परित्याग अर्थात पालिसी सरेण्डर गर्नेको संख्या बढेको देखिएको हो । बीमा प्राधिकरणले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनामा ९ हजार बढीले बीमा पोलिसी त्यागेका छन ।

मंसिर महिनामा मात्रै ९ हजार ७४४ जनाले १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । गत कार्तिक महिनाको तुलनामा मंसिर महिनामा कम्पनीहरूको पोलिसी सरेण्डर वृद्धि भएको छ । गत कार्तिक महिनाको तुलनामा बीमा सरेण्डर संख्या ५९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको हो भने बीमा सरेण्डर रकम ३६ दशमलव ७५ प्रतिशतले बढी हो । निश्चित अवधिका लागि खरिद गरिएको पोलिसी विभिन्न कारणले बीचमै रोकिएमा त्यसलाई बीमा पोलिसी सरेण्डर गरिएको मानिन्छ ।

किन बढ्दैछ बीमा पोलिसी सरेण्डर ?
बीमालेख सरेण्डर बढ्नुका कारणहरूमध्ये एक प्रमुख कारण आर्थिक मन्दी नै रहेको बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले बताएका छन् । उनी भन्छन्,‘देशमा आर्थिक गतिविधिमा समस्या देखेसँगै बीमा क्षेत्रमा पनि केही समस्या परेको छ । बीमाको प्रिमियम भुक्तानी गर्न नसक्दा बीमा सरेण्डर बढेको हो ।’ उनी भन्छन्, ‘बीमाको पहुँच बढिरहेको अवस्थामा केही समस्या देखिनु पनि स्वभाविक हो ।’ पौडेल भन्छन्, ‘निर्देशिकामा नै पोलिसी खरिद र सरेण्डर गर्न पाउने भनिएकोले कुनै आर्थिक समस्याले पोलिसी सरेण्डर गर्दा नगर्नु भन्न मिल्दैन ।’ नयाँ निर्देशिकामा ३ वर्ष नहुँदासम्म बीमा सरेण्डर गर्न नमिल्ने व्यवस्था छ र अब बीमा सरेण्डरको दरमा कमी आउने उनको धारणा छ । उनले भने, ‘पछिल्लो समय मानिसमा आम्दानी खुम्चिएको अवस्था छ । दैनिक खर्च चलाउन समस्या भएको अवस्था परेपछि पोलिसी त्याग गरेको देखिएको छ ।’ उनले भने ‘विस्तारै आर्थिक मन्दी हट्दै छ । अब विस्तारै बीमा क्षेत्रमा पनि सुधार आउने छ ।’

बीमा अभिकर्ताले आफ्नो कर्तव्य निभाउने चक्करमा सर्वसाधारणलाई विभिन्न लोभ देखाएर उनीहरूले क्षमता आंकलन नगरी बीमा गराउने प्रवित्तिका कारण पनि बीमा पोलिसी सरेण्डर गर्नेको संख्या बढेको पौडेलको भनाई छ ।

आर्थिक सुस्तताको कारण बढ्यो पोलिसी सरेण्डर

आर्थिक सुस्तताको कारण बीमा पोलिसी त्याग गरेको हुनसक्ने नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेल बताउँछन । उनी भन्छन, ‘बजारमा जुन मन्दी छ त्यसले गर्दा पनि मान्छेसँग पैसा छैन, सरेण्डर बढनुको प्रमुख कारण यही हो ।’ आम्दानी प्रभावित हुँदा बीमितहरूले पछिल्लो समय बीमा पोलिसी सरेण्डर रोज्ने गरेको उनले बताए । जीवन बीमा कम्पनीहरूलाई बीमाको पँहुच बढाउन सरेण्डरको अपवादले समस्या आउने गरेको उनको धारणा छ । ‘सकेसम्म सरेण्डर नहोस भन्ने धारणा हुन्छ, सरेण्डर कम गर्न सबै जीवन बीमा कम्पनीहरू लागि परेका छन् ।’ उनी भन्छन, ‘बीमा प्राधिकरणबाट पनि विभिन्न पहलहरू भइरहेको छ ।’

पोलिसी सरेण्डर कम गर्न बीमा प्राधिकरणको प्रयास

बीमा समितिले एक निर्देशिका जारी गर्दै बीमालेख अन्तरगत समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिँदा दुईवर्ष पुरा भएपछि मात्र दिन सकिने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि ऋण तथा समर्पण मुल्य प्रदान गर्न सकिने व्यवस्था समितिले गरेको थियो । प्राधिकरणले बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै बीमा प्राधिकरणले सरेण्डरमा नयाँ नियम लागू गरेको छ । प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो । ऐनमा बीमीतले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । यस्तो व्यवस्थाले पोलिसी ल्याप्स र पोलिसी सरेण्डरको दर घट्ने प्राधिकरणकोे बुझाई छ ।

कुन कम्पनीको कति ?

प्राप्त तथ्याङ्क अनुसार सञ्चालनमा रहेका बीमा कम्पनीहरूमध्ये मंसिर महिनामा नेपाल लाइफको सरेण्डर सर्वाधिक देखिएको छ । गत कार्तिक महिनामा १७ सय ७७ जनाले २६ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेण्डर गरेकोमा मंसिर महिनामा वृद्धि भई २४ सय २५ जनाले ३६ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको मंसिर महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको १५ सय ८५ जना बीमितहरूले १२ करोड ५ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन । नेशनल लाइफको ४२२ जना बिमितहरूले ६ करोड ८२ लाख रुपैयाँको पोलिसी त्याग गरेका छन । त्यस्तै, एलआइसी नेपालका १९ सय ४७ जना बिमितहरूले २२ करोड ८ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका छन । मेट लाइफका ३ सय २६ जना बीमितहरूले ३ करोड ८० लाख रुपैयाँ, एशियन लाइफका १ हजार ९९ जना बिमितहरूले ८ करोड ७१ लाख रुपैयाँ र आइएमई लाइफका १ सय १२ जना बीमितहरूले १ करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन।

यस्तै सानिमा रिलायन्स लाइफका १ सय ६० जना बिमितहरूले २ करोड रुपैयाँ, हिमालयन लाइफका ७ सय १८ जना बीमितहरुले ५ करोड ८७ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफका १ सय ४० जना बीमितहरूले १ करोड ५९ लाख रुपैयाँको पोलिसी त्यागेका छन ।

त्यसैगरी सन नेपाल लाइफका ७२ जना बीमितहरूले ६५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफका १ सय १८ जना बीमितले ६६ लाख रुपैयाँ, सिटिजन लाइफका १ सय ४६ जना बीमितहरूले ९२ लाख रुपैयाँ र सूर्यज्योति लाइफका ४ सय ७४ जना बीमितहरूले ६ करोड रुपैयाँको पोलिसी समर्पण गरेका छन ।

बीमा अभिकर्ताको धारणा कस्तो छ ?

लामो समयदेखि बीमा अभिकर्ताको काम गर्दै आइरहेकी सफलता भण्डारी बीमा अभिकर्ताहरुले स्वार्थ पुरा गर्न बीमा पोलिसी बेच्छन भन्ने आरोप रहेको बताउँछिन । उनी भन्छिन, ‘बीमा अभिकर्ताहरूको कारण सरेण्डरका फाइलहरु बढ्छ भन्ने आरोपले धेरै दक्ष बीमा अभिकर्ताको समेत बदनाम हुने गरेको छ ।’

केही अभिकर्तामा बीमाको पूर्ण ज्ञानको अभावमा पोलिसी बेच्ने अनि बीचमा सरेण्डरको दर बढिरहेकोमा समर्थन जनाउँदै उनी भन्छिन्, ‘बीमा सम्बन्धी उचित ज्ञान नभएका बीमा अभिकर्ताहरुले गर्दा पोलिसी सरेण्डर हुन्छ । तर सबैलाई आरोप लगाउनु गलत हो ।’ बीमा कम्पनीहरूले दक्ष अभिकर्ता छनोट गर्नु आवश्यक रहेको उनी बताउँछिन ।