‘ट्युन’ र ‘ट्रान्जेक्सन’ को लय मिलाउँदै बैंकर शोभा

‘ट्युन’ र ‘ट्रान्जेक्सन’ को लय मिलाउँदै बैंकर शोभा


काठमाडौं–कवि पारसमणि प्रधानको लक्ष्य कविताको एउटा हरफ छ:-
‘लक्ष्यबिनाको मानिस हुन्न, लक्ष्य भएको हुन्छ ।
लक्ष्यबिनाको मानिस साच्चै बानर जस्तो हुन्छ ।’

कविको यो कविताले जीवनमा मानिसले बाच्नका लागि केही न केही त गर्नैपर्छ भन्ने सन्देश मात्र दिएको छैन, यो हरफले मानिसलाई आफ्नो भविष्यप्रति सजग पनि गराएको छ । आफूलाई मनपर्ने पेशा चुन्ने मान्छेको अधिकार पनि हो र खुशी पनि । तर कतिपय परिस्थितिमा भने मान्छे आफ्ना सपना र लक्ष्यलाई पूर्णविराम लगाएर नयाँ बाटो रोज्छ । त्यसरी नै आफ्नो गायिका बन्ने सपनालाई अधुरै छोडेर बैंकर बनेकी शोभा न्यौपानेको जीवन यात्रा भिन्नै छ ।

१७ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत उनी कामबाट फूर्सद हुने बेला गीत गुनगुनाइ रहेकी भेटिन्छिन् । गुनगुनाउने मात्र होइन शोभाका हालसम्म चार वटा गीत पनि सार्वजनिक भएका छन् । ‘ढाका टोपी मैलो’ नामको हास्य गीत, ‘नेपाल आमा’ र ‘हाम्रो कालापानी’ नामका राष्ट्रिय गीत र एउटा ‘जुनतारा’ नामको लोकदोहोरी गीत शोभाले गाइसकेकी छिन् । संख्यामा थोरै भएपनि उनका गीत भने घत लाग्दा छन् । तर गायिका बन्न धेरै नै संघर्ष गनुपरेको उनी बताउँछिन् ।

पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेकी शाखा प्रवन्धक शोभाको बैंकिङ्गदेखि गायिकीसम्मको यात्रालाई नियाल्दा विभिन्न त्याग गरेको देखिन्छ । गीतसंगीतलाई जीवन मान्ने शोभा भन्छिन्, ‘संगीत सिक्ने चाहाना त भएन कहिल्यै । तर गीत गाउन राम्ररी नै सक्छु भन्ने आत्मविश्वास पूरा थियो ।’ उच्च शिक्षा हासिल गर्नकका लागि काठमाडौं पसेकी उनले गायिका बन्ने लक्ष्यलाई मूर्त रुप दिन रेडियो नेपालसँग जोडिएको बताइन् । ‘पढदै थिए । सँगै एउटा क्यानेडियन प्रोजेक्टमा पनि काम गरिराथे । पैसा पनि राम्रै थियो । तर गीत गाउन पाउँछु कि भन्ने आशले रेडियोमा जान मन लाग्यो । स्वर परीक्षा दिएर पास पनि भए’, उनले भनिन् ।

रेडियोमा जोडिए पनि गीतको विषयलाई भने उनले अझै विकल्पमा राख्नुपर्ने बाध्यता थियो । सन् २००२ बाट रेडियो नेपालसँग जोडिएर उनले वन र वातावरणसँग सम्बन्धित ‘सामुदायिक वन’ नामक कार्यक्रम चलाएको सम्झिन्छिन् । यही कायक्रमको शिलशिलमा आफू देशका विभिन्न ठाउँमा जानुपर्ने भएको हुँदा परिवारले उनको पेशालाई ‘घुमन्ते जागिर’को उपमा दिएको थियो । ‘सधैंभरि घुमन्ते र फिरन्ते जागिर खाएर पुग्दैन । १०-५ को जागिर खाऊ । निश्चित समय हुन्छ । बैंकको जागिर बोनसै-बोनस पनि हुन्छ भनेर घरपरिवारका सबैले जिद्दी गरेपछि छोड्न बाध्य भएँ’, मलिन अनुहारमा उनले भनिन् । यसपछि झनै उनको मनमा आफ्नो गायिका बन्ने सपनामा बिट लाग्छ कि भन्ने डर थियो ।

परिवारको खुशीको लागि आफ्नो खुशी त्याग्न पुगेकी उनलाई आफूमाथि विश्वास पनि थियो । सोच्थिन्, ‘कुनै दिन त गीत गाउँछु, आफ्नै दममा ।’ परिवारको सल्लाह मान्दै उनले सन् २००७ मा बैंकिङ्ग पेशा सुरु गरिन् । उनको अध्ययन पनि वाणिज्य शास्त्रमा भएकाले जागिर पाउन सहज भएको थियो । आफूप्रतिको दृष्टिकोणलाई सधैं बलियो बनाएर हिड्ने शोभाले बैंकको कान्तिपथ शाखाबाट ट्रेनी असिस्टेन्ट कन्ट्रयाकबाट बैंकिङ्ग करियर सुरु गरेको बताउँछिन् । तर असिस्टेन्टको काम जम्मा एक हप्ता गरेर उनी रेसेप्सनतर्फ मोडिइन् । भनिन्, ‘ ट्रेनी असिस्टेन्ट कन्ट्रयाकबाट सुरु गरेँ । अनि रेसेप्सनमा गए । त्यसमा सात दिन मात्र काम गरेँ अनि मार्केटिङ डिपार्टमेन्टमा गएँ । मार्केटिङ्गपछि कर्जा विभाग र त्यसको केही समय पछि नै शाखा प्रबकन्धकको जिम्मेवारीमा पुगे ।’

सन् २००९ सालमा स्थापना भएको त्रिभुवन विश्यविद्यालय परिसर भित्रको कीर्तिपुर शाखाको स्थापना शोभाकै पहलमा भएको थियो । त्यहाँ उनले काम गरिरहँदा उनी जुनियर अफिसरको भूमिकामा थिइन् । अफिसर हुँदै म्यानेजर बनेकी उनी बीचमा काम छोडेर अमेरिका पुगेको बताउँछिन् । भन्छिन्, ‘विविध कारणले नेपाल बस्न मन लागेन अमेरिका गएँ । तर त्यहाँ नि बस्न मन लागेन । देशको मायाले तान्यो र फर्किएँ ।’ आत्मसाहसी शोभालाई स्वदेशमै बसेर केही गर्नुपर्छ लाग्यो । फर्केछि उनले आफ्नो बैंकिङ्ग यात्रालाई नै अघि सारिन् । उनले जोरपाटी शाखाबाट म्यानेजरकै हैसियतमा काम सुरु गरिन् । वि.सं. २०७५ बाट पुनः कीर्तिपुर शाखाको नेतृत्व गरिरहेकी शोभा खुलस्त र स्पष्ट विचार भएकी एक प्रभावशाली महिला बैंकरको रुपमा परिचित छिन् ।

उनले विश्वविद्यालय भित्र रहेको बैंकको शाखा मात्र होइन, खुल्ला विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयको पनि जिम्मेवारी बहन गर्छिन् । त्यहाँ रहेर शाखा चलाइरहँदा भने केही अप्ठ्याराको सामना गर्नुपर्ने उनको भनाइ छ । भन्छिन्, ‘विश्वविद्यालयमा विभिन्न राजनीतिक दलहरु पनि छन् । तिनै दलका विद्यार्थीहरुले आफ्ना माग पूरा गर्न बेलाबेला आन्दोलन, झडप गरिरहन्छन् । २०६२/६३ तिर त विहान आएर कुनै दिन बेलुका फर्कन पाउँछु या पाउँदिन पनि सोचिन्थ्यो ।’ तर आफू सही भए कुनै पनि पक्षले नकारात्मक प्रभाव पार्न नसक्ने उनको भनाइ छ । देशको पहिलो राष्ट्रिय शैक्षिक संस्था र ठूलो विश्वविद्यालयमा कहिले काही वातावरण खलबलिनु स्वभाविक भएको शोभा बताउँछिन् । ‘यो शाखामा काम गरेर मेरो हिम्मत अझै बढेको छ । बौद्धिक व्यक्तिहरुको संगत गर्न पाएको छु । जसबाट मलाई प्रेरणा पनि मिलेको छ । उहाँहरुबाटै प्रभावित भएर मैले राजनीति शास्त्रमा डिग्री गरेँ । अहिले द्धन्द्ध शान्ति र विकासमा एमफिल गर्दैछु’, उनले भनिन् ।

विश्वविद्यालय भित्र रहेर काम गरिरहँदा आफूलाई जोश र जाँगर पनि आएको शोभाले अनुभूति गरेकी छिन् । त्यही जोशलाई प्रयोग गरेर गायिका बन्ने सपना पनि पूरा गरेको उनले बताइन् । ‘बैंकिङ्ग करियरकै लागि गरिरहेको काम छोडेको थिएँ । त्यससँगै गीत गाउने चाहाना पनि छोडेकै हो । तर जुन समय र कामले मेरो बाटो मोडेको थियो । त्यसै कामकै कारण मलाई फेरी आफ्नै सपनाको दुनियाँमा पुग्न मद्दत पुग्यो’, उनले भनिन् । शोभाले अहिले बैंकको शाखा मात्र चलाइरहेकी छैनन, उनले आफ्ना इच्छा र रहरलाई पनि सँगसँगै लगिरहेकी छिन् । अब भने आफ्नो सपना पूरा गर्न कसैले पनि रोकटोक गर्न नसक्ने उनको भनाइ छ । अहिले शोभा ‘ट्युन’ र ‘ट्रान्जेक्सन’ को लय मिदाउँदै अघि बढिरहेकी छिन् । योसँगै अबको केही समयपछि आफ्नै रचना र आफ्नै स्वरमा गीत सार्वजनिक गर्ने तयारीमा आफू जुटेको उनको भनाइ छ ।