काठमाडौं-विगतमा बैंक तथा वित्तीय संस्थाहरुले परम्परागत शैलीमा लगानीलाई विस्तार गरिरहेका थिए । तर अहिले उद्यमी र लगानीकर्ताको समूह मिलेर लगानीका लागि सामुहिक रूपमा स्रोत जुटाउने चलन सुरु भएको छ । त्यसका नियमनहरु पनि बनिरहेका छन । त्योसँगै आम लगानीकर्ताहरु यी अवधारणाहरूसँग परिचित भए । फलत निजी इक्विटी र भेन्चर क्यापिटलको अवधारणा पनि शुरु भयो । बैंकले कसैलाई कर्जा–ऋण उपलब्ध गराउँछ भने प्राइभेट इक्विटी फन्डले कुनै निजी संस्थालाई स्वामित्व लिएर पुँजी उपलब्ध गराउँछ । कुनै व्यक्तिसँग केही काम गर्ने योजना छन् तर त्यसका लागि पुँजी अभाव छ भने त्यस्ता व्यक्तिलाई व्यवसाय विस्तार गर्न पुँजी लगानी गरिदिने काम प्राइभेट इक्विटी फन्डले गर्दछ । अहिले नेपालमा यस्ता फण्डहरुको बारेमा अपेक्षाकृत रुपमा चर्चा र चासो बढ्दो छ ।
कस्ता संस्थाहरु पीईभीसी हुन ?
पीईभीसी फण्डहरु लगानीका लागि वैकल्पिक स्रोतको रुपमा चिनिन्छन । यसमा स्टक एक्सचेन्जमा सार्वजनिक रूपमा कारोबार नगरिएका कम्पनीहरूलाई पूँजी उपलब्ध गराइन्छ । प्राइभेट इक्विटी फण्डले भर्खरै सुरु गरिएका तर व्यवसाय विस्तार गर्न खोजिरहेका व्यवसायहरुमा केन्द्रीत रहेर लगानी गर्दछ । यता भेन्चर क्यापिटलले भने प्रारम्भिक चरणमा रहेका स्टार्टअपहरूलाई लगानी गर्ने गर्दछ । जोखिमको हिसाबले हेर्ने हो भने प्राइभेट इक्वीटी भन्दा भेन्चर क्यापिटलमा बढि जोखिम हुने गर्दछ । किनभने प्राइभेट इक्वीटीले भइरहेको व्यवसायलाई थप विस्तार गर्ने काम गर्दछ भने भेन्चर क्यापिटलले सञ्चालन नभएको तर व्यवसायको सम्भावना बोकेका योजनालाई आधार मानेर लगानी गर्दछ । त्यसैले भेन्चर क्यापिटलहरुको जोखिम भार धेरै हुन्छ ।
नेपालमा कसरी शुरु भयो ?
नेपालमा पनि पीईभीसी फन्डको अवधारणा सन् २०१२ बाटै शुरु भएको पाईन्छ । अहिले निजी क्षेत्रबाट भने विशिष्टिकृत कोषहरूको सञ्चालन अभ्यास अघि बढेको पाईन्छ । २०१४/१५ देखि ‘डोल्मा इम्प्याक्ट फन्ड’ र ‘बिजनेस अक्सिजन’ जस्ता वैदेशिक लगानीका पीईभीसी फन्डहरूले नेपालमा लगानी गर्न थाले । त्यसैगरी २०१५ मा बिजनेस अक्सिजन, २०१६ मा टु नोर्थ एसोसिएट्स र टिम भेन्चर्स लगायतका कम्पनीहरुले लगानीका वैकल्पिक स्रोत उपलब्ध गराउँदै पीईभीसी फन्ड प्रवद्र्धनमा गरिरहेका छन । निजी क्षेत्रका विभिन्न फन्डबाट नेपालमा १५ देखि २० अर्ब रुपैयाँ लगानी भएको अनुमान छ । सरकारी तवरबाट भने आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र हेज फन्डलगायत नयाँ उपकरणलाई पुँजी बजारमा प्रवेश गराउने भूमिका खेलेको पाइन्छ । त्यतीमात्र नभई नियमनकारी निकाय धितोपत्र बोर्डले ‘विशिष्टिकृत लगानी कोष नियमावली, २०७५’ लागू गरेपछि यस क्षेत्रले आफ्नो बलियो यात्रा तय गर्यो । पुँजी बजारमा नयाँ साधन र अभ्यासका रूपमा विशिष्टिकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड र हेज फन्डको व्यवस्था पनि शुरु गरियो । विशिष्टिकृत लगानी कोष नियमावली जारी भएपछि पीईभीसी फन्डको कोष प्रबन्धकको काम गर्न धितोपत्र बोर्डमा आवेदन दिएका १७ कम्पनीमध्ये ९ वटा कम्पनीहरु छनोटमा परेका थिए । अहिले त्यस्ता कम्पनीहरु १२ वटा पुगिसकेका छन ।
यो पनि
नियामकिय व्यवस्था के छ ?
नेपालमा विशिष्टिकृत लगानी कोष नियमावली अनुसार पीईभीसी फन्डमा लगानी गर्न चाहनेले कम्तिमा ५० लाख रुपैयाँ बराबरका एक एकाई फण्ड लगानी गर्नुपर्छ । सबैभन्दा सानो फन्ड भने कम्तिमा १५ करोड रुपैयाँको हुनुपर्छ । विशिष्टिकृत लगानी कोष भन्नाले विशेषज्ञता प्राप्त कम्पनीद्वारा ठूला लगानीकर्तासँग भएका रकम संकलन गरी कुनै नयाँ तथा चुनौतीपूर्ण व्यवसायमा लगानी गर्न खडा गरिएको कोष भनेर बुझिन्छ । जसलाई वैकल्पिक लगानी कोष पनि भन्ने गरिन्छ । विशिष्टिकृत लगानी कोषमा ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताहरूको संलग्नता हुन्छ । विशिष्टिीकृत लगानी कोषले संकलन गर्ने पैसाबाट कम्पनीको इक्विटीमा लगानी हुन्छ । यो लगानी उच्च जोखिमयुक्त र उच्च प्रतिफल दिने खालको हुन्छ । उच्च प्रतिफल लिने चाहना राख्ने ठूला लगानीकर्ता र सामूहिक लगानी गर्ने चाहना राख्ने संस्थागत लगानीकर्ताका लागि वैकल्पिक लगानीका माध्यमका पिइभिसी फन्डलाई लिन सकिन्छ ।
कसरी भइरहेको छ लगानीको विस्तार ?
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हालसम्म १२ कोष प्रबन्धकहरूलाई लाइसेन्स प्रदान गरेको छ । ती मध्ये, ग्लोबल इक्विटी फन्ड प्रबन्धकको रुपमा प्रारम्भिक चरणमै लाइसेन्स लिने संस्था बन्यो । यसबाहेक, अवसार इक्विटीले ‘अवसार इक्विटी डाइभर्सिफाइड फण्ड’को लागि स्वीकृति प्राप्त गरेको छ । यसको कोषको आकार रु ४.५ अर्ब नाघेको छ । यद्यपी धेरै फर्महरू हाल कोष स्वीकृतिको पर्खाइमै छन् । राष्ट्रिय कोष व्यवस्थापन कोष रु ७ अर्ब, एनआईबिएल एस क्यापिटलको रु. १० अर्ब, अल्फा प्लस भेन्चर्सको २ अर्ब, प्रभु क्यापिटलको ५० करोड, रिलायबल भेन्चर क्यापिटलको २ अर्ब र लक्ष्मी क्यापिटल मार्केटको १ अर्ब रुपैयाँ कोष संकलन गरिसकेका छन । यसबाहेक, नेपालमा धेरै मर्चेन्ट बैंकहरूले व्यवस्थापन गर्न समर्पित छुट्टै संस्थाहरू स्थापना गर्न पहल गरेका छन् । यो सूचीमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, लक्ष्मी क्यापिटल मार्केट, एनआईसी एशिया क्यापिटल, एनएमबि क्यापिटल र प्रभु क्यापिटल जस्ता प्रख्यात संस्थाहरू पर्छन् । नेपालमा पुँजीको स्रोत अभाव अत्यन्तै खड्किएको विषय हो । पुँजी अभावकै कारण कतिपय व्यवसाय सञ्चालन समेत हुन सकेका छैनन । त्यसकारण पीईभीसी कोष प्रबन्धक र बजारमा शुरु भइरहेका फण्डहरुले पुँजी अभावको ठुलो खाडल चिर्ने अपेक्षा गरिएको छ ।
आर्थिक विकासमा टेवा पुग्ने लक्ष्य
यस्ता कम्पनीहरुले सानो लगानीबाटै पनि धेरै रोजगारीका अवसरहरु सिर्जना गर्ने र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य पूरा गर्न सहयोग गर्ने बताईन्छ । अल्फा प्लस भेन्चर्स लिमिटेडका इन्भेष्टमेन्ट प्रमुख अविरल नेपाल भन्छन, ‘स्पष्ट रुपमा भन्दा पीईभीसी कोष प्रबन्धक वा लगानीकर्ताको दृष्टिकोणबाट हेर्दा यस्तो बजारमा लगानीको जोखिम प्रायः उच्च हुन्छ । त्यसैले पीईभीसी कोष लगानी निश्चित समयका लागि गरिन्छ ।’ यता नीतिगत असमानता, बजार अस्थिरता, राजनीतिक अस्थिरता, मुद्रा जोखिम र तरलताबाट उत्पन्न हुने समस्या हुने भएकाले पीईभीसीलाई नयाँ अवसर र लगानी प्रतिफल पाउन गाह्रो हुने सरोकारवालाहरु बताउँछन ।
संसारको अर्थतन्त्र र यसको विकासलाई नजिकबाट नियाल्दा पीईभीसी फन्डको भूमिका अत्यन्तै ठूलो र उल्लेखनीय मानिन्छ । यस्ता कम्पनी ठूलो पूँजी उपलब्ध गराउने संस्थाका रूपमा परिचित छन । पुँजी बजार विस्तार गर्न, घरेलु स्रोतसाधन परिचालन गर्न, निजी क्षेत्रमा लगानी हुन नसकेर सञ्चित भएको रकम नयाँ तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न यस्ता फण्डहरुले महत्वपूर्ण भुमिका खेल्दछन । यस्ता फण्डहरुले साना–साना स्टार्टअपहरुलाई पुँजी परिचालन गर्दै आर्थिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरु बताउँछन ।
प्रतिक्रिया