कुमारी बैंकको सिईओ भण्डारी भन्छनः क्यूआर भुक्तानीबाट देशको समग्र विकासमा ठूलो योगदान पुग्छ

कुमारी बैंकको सिईओ भण्डारी भन्छनः क्यूआर भुक्तानीबाट देशको समग्र विकासमा ठूलो योगदान पुग्छ


बैकिङ्ग समाचार । 
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्दर भण्डारीले क्यूआर जस्ता डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धनबाट देशको समग्र विकासमा नै ठूलो योगदान पुग्ने बताएका छन् ।

धादिङको गजुरी गाउँपालिकामा पर्ने मलेखु बजारमा शुक्रबार ‘डिजिटल मलेखु’ को सुरुवात एक कार्यक्रममा बोल्दै नेपालमा पनि क्यूआर पेमेन्ट बढ्दै जाँदा नगद कारोबार विस्थापित भई कुल ग्राहस्थ उत्पादनमा (जिडिपी) मा नगद रहित कारोबारको उल्लेखनीय वृद्धि हुन जाने भएकाले जिडिपीको ग्रोथले देशको समग्र विकासलाई पनि ठूलो योगदान दिने बताए ।

उनले भारतमा गरिएको एक अध्ययनले खुद्रा बजारमा नगद रहित कारोबार ७५ प्रतिशतले बढेको र क्यूआर मार्फत पेमेन्ट मार्फत हरेक ब्यापारीको बिजनेसको ट्रान्जाक्सन भोल्यूम २० प्रतिशतले बढेको तथ्याङ्क प्रस्तुत गर्दै नेपालमा पनि प्रविधिमा आएको द्रुत विकासले नगद रहित मोबाइल र इन्टरनेट बैंकबाट हुने कारोबारमा वृद्धि भैरहेको जानकारी दिए ।

\"\"हाल क्यूआर मार्फत हुने भुक्तानी बढ्दो क्रममा रहेको हुँदा नगद कारोबार पूणै रुपमा विस्थापित गर्दै लैजान कुमारी बैंकले डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिंदै जाने सीईओ भण्डारीले बताए ।

मलेखु बजारमा बैंकद्धारा प्रवद्धित क्यूआर कोड सुरुवात कार्यक्रम उद्घाटन गर्दै उनले सीमित क्षेत्रमा मात्र रहेको नगद रहित कारोबारलाई यस्ता कार्यक्रमबाट जनचेतनाको जागरण भई क्यूआर प्रणालीको विस्तारमा सघाउ पुग्ने बताए ।

बैंकले डिजिटल भुक्तानीको प्रयोग मार्फत नगद रहित कारोबार बढाउन क्यूआर भुक्तानीका लागि ८ हजारभन्दा बढी मर्चेन्टलाई क्यूआरमा समावेश गरिसकेको उनको भनाई छ ।

सीईओ भण्डारीले भने ‘मलेखु जोर्नीको एउटा ट्रान्जिट पोइन्ट र बस स्टप गर्ने प्वइन्ट भएकाले यहाँ हुने सबै कारोबारको भुक्तानी डिजिटल नै हुन जाँदा यो एरियाको टोटल इकोनोमीमा समेत यसले यस्तो कारोबारको उल्लेखनीय वृद्धि हुनेमा म विश्वस्त छु ।’

क्यूआरबाट गरिने भुक्तानी पूर्णतः सुरक्षित र भरपर्दो हुने, नगद बोक्नुपर्ने नपर्ने, नगद हराउने चोरी हुन सम्भावना नरहने तथा बैंक खाताबाट सिधै ट्रान्सफर गर्न मिल्ने हुँदा कारोबारमा पारदर्शिता र खुद्रा रकमको आवश्यक नपर्ने तथा नगद कारोबारका अन्य जोखिमबाट पनि मुक्ति मिल्ने जस्ता फाइदा हुने उनले बताए ।

क्यूआर भुक्तानीबाट कारोबार गर्दा सबै कारोबार बैंक खाता मार्फत हुने हुँदा ग्राहकको कति कारोबार भैरहेको छ, ब्यापारको आकार बैंकलाई थाहा हुने भएकाले बैंक मार्फत कर्जा लिँदा समेत अन्य थप कागजातको आवश्यकता नरहने भएकाले कर्जा लिनका लागि समेत डिजिटल भुक्तानी सहयोगी हुने उनको भनाई थियो ।

कार्यक्रममा क्यूआर प्रणालीको सेवा प्रदायक एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले काठमाण्डौं छिर्नुभन्दा मलेखुमा जे अनुभव लिन्छन् त्यहि अनुभव गर्न काठमाण्डौंमा अर्को वर्ष कुर्नुपर्ने अवस्था ल्याउन मलेखु बजारको कारोबारलाई डिजिटलाइज्ड गर्न खोजिएको बताए । त्यस कारण पनि काठमाण्डौंभन्दा पहिला मलेखु पूर्ण विद्युतीय भुक्तानी प्रणालीमा अगाडि लैजान आवश्यक रहेको उनले बताए ।

एफवान सफ्टका अध्यक्ष ढकालले क्यूआर भुक्तानीलाई विस्तार गर्न आगामी महिनाभित्र विभिन्न क्याम्पियन, अफर र लक्की ड्र को समेत विकास गरिने जानकारी र्दि । उनले फोन पे ले क्यूआर मर्चेन्ट बनेर विभिन्न बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनका साथै मोबाइल वालेट मार्फत निशुल्क रुपमा भुक्तानी हुने व्यवस्था मिलाएको उल्लेख गर्दै कारोबारमा कुनै समस्या आएदा २४ सै घण्टा बैंक र फोनपे मिलेर सेवा दिन तयार रहेको बताए ।

कार्यक्रम अन्तर्गत कुमारी बैंकले बजारका १०० बढी बिक्रेताहरुलाई निःशुल्क क्यू आर कोड वितरण गरिएको छ । क्यूआरको सुरुवातसँगै कारोबारमा खुद्रा पैसाको झन्झट नहुने, क्यूआर भुक्तानीका लागि निशुल्क वाइफाईको व्यवस्था समेत गरिएकाले जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा क्यू आर कोडबाट कारोबार निकै सरल र सुरक्षित हुनेछ ।

प्रविधिमा आएको द्रुत विकासका साथै सरकारको नीति र लक्ष्य अनुरुप नेपालमा पनि बैंकिङ्ग कारोबारका लागि नयाँ नयाँ प्रविधिको विकास र कार्यान्वयन भैरहेको छ । जसले बैंकिङ्ग कारोबारमा मोबाइल मार्फत इन्टरनेटको माध्यमबाट कारोबार गर्ने संख्या बढ्दो क्रममा रहेको छ ।

\"\"