काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को आन्तरिकतर्फको आगमनलाई व्यवस्थित बनाउन नयाँ टर्मिनल भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबारदेखि प्रतिघन्टा चार सय यात्रु ह्यान्डल गर्न सकिने क्षमताको अराइभल टर्मिनल सञ्चालनमा ल्याएको हो ।
यसअघि आन्तरिकतर्फ प्रस्थान र आगमन एउटै भवनमा भएका कारण यात्रुलाई असहज भएको थियो। आन्तरिक यात्रुहरूको आगमन र प्रस्थानका लागि छुट्टाछुट्टै टर्मिनल भवन निर्माण भएसँगै सहज हुने भएको छ। यात्रुको सेवालाई पहिलो प्रथमिकतामा राखेर नयाँ टर्मिनल भवन बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन्।
६ करोड ४० लाख लागतमा चार सयजना क्षमताको नयाँ टर्मिनल भवन बनाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अराइभल टर्मिनल भवन २०७९ जेठमा निर्माण सुरु गरिएको थियो ।
अहिलेसम्म टिआइएको आन्तरिक सेवातर्फ डिपार्चर टर्मिनल मात्र थियो । अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्ट मात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो ।
प्रतिक्रिया