५ बीमा कम्पनी सिइओ बिहीन, एक महिना भित्र नियुक्ती गर्न समितिको निर्देशन 

५ बीमा कम्पनी सिइओ बिहीन, एक महिना भित्र नियुक्ती गर्न समितिको निर्देशन 


बैकिङ्ग समाचार, काठमाडौं । 

सञ्चालनमा रहेका ५ वटा बीमा कम्पनी नेतृत्व बिहीन भएपछि बीमा समितिले  एक महिना भित्र प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न निर्देशन दिएको छ ।

५ वटा बीमा कम्पनीले समयमा नै प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त नगरेपछि बीमा समितिले ती कम्पनीहरुलाई एक महिना भित्रै सिइओ नियुक्ती गर्न निर्देशन दिएको हो । अहिले सूर्या लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स नेतृत्व बिहीन बनेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभाले सन्तोष प्रसाइलाई सिइओमा नियुक्त गरेपनि बीमा समितिसँग अनुमति नलिएका कारण समितिले त्यसलाई मान्यता दिएको छैन ।

समितिका अनुसार ५ वटा बीमा कम्पनीलाई गत साता नै सिइओ नियुक्त गर्न निर्देशन दिइएको छ । नेपाल लाइफ इन्स्योरेन्सले सिइओ नियुक्ती गरेको भनेपनि समितिबाट अनुमति लिएको छैन् । समितिबाट स्वीकृती नलिएका कारण तत्काल सिइओ नियुक्ती गर्न निर्देशन दिएको समितिले जनाएको छ । 

प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिहिन भएका बिमा कम्पनीहरु 

सूर्या लाइफ इन्स्योरेन्स 

यूनाइटेड इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्स

जनरल इन्स्योरेन्स 

नेपाल लाइफ इन्स्योरेन्स 
अहिले नेपाल लाइफ बाहेकका ४ वटा कम्पनीले कार्यवाहक सिइओको भरमा काम गरिरहेका छन् । बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७५ मा अनुसार कम्पनी चलेका छैनन् ।

नेपाल लाइफले यसअघिका सिइओ विबेक झाले छोडेपछि समितिको अनुमति नै नलिई तत्कालिन डेपुटी सिइओ सन्तोष प्रसाइलाई कार्यवाहक हुँदै पूर्ण सिइओ बनाएपछि समितिले स्पष्टिकरण सोधेको हो ।

सूर्या लाइफ इन्स्योरेन्समा पनि सिइओ छैनन् । तत्कालिन सिइओ शिवनाथ पाण्डेले राजीनामा दिएपछि डेपुटी सिइओ पवनकुमार खड्कालाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको छ । नयाँ सिइओ नियुक्तीमा भने कम्पनीले ध्यान दिएको छैन ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्समा पनि अहिले सिइओ नियुक्त गरिएको छैन । कम्पनी अहिलेपनि कार्यवाहक सिइओ सुरेश प्रकाश खत्रीको भरमा कम्पनी चलाइरहेको छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स पनि निमित्तको भरमा चलेको छ । तत्कालीन महाप्रबन्धक एसके तमोटले राजीनामा दिएपछि सिइओ नियुक्त गर्न सकेको छैन । अहिले कम्पनीले विनेस मास्केलाई कार्यवाहक महाप्रबन्धकको जिम्मेवारी दिएको छ । तर महाप्रवबन्धक नियुक्त गर्न सकेको छैन ।

जनरल मात्रै होइन युनाइटेड इन्स्योरेन्स पनि अहिले कार्यबाहकको भरमा न चलेको छ । तत्कालिन सिइओ शेखर बरालले राजीनामा दिएपछि कम्पनी २ वर्ष कार्यवाहकको भरमा चलेको थियो । त्यो बेला २ वर्ष रमेश भट्टराईलाई कार्यबाहकको जिम्मेवारी दिएको थियो । अहिले फेरी उपासना पौडेललाई कार्यवाहकको जिम्मेवारी दिइएको छ । साढे दुई वर्ष भन्दा बढी हुन लागिसक्यो कम्पनी कार्यवाहकको भरमा चलेको छ । अहिले पनि कम्पनी कार्यवाहकको भरमा नै चलेको छ ।

किन कार्यवाहकको भरमा मात्रै चल्छन कम्पनी ?

एक कम्पनीका अधिकारीका अनुसार बीमा कम्पनीहरुले खर्च बचाउनको लागि भन्दै सिइओ नियुक्त नगरेका हुन । अहिले कम्पनीहरुलाई किन सिइओ नियुक्त नगरेको भनेर सोध्ने हो भने दक्ष, योग्य सिइओ नपाएको भन्ने तर्क गर्ने गरेका छन् ।

ती अधिकारीका अनुसार अहिले कम्पनीहरुले दक्ष सिइओ नपाउनु भन्दा पनि ‘एस म्यान’ नपाउने र खर्च कटौती गर्नको लागि नै सिइओ नियुक्त नगरेका हुन । यता कम्पनीमा जो कम उमेरमा डेपुटी रहेका हुन्छन, उनीहरु पनि सिइओ बन्न तयार नहुने देखिएका छन् । कम्पनीको सिइओ बन्दा दुई कार्यकाल भन्दा बस्न नपाइने भएकाले पनि डेपुटी भन्दा माथी जान नचाहने गरेको देखिएको छ । यस्तै कम्पनीहरुले खर्च कटौती गर्न पनि सिइओ नियुक्तीमा आनाकानी गरिरहेका छन् ।

कम्पनीहरुले खर्च घटाउने नाममा निमित्तको भरमा कम्पनी चलाउँदा कम्पनीको संस्थागत शुसानमा प्रश्न समेत उठने गरेको छ । कम्पनीहरुले तत्काल सिइओ नियुक्त नगर्ने हो भने समितिले एक्सन लिने समेत तयारीमा लागेको बुझिएको छ ।