गण्डकी – ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घर । गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएका छन् । वरपर देखिने दृश्यले पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नाशा गाउँ आउने सबैको मनलाई लोभ्याउँछ ।
रमणीय परिवेश भएर पनि विडम्बना नै भन्नुपर्छ यहाँका अधिकांश घर खाली छन् । विगतमा मानिसले भरिभराउ हुने गरेका २६/२७ घरमध्ये हाल नौ/दश घरमा मात्रै मानिसको बसोबास छ । तीन दशकअघिसम्म गाउँमा राम्रै चहलपहल थियो । त्यसयता भने एकपछि अर्को गर्दै बसाइँ सर्नेक्रम बढेसँगै गाउँ रित्तिएको छ । सुन्दर गाउँको मौलिकता जोगाउँदै यसको पर्यटकीय उपयोगका लागि केही स्थानीयले सक्रियता देखाउँदै २०७६ सालदेखि रिञ्जे नाशा होमस्टे सञ्चालनमा ल्याएका छन् ।
रञ्जित गाउँकारुपमा समेत चर्चित यो गाउँ मानिसविहीन बन्दै गएपछि स्थानीयवासीको पुनरागमन होस् भन्ने उद्देश्यका साथ घरबास सञ्चालन गरिएको रिञ्जेनाशा होमस्टेका अध्यक्ष शमशेरबहादुर गुरुङले बताए । ‘सुन्दर मौलिकताले भरिएको गाउँ भएर पनि बढ्दो बसाइँसराइको चपेटामा परेको छ’, उनले भने, ‘धेरै पर्यटकीय सम्भावना रहेकाले पर्यटकीयरुपमा यसको प्रवर्द्धन तथा विकासका लागि होमस्टे सञ्चालनमा ल्याएका हौँ ।’पोखराको पृथ्वीचोकबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो गाउँ कालीलेकको काखमा छ । गाउँबाट देखिने पूर्वपश्चिमतर्फको मनोरम गाउँबस्तीका साथै दक्षिणतर्फ देखिने पोखराको मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गरेका छन्।
गाउँबाट उत्तरतर्फ मुलकोट भूमि मन्दिरका साथै पार्के तथा नाँगी डाँडा पुगिसकेपछि देखिने माछापुच्छ्रे धौलागिरी, अन्नपूर्णलगायतका हिमाली दृश्य अवर्णनीय भएको गुरुङले बताए। उनका अनुसार गाउँबाट मुलकोटमा पुग्न करिब एक घण्टा ३० मिनेट समय लाग्दछ । त्यस्तै नागी डाँडा पुग्न तीन घण्टा लाग्दछ । यी ठाउँमा पुगिसकेपछि जोकोहीले हिँड्दा लागेको थकानलाई बिर्सने गरेको उनले बताइन् । गाउँबाट पूर्व उत्तरमा रहेको नौधारे सिद्ध बराह मन्दिर यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य रहेको गुरुङले जानकारी दिए।
मनले चिताएको पुग्ने धार्मिकस्थलका रुपमा स्थानीयले परापूर्वकालदेखि यस मन्दिरमा पूजाआजा गर्दै आएको स्थानीय युवा सन्दीप गुरुङले बताए। उनका अनुसार प्रत्येक वर्षको माघे सङक्रान्तिमा यहाँ मेला लाग्ने गर्दछ । पछिल्ला समयमा गाउँ खाली भएका जग्गामा स्थानीयले बाहिरै बसेर भए पनि कफी खेती गरिरहेको उनले जानकारी दिए ।
‘बसाइँसराइका कारण सुनसान बनेका बस्तीमा आगामी दिनमा स्थानीयको पुनरागमन हुने आशा छ’, सन्दीपले भने, ‘बाँझिएका जग्गालाई पनि उत्पादनमूलक बनाउनुका साथै होमस्टेको विकासमा माध्यमबाट आयआर्जनका विकल्प तयार गर्न सकेमा पूर्ववत् रुपमा गाउँ भरिने विश्वास छ ।’
प्राकृतिक एवं सांस्कृतिक सम्पदाको पर्यटकीय उपयोग हुनसकेमा गाउँमा आयआर्जनसमेत बढाउन सकिने स्थानीयवासी बताउँछन् । नौधारो सिद्ध बराहस्थित नौ वटा पहराबाट जस्तोसुकै खडेरीका समयमा पनि बाह्रै महिना पानी आउने गर्दछ । यहाँ माघेसङ्क्रान्तिमा लाग्ने मेला भर्नका लागि आसपासका स्थानबाट सर्वसाधारण आउने गरेका छन् ।
मन्दिरको नजिकै रहेको सुन्दर झरना, मौरी भिर, कलकल बग्ने खोलासँगै चराचुरुङ्गीको चिरविराहटले जो कोहीलाई लोभ्याउने गरेको छ । मौरी भिरमा म्याग्दीदेखि आएर मह काड्ने गरेको होमस्टेका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार होमस्टेमा आउने पाहुनाका लागि प्रतिव्यक्ति एक हजार दुई सयको प्याकेज निर्धारण गरिएको छ । उक्त प्याकेजमा बेलुका साँझ पुगेका पाहुनालाई गाउँकै उत्पादन मकै, चियाका साथै स्थानीय रक्सी स्वागतार्थ दिने गरिन्छ । बेलुका र बिहानको खानासँगै बिहानको नास्तासमेत प्याकेजअन्तर्गत पर्ने र त्यसका अतिरिक्त सुविधा लिन चाहेमा थप शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
करिब २५ वर्षअघिसम्म गाउँमा अधिकांश घर भरिएकामा पछि विस्तारै त्यहाँबाट सहरमुखी बन्दै जाँदा २०७४/७५ सालतिर अधिकांशः खाली भएपछि गाउँमा नै केही गरी स्थानीयलाई पुनरागमन गराउने सोचसँगै २०७५ सालदेखि घरबास कार्यक्रम सुरु गरिएको अध्यक्ष गुरुङले बताए ।
यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्न स्थानीयवासीका साथै विभिन्न सङ्घसंस्थाले पनि चासो देखाएका छन् । प्रेस क्लब गण्डकीले हालै यहाँको प्रवर्द्धनलाई जोड दिँदै रिञ्जे नाशामा पुगी दोस्रो वार्षिक साधारणसभासहित आन्तरिक पर्यटन प्रवर्द्धनमा होमस्टे र सञ्चारकर्मीको भूमिका विषय अन्तरक्रिया सम्पन्न गरेको छ ।
पर्यटकीय सम्भावनायुक्त स्थानको प्रवर्द्धन गर्दै पर्यटकीय विकासका माध्यमबाट त्यहाँका स्थानीयको आयआर्जनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ क्लबले यस्ता गाउँहरू र सञ्चालित घरबासको प्रवद्र्धनमा जोड दिएको प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले बताए। ‘सुन्दर गाउँबस्तीविहीन बन्दै जानु देशका लागि ठूलो चुनौती हो’, उनले भने, ‘गाउँका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई पर्यटकीयरुपमा उपयोग गर्नका लागि स्थानीयको जागरुकतासँगै प्रवर्द्धनको आवश्यकता पर्दछ ।’
प्रतिक्रिया