जनवरीभित्र दुईवटा जहाज थप्ने तयारीमा यती एयरलाइन्स

जनवरीभित्र दुईवटा जहाज थप्ने तयारीमा यती एयरलाइन्स


काठमाडौं– यती एयरलाइन्सले दुईवटा एटीआर जहाज थप्ने भएको छ । एयरलाइन्सले एउटा एटीआर जहाज यसै साताभित्र भित्र्याउन लागेको हो । अर्काे जहाज भने जनवरीभित्र ल्याइने जनाएको छ । यतीले अहिले उडाइरहेको जस्तै ७२–५०० सिरिज जहाज ल्याउन लागेको हो । दुई वटा जहाजका लागि करिव अर्ब लगानी भएको एयरलाइन्सले जनाएको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिले ल्याउन लागेको जहाज बंगलादेशको नोभा एयरसँग खरीद गरिएको जानकारी दिए । उनले भने, ‘अहिले ल्याउन लागेकाे जहाज उडान गरिरहेको जहाज हो । हामीले दुईवटा एटीआर भित्र्याउन लागेका हौं । जसमा एउटा यहीँ साता भित्रिन्छ, भने अर्काे दुईसाताभित्रमा आइपुग्छ । हामीले हाम्रो तर्फबाट कागजातको काम सकिसकेका छौँ । अब बंगलादेशको तर्फबाट केही प्रक्रिया बाँकी छ ।’

उनका अनुसार आन्तरिक उडानबाट अन्तर्राष्ट्रिय उडानमा जान लागेकाले एटीआर बेचेको हो । उनले अब दुई वटा जहाज थपेसँगै यतिसँग सात वटा जहाज हुने हुँदा सेवा सहज हुने बताएका छन्। उनले जहाज ल्याएपछि रंगरोघन, प्राविधिक चेकजाँच गरेर एक महिनाभित्र उडाउने तयारी यति एयरले गरेको बताएका छन् ।

गत बर्ष पोखरामा एउटा एटीआर जहाज दुर्घटना भई ठूलो जनधनको क्षति हुनुका साथै एयरलाइन्सलाई समेत ठूलो धक्का लागेको थियो । जहाजहरु थपेपछि सुर्खेत, धनगढीलगायतका गन्तव्यमा उडानका लागि अध्ययन गर्ने बर्तौलाले बताए ।२०७९ भदौ २० गते छैटौं एटीआर ७२–५०० विमान थप गरेको थियो । ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याइएको हो ।