सुपर त्रिशुलीमा इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ७ बैंकले १२ अर्ब लगानी गर्ने

सुपर त्रिशुलीमा इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ७ बैंकले १२ अर्ब लगानी गर्ने


बैकिङ्ग समाचार । 
सुपर त्रिशूली जलविद्युत आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाईमा ७ वटा बैंकहरुले १२ अर्ब १८ करोड ४९ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन ।

उक्त आयोजनामा नेपाल इन्भेष्टमेन्टको अगुवाईमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले ऋण लगानी गर्दैछन् ।

आयोजनाको ऋण सम्झौतामा सराफ समूहका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनीधिहरुबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो ।

ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको आयोजना बनाउन १६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । आयोजनामा प्रवद्र्धक कम्पनीले २५ प्रतिशत अर्थात ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ स्वपुँजी लगानी गर्नेछ ।

स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेका एक सय मेगावाटभन्दा माथिका कम आयोजनामध्ये निजी क्षेत्रबाट प्रवद्र्धित सुपर त्रिशूली पनि एक ठूलो आयोजना हो । यसअघि १६० मेगावाटको निजी क्षेत्र प्रवद्र्धित एक आयोजनाले हालै लगानी जुटाएको थियो ।

आयोजना गोरखा र चितवनको दोसाधस्थित त्रिशूली नदीमा छ । आयोजना निर्माणका लागि सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । सन् २०२१ को नोभेम्बरसम्ममा मुख्य निर्माणको कार्य सुरु गरिने र चार बर्षभित्र पूरा गरिने लक्ष्य राखिएको छ । आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसककेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् मार्किचोक सबस्टेसनमा जोडिनेछ । कम्पनीका अनुसार, सबस्टेसनसम्म आवश्यक १८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्मण गरी सवस्टेनमा जोडिनेछ ।

आयोजनाका अनुसार, ४९८ गिगावाट आवर बार्षिक विद्युत उत्पादन गर्ने आयोजनाबाट ७० प्रतिशत वर्षा र ३० प्रतिशत हिउँदमा उत्पादन हुनेछ ।