बीमा समाचार

‘पोलिसी होल्डर प्रोटेक्सन फन्ड’ को खाका तयार गर्दै बीमा प्राधिकरण

‘पोलिसी होल्डर प्रोटेक्सन फन्ड’ को खाका तयार गर्दै बीमा प्राधिकरण


काठमाडौ-नेपाल बीमा प्राधिकरणको निर्देशक पुजन ढुंगेल अधिकारीले ‘पोलिसी होल्डर प्रोटेक्सन फन्ड’ को खाका तयार भइरहेको बताएकी छिन् । बैंकिङ्ग समाचारले सञ्चालन गर्ने ‘इस्योरेन्स इन्साइट्स’ विशेष कार्यक्रमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले २०७९ को ऐनमा पनि ‘पोलिसी होल्डर प्रोटेक्सन फन्ड’ हुने कुरा समावेश भएको र यस कार्यको प्राधिकरणमा खाका तयार भइरहेको बताएकी हुन । बहसमा बोल्दै उनले भनिन, ‘ऐन आयो तर त्यसलाई नियमन र व्याख्या गर्ने नियम आएको छैन । नियम बिना हामीले यस कार्यलाई अगाडि बढाउन मिल्दैन । विधमान नियमावली २०४९ को धारामा यस्तो व्यवस्था अझैसम्म पनि समावेश गरिएको छैन । तर अर्थमन्त्रालयमा भने हामीले यो योजना पेश गरिसकेका छौँ ।’

उनले २०२४ सम्म उक्त फन्ड कार्यन्वयनमा आइसक्ने र नेपाल सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भनिन, ‘लामो समयदेखि बीमितले नलिएको दाबी भुक्तानीको रकम, विभिन्न कारणले पाउनुपर्ने हुन्छ । तर त्यो रकम कसको हो भन्ने थाहा हुँदैन । सोही कारण प्राधिकरणकै फन्डबाट केही पैसा राखेर ‘पोलिसी होल्डर प्रोटेक्सन फन्ड’ बनाउने योजना प्राधिकरणको हो । यो छिटो शुरु गर्न हामीहरु तयार छौँ ।’ फण्डको मोडालिटीको कुरा गर्दै उनले भनिन, ‘यो योजनाको खाका तिब्र गतिमा तयार भइरहेको यसको मोडालिटी कस्तो हुन्छ भनेर अहिले ठ्याक्कै भन्न सकिँदैन ।’ तर ‘पोलिसी होल्डर प्रोटेक्सन फन्ड’ योजनामा मात्रै सीमित नरहने उनको दाबी छ ।

बीमितहरूको हित संरक्षणका लागि दोस्रो रणनिति योजना २०२३ देखि २०२७ अवधिको बीमा प्राधिकरणले तय गरेको योजनामा ‘पोलिसी होल्डर प्रोटेक्सन फन्ड’ बनाउने योजना पनि समावेश छ । लामो समयदेखि दाबी नगरिएको रकम र मुद्दाका कारण भुक्तनी नगरिएका दाबीहरू यस कोषमा समाहित हुने निर्देशक ढुंगेल बताउँछिन । बीमा प्राधिकरणले ‘पोलिसी होल्डर प्रोटेक्सन फन्ड’ कोषको स्थापना र सञ्चालनका लागि आवश्यक ढाँचा सिफारिस गर्न प्राधिकरणका कार्यकारी निर्देशक राजुरमन पौडेलको संयोजकत्वमा अध्ययन समिति पनि तय गरेको थियो । समितिमा प्राधिकरणका निर्देशकहरु दिनेशलाल कर्ण, पुजन ढुंगेल अधिकारी, सुशील देव सुवेदी लगायत बीमा व्यवसायीहरु पनि रहेका छन ।

नेपाल बीमा नियामक निकाय बीमा प्राधिकरणले पहिलो पाँच वर्षे रणनीतिक योजनाहरू समापन गरेसँगै बीमितहरूको हित संरक्षणका लागि दोस्रो रणनिति योजना २०२३ देखि २०२७ अवधिको लागि योजना बनाएको थियो । बीमा क्षेत्रलाई अत्यन्तै प्रतिशपर्धी र पारदर्शी बनाउन, प्रतिस्पर्धी बीमा उद्योगको विकास गर्न, विश्वसनीय बीमा निर्माण गर्न, बीमा क्षेत्रलाई प्रभावकारी रुपमा नियमन र सर्वेक्षेण गर्न र यसका लागि आवश्यक आधार निर्माण गर्न दोस्रो रणनिति योजना ल्याइएको बीमा प्राधिकरण बताउँछ । यसमा बीमा क्षेत्रको हितको संरक्षण र यसको कार्ययोजना सहित आठ रणनिति स्तम्भहरू समावेश छन ।
१) बीमा क्षेत्र विकास
२) जोखिम आधारित दृष्टिकोण र समाधान अप्नाउने
३) नियामक क्षमता सुदृढीकरण
४) जवाफदेहिता र पारदर्शिता बढाउनु
५) बीमा पहुँच र समावेशीता
६) बीमा क्षेत्रमा सार्वजनिक चासो वृद्धि गर्न
७) मानव संसाधन विकास र पूर्वाधार विकास
८) राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध सुदृढ गर्ने
बीमा प्राधिकरणले दोस्रो रणनितिक योजनामा समावेश गरिएका विभिन्न उद्देश्यहरूमध्य ‘पोलिसी होल्डर प्रोटेक्सन फन्ड’ सन् २०२४ सम्म कार्यान्वयनमा ल्याउने उल्लेख गरेको छ ।