अन्तर्वार्ता

‘टर्मस् एण्ड कन्डिसन’ नबुझ्दा दाबी भुक्तानीमा समस्या’

‘टर्मस् एण्ड कन्डिसन’ नबुझ्दा दाबी भुक्तानीमा समस्या’


निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरेकै कारणले अन्य बीमाको तुलनामा मोटर बीमाको व्यवसाय धेरै हुँदै आएको देखिन्छ । तर अझै पनि मोटर बीमा सम्बन्धी पूर्ण जानकारी नहुदाँ विभिन्न अपवादहरू आइरहेको पाइन्छ मोटर बीमा के हो, कस्तो अवस्थामा यो अत्यन्तै महत्वपूर्ण छ र किन बीमा दाबी भुक्तानीमा ढिलाई भैरहेको छ, यस्तैः यथावत बीमासँग सम्बन्धित समस्या र चुनौतीहरुलाई समावेश गर्दै बैंकिङ्ग समाचारको तर्फबाट नमुना के सीले शिखर इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सविता मास्केसँग गरेको कुराकानीः
पुरा भिडियो



मोटर बीमा के हो ? यसको प्रक्रिया कस्तो छ ?

बीमा त्यति प्रचलनमा नहुदाँ पनि मोटर बीमा अरु बीमाको तुलनामा बढी प्रचलनमा भएको बीमा हो । जति बढि सवारी साधन बढ्छन त्यति नै दुर्घटनाहरू भएको पाइन्छ । दुर्घटनाहरू हुने क्रममा भएको क्षतिलाई निवारण गर्नलाई मोटर बीमा विकास भएको हो ।

कस्तो अवस्थामा बीमालेखले जोखिम उठाउँछ ?
सडकमा गुड्ने हरेक किसिमको सवारी साधनको बीमा गरिने व्यवस्था छ । ब्यापक बीमा र तेस्रो पक्ष बीमा छ जुन सरकारले पनि अनिवार्य गरेको छ । र प्लास्टिक बाट बनेको साधनको बीमा हुँदैन भन्ने बुझाई छ । प्लास्टिकको पार्टको बीमा नहुने भन्ने पनि हुँदैन तर यसको क्षति अर्थात ह्रासकट्टी बढी भयो भनेर बजारमा नयाँ बीमा विकसित भएको छ । त्यसमा ह्रासकट्टी लाई कभर गर्ने गरि बीमा गर्न सकिने प्रावधानहरू पनि छन ।


शिखर इन्स्योरेन्सले मोटर बीमाको लागि के कस्तो पोलिसी निमार्ण गरेको छ ?

बीमा प्राधिकरणबाट जारी गरिएको मोटर बीमा निर्देशिका शिखरले मात्र नभएर सबै बिमा कम्पनीले लागू गरेका छन । मोटर बीमामा उल्लेख गरिएको पोलिसी र बेला–बेला प्राधिकरणले दिएको निर्देशन पालन गरेर बीमा कम्पनीले काम गर्छ । शिखरले बीमकलाई फाईदा हुने गरि सवारीसाधनमा अतिरिक्त लाभ भनेर नीति पनि बनाएको छ जुन बीमा प्राधिकरणबाट स्वीकृती लिएर गरेको छ ।

बीमा कम्पनीहरुले बीमा गर्न प्रोत्साहन त गर्छन तर दाबी भुक्तानीको क्रममा बाहना बनाउँछन भन्ने आरोप छ नि ?

कम्पनीले भुक्तानी दिदैँन भन्ने आरोप छ तर तिर्दै तिर्दैनौँ भन्ने कुरा गलत हो । डाटा उपलब्ध हुन्छ । कति भुक्तानी गरियो भन्ने कुराको पनि मल्याङ्कन हुनुपर्छ । कोरोना बीमामा सरकार जोडिएको छ त्यसको कुरा छुट्टै हो । तर मोटर बीमाको दाबी तिरेका हुन्छ । बीमकहरुले बीमा गर्दा सबै ‘टर्म एण्ड कन्डिसन’ हेर्नुपर्ने हुन्छ । प्रिमियम समयमा भुक्तानी गर्दा समस्या आउँदैन । बीमा गर्दा सबै नीति बुझ्नुपर्छ, त्यसो गर्दा दाबी भुक्तानीमा सहजता आउँछ ।

बीमा कम्पनीहरुले सरकारले बुझेन भन्छन तर बीमाको दायरा नबढेको देख्दा कम्पनीले नै बीमालाई हलुका रुपमा लिएको जस्तो देखिन्छ नी ?

बीमा कम्पनीको व्यवसाय नै बीमा गर्नु हो । कम्पनीले बीमा दायरा बढाउन सक्दो गरेकै हुन्छ । बीमा प्राधिकरणले सचेतना कार्यक्रम गरिरहेकै छ । शिखर इन्स्योरेन्सले पनि बीमाको दायरा विस्तारको लागि विभिन्न पहल गरिरहेकै छ । तर ग्राहकहरूले पनि बीमा बझ्न जागरुक भएमा सजिलो हुन्छ । सरकारले पनि तेश्रो पक्ष बीमालाई अनिवार्य गरे सँगै सरकारले पनि आफ्नो दायित्व निभाइरहेको जस्तो देखिन्छ ।

बीमाको साक्षरता बढाउन ग्रामीण भेगमा गएर विभिन्न कार्यक्रम गर्नाले मात्र यसको दायरा बढ्छ ?

सचेतना कार्यक्रमले बीमाको दायरा बढ्छ । ग्रामीण भेगमा पहिलो प्राथमिकता गास, बास, कपास हुन्छ । त्यसपछि मात्र बीमा गरिन्छ । केही वर्ष अगाडिको तुलनामा हेर्दा अहिले धेरै सुधार भैसकेको छ । अहिले पशु बीमा, कृषि बीमा, लघुबीमा जसले ग्रामीण भेगलाई समेट्न मद्दत पुग्दै छ ।

विश्वको बीमा क्षेत्रलाई हेर्ने हो भने मानिसको हरेक क्रियाकलापको इन्योरेन्स हुन्छ यो विषयमा नेपालका बीमा कम्पनीहरू चुकेका हुन् ?

सबैकुरा विदेशसँग तुलना गरेर सम्भव नि छैन । हामीले बीमालाई विकसित गर्ने कोसिस गरिरहेका छौँ। पहिला भन्दा धेरै विकसित भैसकेको छ । नयाँ–नयाँ प्रोडक्ट पनि आइसकेको छ । शिखर इन्स्योरेन्सले जुम्लाको स्याउको बीमा गर्न सकिने मौसम बीमा सूचक ल्याएको छ । यस्तो किसिमको विभिन्न प्रोडक्ट ल्याउन बीमा कम्पनीहरू पहल गरिरहेका छन । विदेशसँग तुलना गर्नुभन्दा यहाँ कसले कुन प्रिमियमले बीमा गरेको छ, त्यो मुल्याङ्कन गर्नुपर्छ । बीमा शुल्क पनि कम छ ।

बीमा कम्पनीले नाफा मात्र हेरेर व्यवसाय गरिरहेको हो ?

बीमा कम्पनीले केही मात्रामा नाफा पनि हेर्नुपर्छ । बीमा कम्पनीहरूमा विभिन्न व्यक्ती तथा संस्थाहरुको लगानी हुन्छ । लगानीको रिर्टन खोज्नु स्वभाविक हो । ग्राहकलाई सुविधा दिने, सरकारलाई राजस्व दिने, कर तिर्ने, सबैले बीमाले दायित्व निभाएका छन । यसो हो भने मुगु, डोल्पा जाजरकोट जस्तो दुर्गम ठाउँमा शाखा खोल्ने थिएनौं । तर बीमा कम्पनीले फाईदा मात्रै हेर्छ भन्नु गलत हो ।

गत भदौमा बैंकिङ्ग समाचारले इन्स्योरेन्स डिस्कोर्सको आयोजना गरेको थियो । त्यहाँ धेरैजसो बीमा दाबी भुक्तानीमा समस्या भएको कुरा उठ्यो, यसमा तपाई के भन्नुहुन्छ ?

दाबी भुक्तानी हुन्छ र भइरहेको छ भन्ने कुरा डाटाहरुमै प्रष्ट छ । बीमकहरुमा यो भ्रम छ कि, बीमा गर्दैमा बीमा कम्पनीले सबै जोखिम कभर गरिदिन्छ । बीमा क्षेत्रमा विविध अपवाद पनि हुन्छन, जुन बीमकले बुझ्न जरुरी छ । बीमा कम्पनीले ढिलो दाबी भुक्तानी दिँदा कम्पनीलाई फाइदा हुन्छ भन्ने बुझाइ थियो । त्यो बुझाई गलत हो । तर अहिले भने जति छिटो दाबी भुक्तानी गर्यो त्यती नै जनताको विश्वास बढ्छ भन्ने धारणा बनिसकेको छ ।