बैंकिङ्ग समाचार, काठमाडौं– अर्थमन्त्रालयले आर्थिक वर्ष २०७९/८० को सुरुदेखि देखिएको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ । आर्थिक वर्ष २०७९।८० को सुरुदेखि बाह्य क्षेत्र स्थायित्व कायम गर्न लिइएका वित्त तथा मौद्रिक नीतिको अवलम्बनले गर्दा हाल बाह्य क्षेत्रमा सुधार आई शोधनान्तर स्थिति बचतमा र विदेशी विनिमय सञ्चिति बढ्दै गएको मन्त्रालयले बताएको छ ।
वित्त तथा मौद्रिक नीतिको समीक्षा गरी अर्थतन्त्रको पुनरुत्थानका लागि सुधारका कदमहरू चालिएको, सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न सरकारी कार्यसञ्चालन खर्चमा उल्लेख्य रूपमा कटौती गरिएको र पुँजीगत खर्च बढाउन विकास आयोजनाहरूलाई छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण र प्रभावकारी अनुगमन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले निजी क्षेत्रको आत्मविश्वास बढाइ सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुदृढ बनाउन जोड दिएको बताएको छ। वित्तीय क्षेत्रको स्थायित्व कायम भएको र लगानीको वातावरणमा सकारात्मक सुधार आएको मन्त्रालयले एक वर्षको प्रगति विवरणमा उल्लेख गरेको छ । व्यावसायिक वातावरणको लागि सुधारका क्षेत्रहरू पहिचान गरी कार्य अघि बढाइएको दाबी मन्त्रालयले गरेकाे छ।
अर्थमन्त्रालयकाे बागडाेर ९ महिनादेखि डा प्रकाशशरण महतले सम्हालिरहेका छन् । २०७९ पुस १० गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगकाे गठबन्धन टुटी कांग्रेससहितकाे गठबन्धन बनेपछिसाेही वर्ष चैत १७ गते महतलालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।
यस्ताे छ मन्त्रालयकाे एक वर्षकाे प्रगति विवरण
अर्थतन्त्रको सुधार | सरकारले कार्य प्रारम्भ गर्दा अर्थतन्त्रका विभिन्न क्षेत्रमा दबाब रहेकोमा वित्तीय तथा मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन, निजी क्षेत्रसँग गरिएका सघन संवाद तथा अन्तर्क्रिया र विभिन्न चरणमा गरिएका निरन्तर प्रयासबाट अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन¸ उच्च ब्याजदर¸ विदेशी मुद्राको सञ्चितिमा परेको चाप¸ पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोले समष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएका।निजी क्षेत्रको आत्मविश्वास बढाई सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुदृढ बनाउन जोड दिइएको। वित्तीय क्षेत्रको स्थायित्व कायम भएको र लगानीको वातावरणमा सकारात्मक सुधार आएको। लामो समयसम्म सम्पन्न हुन नसकेको उद्योग वाणिज्य संवाद परिषद्को बैठक सम्पन्न भएको। व्यावसायिक वातावरण प्रवर्द्धन समन्वय समितिको बैठक बसी व्यावसायिक वातावरणको लागि सुधारका क्षेत्रहरू पहिचान गरी कार्य अघि बढाइएको। वित्त तथा मौद्रिक नीतिको समीक्षा गरी अर्थतन्त्रको पुनरुत्थानका लागि सुधारका कदमहरू चालिएको।राजस्व प्रशासनलाई चुस्त बनाई तथा सबै किसिमका राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गरी लक्ष्यबमोजिम राजस्व परिचालन गर्न जोड दिइएको। राजस्व चुहावट नियन्त्रण गर्न बजार अनुगमन र भन्सार गस्ती बढाइएको। कर प्रणाली सुधारका लागि समिति गठन गरी कार्य अगाडि बढाइएको। आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत भएको प्रारम्भिक अनुमान रहेको र प्रतिव्यक्ति राष्ट्रिय आय १४१०.१ अमेरिकी डलर र कुल गार्हस्थ्य उत्पादनको तुलनामा कुल राष्ट्रिय बचत ३१.६ प्रतिशत पुगेको प्रारम्भिक अनुमान गरिएको।२०७९ पौषदेखि २०८० असारसम्ममा चालु खर्चतर्फ रु.६ खर्ब ५१ अर्ब ५६ करोड, पुँजीगत खर्चतर्फ रु.१ खर्ब ९९ अर्ब ७९ करोड र वित्तीय व्यवस्थातर्फ रु.१ खर्ब ४३ अर्ब १४ करोड गरी जम्मा रु.९ खर्ब ९४ अर्ब ३५ करोड खर्च भएको। अघिल्लो वर्ष सोही अवधिमा चालु खर्चतर्फ रु.६ खर्ब ४४ अर्ब १५ करोड, पुँजीगत खर्चतर्फ रु.१ खर्ब ८७ अर्ब ९७ करोड र वित्तीय व्यवस्थातर्फ रु. ७७ अर्ब ९ करोड गरी जम्मा रु.९ खर्ब ९ अर्ब २१ करोड खर्च भएको।२०८० साउनदेखि २०८० मंसिरसम्ममा चालु खर्चतर्फ रु.३ खर्ब ६० अर्ब, पुँजीगत खर्चतर्फ रु.३६ अर्ब ६ करोड र वित्तीय व्यवस्थातर्फ रु.५६ अर्ब ९३ करोड गरी जम्मा रु.४ खर्ब ५२ अर्ब ९६ करोड खर्च भएको। अघिल्लो वर्ष सोही अवधिमा चालु खर्चतर्फ रु.३ खर्ब ५४ अर्ब २५ करोड, पुँजीगत खर्चतर्फ ३३ अर्ब ९९ करोड र वित्तीय व्यवस्था तर्फ रु. ४६ अर्ब ९६ करोड गरी जम्मा रु.४ खर्ब ३५ अर्ब २ करोड खर्च भएको।२०७९ पौषदेखि २०८० असारसम्म कर राजस्वतर्फ रु.५ खर्ब ६४ अर्ब १५ करोड र गैर कर तथा अन्य प्राप्तितर्फ रु.९१ अर्ब ८३ करोड गरी जम्मा रु.६ खर्ब ५५ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको। अघिल्लो वर्ष सोही अवधिमा कर राजस्वतर्फ रु.६ खर्ब ३ अर्ब ९३ करोड र गैर कर तथा अन्य प्राप्तितर्फ रु.६८ अर्ब ६८ करोड गरी जम्मा रु.६ खर्ब ७२ अर्ब ६१ करोड राजस्व सङ्कलन भएको।२०८० साउनदेखि २०८० मंसिरसम्म कर राजस्वतर्फ रु.३ खर्ब ३७ अर्ब १८ करोड र गैरकर तथा अन्य प्राप्तितर्फ रु.४३ अर्ब ९७ करोड गरी जम्मा रु.३ खर्ब ८१ अर्ब १५ करोड राजस्व सङ्कलन भएको। अघिल्लो वर्ष सोही अवधिमा कर राजस्वतर्फ रु.३ खर्ब १ अर्ब ४६ करोड र गैरकर तथा अन्य प्राप्तितर्फ रु.५२ अर्ब ९४ करोड गरी जम्मा रु.३ खर्ब ५४ अर्ब ४० करोड राजस्व सङ्कलन भएको।यस अवधिमा अनुदानतर्फ रु.२१ अर्ब ७८ करोड ४९ लाख र सहुलियत ऋणतर्फ रु.१ खर्ब १९ अर्ब ८३ करोड ७९ लाख गरी जम्मा रु.१ खर्ब ४१ अर्ब ६२ लाख वैदेशिक सहायता परिचालन भएको।२०८० कार्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा २.७ प्रतिशत बिन्दुले कमी भई ५.३८ प्रतिशतमा सीमित रहेको र चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको। आर्थिक वर्ष २०७९।८० को सुरुदेखि बाह्य क्षेत्र स्थायित्व कायम गर्न लिइएका वित्त तथा मौद्रिक नीतिको अवलम्बनले गर्दा हाल बाह्य क्षेत्रमा सुधार आई शोधनान्तर स्थिति बचतमा र विदेशी विनिमय सञ्चिति बढ्दै गएको।शोधनान्तर स्थिति रु.१ खर्ब ४७ अर्ब ११ करोडले बचतमा रहेको छ। कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भई २०८० को कार्तिक मसान्तसम्म रु.१६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ। मौजुदा विदेशी विनिमय सञ्चितिले ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ। २०८० पौष ८ गते नेप्से सूचकाङ्क २०८८.07 रहेको।अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले गरेको निरन्तर प्रयासबाट मौद्रिक तथा वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव परेको। मौद्रिक नीतिलाई क्रमशः लचिलो बनाउँदै लगिएकोले अल्पकालीन र दीर्घकालीन ब्याजदरहरू घट्दै गइरहेको। यसबाट औसत आधारदर र कर्जादर एकल बिन्दुमा आउने अपेक्षा गरिएको।वाणिज्य बैङ्कहरूको अन्तरबैङ्क ब्याजदर २०७९ मंसिरमा ७.९६ प्रतिशत रहेकोमा २०८० मंसिरमा १.४५ प्रतिशत, ९१ दिने टे«जरी बिल्सको भारित औसत ब्याजदर २०७९ मंसिरमा १०.६७ प्रतिशत रहेकोमा २०८० मंसिरमा ३.५३ प्रतिशतमा झरेको। अघिल्लो वर्षको कार्तिकमा वाणिज्य बैङ्कहरूको औसत आधार दर १०.६० प्रतिशत रहेकोमा २०८० कार्तिकमा ९.७४ प्रतिशत रहेको। त्यस्तै वाणिज्य बैङ्कको औसत कर्जाको ब्याजदर २०७९ कार्तिकमा १२.६५ प्रतिशत रहेकोमा २०८० कार्तिकमा ११.९६ प्रतिशतमा झरेको।वैदेशिक व्यापारतर्फ चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा कुल वस्तु निर्यातमा ६.१ प्रतिशतले कमी भई रु.६३ अर्ब २१ करोड र कुल वस्तु आयातमा ३.४ प्रतिशतले कमी भई रु.६४२ अर्ब २१ करोड कायम भएको। कुल वस्तु व्यापार घाटामा ३.१ प्रतिशतले कमी भई रु.५ खर्ब ७९ अर्ब कायम भएको। सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न सरकारी कार्यसञ्चालन खर्चमा उल्लेख्य रूपमा कटौती गरिएको। पुँजीगत खर्च बढाउनका लागि विकास आयोजनाहरूलाई छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण र प्रभावकारी अनुगमन गरिएको। दायित्व सिर्जना भएका पुराना ठेक्काहरूको भुक्तानी व्यवस्थापन गरिएको।सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गठित कार्यदलको सुझावका आधारमा वित्तीय सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न बेग्लै विशिष्टीकृत संस्था गठन गर्ने तथा सहकारी बचत तथा ऋण सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको। लघुवित्त संस्थाबाट लिइएको ऋण भुक्तानीलाई सहजीकरण गर्न अध्ययन गरी प्राप्त सुझावहरू क्रमशः कार्यान्वयन गर्दै लगिएको।भन्सार प्रशासनलाई आधुनिक र अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी नयाँ भन्सार विधेयकको मस्यौदा संसद्मा पेश गरिएको। विदेशबाट आयात हुने केही वस्तुहरूको करमा पुनरावलोकन गरिएको। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र (SUTRA) को स्तरोन्नति गरी 70 स्थानीय तहहरूमा राजस्व व्यवस्थापन मोड्युल र ६१२ स्थानीय तहमा विद्युतीय भुक्तानी प्रणाली लागु गरिएको।नेपाल सरकारका विभिन्न निकायहरूको नाममा छरिएर रहेका कोष तथा बैँक खाता र रकमको एकीकृत विवरण तयार गरिएको। प्रयोजन सकिएका कोष तथा खाता बन्द गरी मौज्दात रहेको रकम सञ्चित कोषमा दाखिला गर्ने क्रममा रहेको। | |
अन्तर-सरकारी वित्त परिषद्को आठौँ बैठकबाट विकास आयोजनाहरू प्राथमिकीकरण गर्ने र दोहोरोपना हटाउने, स्रोतको उच्चतम उपयोग गर्ने, कराधारको विषयमा देखिएको दोहोरोपना हटाउने तथा वित्तीय सङ्घीयता कार्यान्वयनको लागि आवश्यक कानून निर्माण गर्ने लगायतका निर्णय भई कार्यान्वयनमा ल्याइएको। | ||
यस अवधिमा जम्मा रु.२९२.५१ अर्ब वैदेशिक लगानी स्वीकृत भएको। पश्चिम सेती र एस.आर. ६ जलविद्युत परियोजना, डाबर नेपाल प्रा.लि. को पुँजी वृद्धि तथा क्षमता विस्तारमा परियोजना लगानीका लागि र तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि सम्झौता सम्पन्न भएको। आगामी २०८१ साल वैशाखमा नेपालमा तेस्रो लगानी सम्मेलन आयोजना गर्न तयारी कार्य भइरहेको। वैदेशिक लगानीकर्ताहरूमाझ विश्वसनीयता कायम गर्न नेपालको Country Rating गर्ने प्रक्रिया अघि बढाइएको। |
प्रतिक्रिया