बैकिङ्ग समाचार, काठमाडाैं- नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक प्राधिकरणसँग सुरक्षित रहेको बताएका छन् । बिहीबार भएको पत्रकार सम्मेलनमा घिसिङले यस्तो तथ्यांक एक ठाउँबाट मेटिए पनि अन्य कतिपय स्थानमा सुरक्षित रहेको दाबी गरेका हुन् ।
प्रणालीबाट समयमा डाउनलोड नहुँदा कहिलेकाही मेटिए पनि सम्बन्धित उद्योगी र प्रधिकरणको अर्को स्थानमा सो तथ्यांक सुरक्षित रहेको घिसिङले बताए । पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको उत्तर दिँदै उनले भने, ‘हामीसँग डेटा सुरक्षित छ । हाम्रो कर्मचारीले समयमा डाउनलोड नगर्दा कुनै वर्षको डाटा डिलिट भए पनि कहीँ कतै सुरक्षित हुन्छ । समय आएपछि सार्वजनिक गछौँ ।’
२०७२ साल फागुन १० गते भएको विद्युत कटौटीको विषयलाई उठाउँदै घिसिङले भने, ‘डेडिकेटेड लाइन भनेको सब्स्टेसनबाट डाइरेक्ट ग्राहकसम्म पुर्याउने लाइन हो । यो सहज भएकाले सबैले डेडिकेटेड लाइन नै चाहिन्छ भने । सम्भव नभएका कारण हामी यो रोम्ने पक्षमा छौँ ।’
अदालतमा मुद्दा दर्ता गर्दा उद्योगीहरुसँग टाइम अफ डेट (टीओडी) मिटरको रिपोर्ट माग्दा पेश नगरेको बताउँदै घिसिङले आमजनताको सरोकारको विषयलाई ध्यान नदिइएको बताए ।
प्रतिक्रिया