बैंकिङ्ग समाचार, काठमाडाैं- नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबापत बक्यौता नतिर्ने अन्य उद्याेगकाे पनि लाइन काट्ने बताएकाे छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमश: विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको बताए। लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक पटक ताकेता र सार्वजनिक सूचनामार्फत अनुरोध गरे पनि बेवास्ता भएपछि कानुनअनुसार लाइन काट्न बाध्य भएको उनले बताए ।
उनले भने, ‘उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत लाइन विच्छेद गर्न सुरु गरिएको छ।’ सर्वसाधारणले १७/१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेको बेला २३९ औद्योगिक, व्यापारिक र गैह्रव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी बिजुली उपयाेग गरेकाे उनकाे भनाइ थियाे ।
जसमध्ये १७८ उपभोक्ताले विद्युत महसुल समयमै भुक्तानी गरेकाे जानकारी उनले दिए ।
उद्योगीहरूले डेडिकेटेड फिडर र ट्रंक लाइनबापत आफूहरूले विद्युत् उपभोग नगरेको भन्दै उक्त रकम नतिर्ने अडान राख्दै आएका छन् । तर प्राधिकरणले उक्त महशुल उठाउने बताउँदै आएकाे छ । पाँच वर्षदेखि उद्याेगीसँग चलिरहेकाे उक्त टकराब गत शुक्रबार प्राधिकरणले तीनवटा उद्याेगकाे लाइन काटेपछि सतहमा आएकाे छ । हालसम्म प्राधिकरणले ९ वटा उद्याेगकाे लाइन काटेकाे छ।
प्रतिक्रिया