बचत : भविष्यको सुनिश्चता

बचत : भविष्यको सुनिश्चता


काठमाडाैं- अरुणा अधिकारीसँग एउटा डायरी छ, हिसाबको । जुन डायरी उनी साँझमा मात्रै पल्टाउँछिन् । हरेक साँझ डायरी हातमा लिएर बस्छिन् । अनि लेख्न थाल्छिन् दिनभरिका हिसाबकिताब । उनको डायरीमा नुनदेखि सुन किनेसम्मको हिसाब छ ।

‘डायरीमा टिप्ने बानी मेरो सानैदेखिको हो । यसैले आफूले कति खर्च गर्छु र बचत कति हुन्छ भन्ने थाहा हुन्छ । एउटा परिधिमा पनि बाँधेको फिल हुन्छ’, ट्याङ्लाफाट निवासी उनले भनिन् । उनी चाहिने भन्दा बढी खर्च गर्दिनन् । बचत गर्ने बानी पनि उनको पुरानै हो । जनमैत्री बहुमुखी क्याम्पसबाट बीबीएस गरेकी उनी व्यवस्थापनकी विद्यार्थी भएर पनि होला, कारोबारमा एक–एक रुपैयाँ ख्याल गर्छिन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत स्वास्थ्य विज्ञान शिक्षालय संघमा कार्यरत उनकाे पारिश्रमिक महिनाको ३० हजार छ । तलब हातमा पर्नेबित्तिकै उनी २० हजार मासिक खर्चका लागि छुट्याउँछिन् । ७ हजार बचत गर्छिन् । बाँकी ३ हजार ऋणको लागि राख्छिन् ।

विद्यालय र क्याम्पसको शिक्षाले मात्र होइन; बचतको ७०/२०/१० को सूत्रबाट जीवनको गणित विषय राम्रो अंकमा पास गरेको अरुणाको यस बानीले देखाउँछ ।

के हो बचत ?
‘पैसा जम्मा गरेर राख्नु मात्र बचत होइन । यो एक बानी हो । घरमा दिनहूँ चाहिने खाद्यान्नको पनि बचत हुनसक्छ’, माछापुच्छ्रे बैंककी ब्रान्डिङ तथा विदेश मामिला नायव प्रमुख प्रतिमा पाण्डे भन्छिन् । आवश्यकतालाई पूरा गरेर बाँकी रहेको सामान वा पैसा जगेर्ना गर्नु नै बचत भएको उनी बताउँछिन् ।

बचत निकट भविष्य वा दीर्घकालमा आइलाग्ने वित्तीय जोखिमसँग लड्नसक्ने क्षमताको विकास गराउने तत्व हो । अर्थतन्त्रको वृद्धिलाई उकासेर उद्देश्यअनुरुपका पेसा, व्यावसायलाई मूर्तरूप दिन त्यसका लागि आवश्यक स्राेत–साधनलाई जोडेर व्यक्तिको सपना साकार पार्न बचतले मद्दत गर्ने उनको भनाइ छ । त्यसकारण यो लगानीको स्रोत र अवसर दुवै हो । उनी बचतलाई त्यागका रूपमा पनि परिभाषित गर्छिन्, ‘दीर्घकालका इच्छालाई मानेर क्षणिक आवश्यकता रोज्छन् धेरैले । सबैले बचत गर्न पनि सक्दैनन् । जसमा धैर्यता छ । जसले खर्चको कटौटी गर्न सक्छ, उसले बचत गर्छ ।’

बचतको ७०/२०/१० को सूत्र

नेपाल राष्ट्र बैंकले वि.सं. २०७६ मा प्रकाशन गरेको वित्तीय साक्षरता सन्दर्भ पुस्तकमा बचतलाई एउटा सूत्रबाट परिभाषित गरिएको छ, ७०–२०–१० को । यस सुत्रमा आफ्नो जम्मा आयको (१००%) रकमलाई कसरी वर्गीकरण गर्ने भनेर सिकाइएको छ । ७० प्रतिशत अर्थात् व्यक्तिले आफ्नो कामबापत पाउने रकमलाई मासिक रुपमा आधाभन्दा बढी गाँस, बास र कपासको लागि छुट्यानुपर्दछ । अर्को २० प्रतिशतलाई बचत गर्नुपर्छ । जसमध्येको १० प्रतिशत भविष्यको लागि बचत गर्नुपर्ने पुस्तकमा उल्लेख छ । बाँकी १० प्रतिशतको ५ प्रतिशतलाई आपतकालीन सुरक्षाको लागि र अर्को ५ प्रतिशत निश्चित लक्ष्यको लागि बचत गर्नुपर्दछ । १० प्रतिशत भने ऋण चुक्ता गर्नको लागि बचत गर्नुपर्ने हुन्छ ।

अरुणाले जसरी ७०/२०/१० को नियम पालना गर्दा थोरै आम्दानीबाट पनि सहज तरिकाले आयलाई बचतको रुप दिन सकिन्छ । जसका लागि मानिसले दुई तरिका अपनाउन सक्छन् । एउटा आफूले गर्ने खर्चको केही अंश कटौती गरेर र अर्को आम्दानीबाट छुट्याएर । खर्च कटौटी भन्नाले आवश्यक चिज नै नकिनेर बचत गर्नु पक्कै होइन । हामीले किन्ने समानमा छुट सुविधा भए त्यसलाई अपनाउने अथवा मोलमोलाई गरेर रकम बचाउन सक्छौँ । योसँगै आफूले पैसाको कारोबार कसरी गरिरहेका छौँ, त्यसतर्फ पनि ध्यान दिनुपर्छ । थोरै ब्याजमा ऋण निकाल्ने र निकालेको ऋणलाई समयमै चुक्ता गर्ने बानीले पनि बचतको महत्लाई दर्साउँछ । बचत गर्न मानिस लोभी पनि हुन जरुरी छ । किनकि लोभीपनले अनावश्यक बस्तुतर्फ ध्यान जान दिदैन ।

बचत किन गर्ने ?
विशेषगरी आम्दानी कम भएको समयमा खर्च धान्नलाई बचत गर्ने गरिन्छ । साथै बचतले आफ्नो आर्थिक अवस्थालाई मजबुत बनाइराख्ने भएकाले शिक्षा, स्वास्थ्योपचारका लागि पनि आवश्यक छ । अकस्मात् आउने वित्तीय समस्याको समाधानको रुपमा रहेको बचतलाई सामाजिक रीतिरिवाज जस्तै: व्रतबन्ध, विवाह, जन्म र मृत्यु संस्कारका लागि पनि प्रयोग गर्न सकिन्छ । घरजग्गा निर्माण र खरिदरसँगै मर्मत गर्न, स्तरीय जीवन जीउनका लागि, बिलासीलताका सामान खरीद गर्न, कर्जाको साँवा ब्याज भुक्तानी गर्नुका साथै कुनै वस्तुमा लगानी गर्न बचत चाहिने विदेश मामिला नायम प्रमुख प्रतिमा पाण्डे बताउँछिन् । यसैगरी अवकाश पछिको जीवन सहज बनाउनका लागि पनि बचत गर्नु महत्वपूर्ण मानिन्छ ।

फाइदा
बचत पैसाको वृद्धि हो । यसमा वित्तीय समस्याको समाधान मात्र नभइ आफ्नो आर्थिक स्थितिलाई कसरी उकास्ने भन्ने उपाय पनि लुकेको हुन्छ । बैंक र वित्तीय संस्थामा बचत गर्नुका अझ धेरै फाइदा छन् । बैंकमा नियमित रूपमा नियमन र सुपरिवेक्षण हुने हुँदा रकम सुरक्षित हुन्छ । यसैकारणले रकम डुब्ने डर पनि कम हुन्छ । तोकिएको समयमा निश्चित ब्याज समेत पाइन्छ ।

बीमाको माध्यमबाट बचत गर्नु पनि लाभदायक मान्न सकिन्छ । बीमा गर्दा लागत बापत पाइने पोलिसि बोनसले आर्थिक जोखिम बहन गर्ने बताउँछन् सूर्यज्योती लाइफ इन्स्योरेन्सका सूचना अधिकारी उमेश प्रसाद मैनाली । उनी भन्छन्, ‘बीमा गरेको रकमबाट पोलिसी बोनस पाइन्छ । यसले आर्थिक जोखिमलाई धान्छ । आर्थिक क्षतीबाट जोगाउने उपायको रुपमा पनि बीमालाई लिइन्छ ।’ बीमा कम्पनीले बीमितलाई एकमुष्ट रुपमा रकम प्रदान गर्ने हुँदा इच्छाइएको कामलाई सहज रुपमा पूर्णता दिन सकिन्छ । यसका कारण सामाजिक प्रतिष्ठा समेत बढ्न जाने सूचना अधिकारी मैनाली बताउँछन् ।

यसरी मानिसले बचतलाई अप्ठ्यारोको साथी मान्न सकिन्छ । आय आर्जनका श्रोत नहुँदा बचत गरेको रकमले दैनिकिलाई सहज बनाउन सकिन्छ । कोही–कसैको आर्थिक सहयोग नमागी आफ्नो दक्षता र दक्षतामा काम गर्न सकिन्छ । यसैकारण बचतलाई भविष्यको सुनिश्चितता पनि मान्न सकिन्छ ।