काठमाडौं– कोरोना महामारीयता बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभावका कारण ठूलो चुनौती ब्यहोर्नुपर्यो । छ महिनाअघिसम्म पनि बैंकिङ्ग प्रणालीमा तरलता हाहाकारजस्तै थियो । सानो कर्जाका लागि आउने ग्राहकलाई समेत ऋण नदिइ फर्काउनुपर्ने अवस्था थियो ।
तर यतिबेला ठीकविपरीत उद्योगी/व्यवसायीले ऋण नलिँदा बैंकहरूमा तरलता थुप्रिएको छ ।
बैंकमा अधिक तरलता देखिएपछि व्यवस्थापनका लागि केन्द्रीय बैंकले बैंकहरूबाट मंसिरमा मात्रै आठपटक तरलता खिच्यो। मंगलबारसमेत गरेर पुसमा दुईपटक तरलता खिचिसकेको छ, यस महिना १२ पटकसम्म तरलता खिच्ने तयारी केन्द्रीय बैंकले गरेकाे छ। यद्यपि, नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अझैं बैंकहरूमा छ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ ।
बैंकहरूमा तरलता अधिक भएपछि सहकारी संस्थाहरू पनि तंग्रिएको केहीको भनाइ छ । तर तथ्यांकले भने त्यस्तो देखाउँदैन । बैंकमा अधिक तरलता भइरहँदा सहकारी संस्थाहरू अझै तरलता अभावको समस्याबाटै गुज्रिरहेका छन् ।
नेपाल बहुउद्देशीय सहकारी संस्था लिमिटेडमा लामो समययता तरलता अभाव छ । गएको असोज महिनामा उक्त संस्थामा लगानी गर्नयोग्न रकम १६.०८ प्रतिशत रहेको थियो । तर कात्तिक महिनामा उक्त तरलता घटेर १५.२७ प्रतिशतमा सीमित हुनपुग्यो ।
संस्थाका लेखा शाखा प्रमुख सूर्यप्रसाद भट्टराईले बैंकिङ्ग प्रणालीमा देखिएको उच्च तरलताको प्रभाव विस्तारै सहकारीमा पनि देखिने आशा व्यक्त गरे । मंसिर महिनाको तथ्यांक केही सुधार भएर आउनसक्ने जानकारी उनले दिए । उनले भने, ‘कात्तिक महिना चाडपर्वको महिना भएकाले तरलता अभाव देखिनु स्वभाविक हो, अब विस्तारै बढ्छ कि भन्ने संकेत देखिएको छ।’
यस्तै चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले पनि तरलता अभावको समस्या सुल्झिनसकेको बताएको छ । यद्यपि, सहकारी विभागले तोकेको मापदण्ड भने संस्थाले पूरा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर क्षेष्ठले बताए । उनकाअनुसार चन्द्रागिरीसँग अहिले लगानी गर्नयोग्य रकम २५ प्रतिशत रहेको छ । संस्थासँग यस्तो तरलता अघिल्लो वर्ष २८ प्रतिशत रहेको थियो ।
श्रेष्ठले भने, ‘अघिल्लो वर्षभन्दा यो वर्ष ऋण लगानी केही बढी भएकाले तरलता घटेको हो । पछिल्लो समय सहकारीविरुद्ध फैलिएको अफवाहको असर पनि देखिएको छ, त्यसैले पनि सोचेजस्तो निक्षेप भित्रिन सकेको छैन।’
धनुषास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सहकारी विभागले तोकेको मापदण्ड पनि पूरा गर्न सकेको छैन । विभागका अनुसार सहकारीसँग लगानीयोग्य रकम कम्तिमा १५ प्रतिशतभन्दा बढी हुनुपर्छ । तर यस संस्थाको लगानीयोग्य रकम १२ प्रतिशत मात्रै रहेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक बुढाथोकीले मेडिकल व्यवसायी दुर्गा प्रसाईले चलाएको ‘ऋण मिनाहको आन्दोलन’को असर सहकारीमा देखिएको बताए । उनले भने, ‘यो समयमा बचत गर्न आउने नै छैनन् । लगानी पनि छैन । दुर्गा प्रसाईँको आन्दोलनको असर पनि देखिएको छ।’
बैंकमा बढ्दा सहकारीमा किन बढेन?
सहकारी नियमन तथा कारबाहीका लागि प्रभावकारी नियामक निकाय छैन । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले नियन्त्रण, नियमन र अनुगमन गर्ने गरेको भएता पनि सहकारीलाई प्रत्यक्ष नियमन, नियन्त्रण र अनुगमन गर्ने निकाय नहुँदा सहकारीमार्फत् हुने ठगीका घटनामा पनि वृद्धि भएको छ ।
सेयर सदस्य र सञ्चालकको समितिको निर्देशनमा नभइ सीमित व्यक्तिको निर्देशनमा सञ्चालित हुने भएकाले सहकारी अपराधले पनि व्यापकता पाएको छ । थुप्रै बचत तथा ऋण सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम फिर्ता नपाएको असर प्रायः सबै सहकारीमा देखिएको छ ।
केही समयअघि अवस्था यस्तो आयो कि, सहकारीमा निक्षेप राख्नेभन्दा झिक्नेको संख्या धेरै देखियो । त्यसमाथि सहकारी सञ्चालकले सर्वसाधारणकाे निक्षेप लिएर घरजग्गामा लगानी गर्दा एकपछि अर्काे सहकारी बदनाम र समस्याग्रस्त भए ।
सहकारीमा तनावग्रस्त अवस्था सिर्जना भएपछि बचतकर्ताहरू आफ्नै बचत फिर्ता हुने हो वा होइनको अन्योलका कारण सहकारीसँगको विश्वसनीयतामा कमी आएको देखिन्छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले योजना, नीति र उद्देश्यबहिर गएर काम गरेको बताए । राज्य बचतकर्ताको बचत फिर्ता गर्न सक्रिय रुपमा लागेको उनले बताए ।
यद्यपि, यो अवस्था विस्तारै सुधार हुुँदै जाने राष्ट्रिय सहकारी महासंघका अध्ययक्ष मिनराज कँडेलले बताए । पहिल्यैदेखि तरलता अभाव देखिएका कारण सहकारीहरू लयमा फर्किन केही समय लाग्ने उनको भनाइ छ । ‘तरलता ठीक्कै राखेका संस्थाहरु घाटामा गएका छन् । किनभने हल्ला व्यापक भयो बचतकर्ता बचत फिर्ता लिन आए । लगानी गरेको पैसा उठेन,’ उनले भने, ‘जग्गामा लगानी गरेका संस्थाहरुको जग्गा पनि बिकेको छैन। त्यसैले सहकारीमा समस्या सिर्जना भएको हो ।’
यद्यपि, पछिल्लो समय बैंकमाजस्तै केही सहकारीमा तरलता बढेको उनको भनाइ छ । सहरका भन्दा ग्रामीण क्षेत्रका सहकारीमा तरलता बढेको उनले बताए ।
प्रतिक्रिया