अन्तरवार्ता

‘नेपाल श्रीलंकाजस्तै बन्न अझै २० वर्ष लाग्छ’

‘नेपाल श्रीलंकाजस्तै बन्न अझै २० वर्ष लाग्छ’

भेषराज खतिवडा, सीईओ, म्यानमार सिटिजन्स बैंक


भेषराज खतिवडा बैंकर हुन् । उनी अहिले म्यानमारको म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा कार्यरत छन । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङ यसअघि म्यानमारमै म्यानमार सिटिजन्स बैंकको सीईओ थिए । म्यानमारको बैंकमा जानुअघि खतिवडाले एनआईसी एसिया बैंक, प्रभु बैंक र सिभिल बैंकको विभिन्न पदमा रहेर काम गरिसकेका छन । नबिल बैंकबाट बैंकिङ करिअर शुरू गरेका खतिवडाले नेपाली बैंकरहरुले पनि विदेशी बैंक हाँक्न सक्छन भन्ने उदाहरण नेपाली समाजमा प्रस्तुत गरेका छन । नेपालको वर्तमान आर्थिक परिदृश्य, म्यानमार र नेपाली बैंकिङ्ग क्षेत्रको भिन्नता लगायतका विषयमा उनीसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीः

तपाईसँग २९ वर्ष बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ, म्यानमारमा नै तपाईको २ वर्ष पुगिसक्यो । त्यहाँको अनुभव यहाँलाई कस्तो लाग्यो ?

म्यानमार र नेपालको बैंकिङ्ग क्षेत्रमा त्यती धेरै फरक छैन । त्यहाँ बैंकहरुको उच्च व्यवस्थापनमा काम गर्ने कर्मचारीहरुको नियुक्ती केन्द्रीय बैंकले नै हेर्छ । सुरुमा बैंकको सञ्चालक समितिले हेरेपछि केन्द्रीय बैंकमा पुग्छ र त्यहाँबाट स्वीकृत भइसकेपछि मात्रै नियुक्तीको प्रक्रिया पुरा हुन्छ । नेपालको सन्दर्भमा भने केन्द्रीय बैंकमा अनौपचारिक जानकारी मात्रै गराइन्छ । म्यानमारमा अहिले २७ वटा वाणिज्य बैंकहरु छन । कोर बैंकिङ्गको कुरा गर्ने हो भने नेपाल म्यानमार मात्रै नभई विश्वभरी नै एकै प्रकारको हुन्छ । यद्यपी नेपाल र म्यानमारको बैंकिङ्ग क्षेत्र ५० प्रतिशत मिल्दो जुल्दो हुन्छ । समग्रमा भन्नुपर्दा नेपाली बैंकिङ्ग क्षेत्र म्यानमारको भन्दा अलिक राम्रो देखिन्छ । नेपाली बैंकिङ्ग क्षेत्रमा प्रतिस्पर्धा केही न केही स्वस्थ रहेको मैले पाँए ।

नेपाल र म्यानमारको बैंकिङ्ग क्षेत्रमा के–के फरक पाउनुभयो ?

ठाउँ अनुसार बैंकिङ्ग प्रोडक्टहरु फरक हुन्छन, ग्राहकका प्रवृत्तिहरु फरक हुन्छन । शिक्षा, स्वास्थ्य तथा अर्थतन्त्र पनि म्यान्मारको भन्दा हाम्रो नेपालको धेरै राम्रो छ । त्यहाँ भएका उत्पादन पनि नेपालको भन्दा राम्रो छ । त्यहाँ र यहाँको तुलना गर्ने हो भने केही राम्रा पक्ष पनि छन केही नराम्रा पक्षहरु पनि छन । काम गर्दा नेपालमा भन्दा म्यान्मारमा अलिक स्वतन्त्रता छ जस्तो लाग्छ । आफुभन्दा माथि बोर्ड हुँदा पनि त्यहाँ आफ्नो क्षमता देखाउन सकिन्छ । नेपालमा मैले यस्तो स्वतन्त्रता कमै पाएको अनुभव छ ।

मानव संसाधनको पक्षमा नेपालले म्यानमारको जनशक्तिबाट के सिक्ने ?

नेपालीहरुले म्यानमारबाट त्यती धेरै कुराहरु सिक्नुपर्ने जस्तो लाग्दैन । तर त्यहाँ केही प्रोडक्टहरु छन जुन नेपाली बैंकिङ्ग क्षेत्रले सिक्नुपर्ने छ । जस्तै बैंकास्योरेन्स । त्यहाँका बैंकहरुले यो प्रोडक्टलाई इन्सुरेन्सको राम्रो आम्दानीलाई आफुहरुले लिन सक्नेगरी सम्झौताहरु गरेका छन् । एउटा मात्र इस्योरेन्स कम्पनीसँग राम्रो सम्झौता गर्ने तर इस्योरेन्स कम्पनीले बैंकलाई निश्चित प्रतिशत कमिसन भने दिनुपर्ने हुन्छ । साथै बैंकहरु पनि चारैतिर छरिनु भन्दा एउटै कम्पनीबाट आउँछ भनेपछि ढुक्क हुने भए । त्यसले गर्दा बैंकहरुलाई पनि आम्दानीको दिगो स्रोत हुने भयो । यस्तो किसिमको प्रयोग भने हामीले त्यहाँ भर्खरै स्थापित गरेका छौँ ।

बैंकास्योरेन्सकै सन्दर्भमा त्यहाँबाट नेपालको नियमनकारी निकायले के सिक्ने ?

यदी बैंकले राम्रो इस्योरेन्स कम्पनी पहिचान गरी त्यस प्रोडक्टमा आउने जोखिमहरु के–के हुन ? त्यसलाई निर्धारण गरी काम गर्दा राम्रो हुन्छ । जस्तै बैंकास्योरेन्स गर्न खोजेको इस्योरेन्स कम्पनीहरुले जाखिम व्यवस्थापन गर्न सक्छ कि सक्दैन ? भविष्यमा आइपर्ने समस्याहरु के–के हुन ? लगायतका विषयहरुलाई मध्यनजर गर्ने हो भने यस्तो प्रोडक्ट नेपालमा पनि पुःन सुचारु गर्न सकिन्छ । तर कमिसन आउँछ भन्दैमा जुन पायो त्यही कम्पनीलाई जिम्मेवारी दिनु राम्रो होइन जस्तो लाग्छ ।

नेपालका बैंकहरुले दिने रिर्टन र त्यहाँका बैंकहरुले दिने रिर्टनमा कहाँको बढि पाउनुभयो ?

कर्जाको साईज हेर्ने हो भने त्यहाँको भन्दा यहाँको धेरै छ । मैले काम गरिरहेको म्यानमार सिटिजन बैंकको कुरा गर्ने हो भने हामीले भर्खरै रिर्टन कति दिने भनेर सूचना प्रकाशित गरेका छौँ । तर त्यहाँका अन्य बैंकहरुलाई त्यस्ता खाले सुचनाहरु प्रकाशित गर्नुपर्ने बाध्यता भने छैन । हालको अवस्था हेर्ने हो भने त्यहाँको भन्दा यहाँका बैंकहरुको रिर्टन राम्रो देखिन्छ ।
तपाईले जस्तै अन्य नेपाली बैंकरहरुले देश–विदेशमा छरिएर काम गर्न कस्तो खालको धैर्यता चाहिन्छ जस्तो लाग्छ ?
सबैभन्दा सुरुमा आफ्नो क्षेमता अभिवृद्धि नै गर्नुपर्छ । बैंकहरुमा हरेक दिन नयाँ कुराहरु आउँछन ।

प्रविधिमा नयाँ कुराहरु आउँछन । प्रोडक्टको हिसाबले नयाँ कुराहरु आउन सक्छन । यस्ता विषयमा अपडेट र इनोभेटिभ हुन अत्यन्तै जरुरी छ । यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । तर सबै कुरा आफैले उत्पन्न गर्नुपर्छ भन्ने पनि छैन । अन्य बैंकहरुले कसरी विकास गरिरहेका छन भन्ने कुरा पनि हेर्न सक्यो भने आफ्नो र आफुले काम गर्ने संस्थाको क्षमता बढाउन सकिन्छ । साथै नेतृवदायी भूमिकामा आफु अब्बल बन्नका लागि सबै कुराको ज्ञान आफुसँग हुनुपर्यो । सबैतिरको अनुभव लिनुपर्यो । तर जति माथि गयो त्यसको महत्व भने कम हुँदो रहेछ । कोर बैंकिङ्गका कुराहरु डिपार्टमेन्ट तहसम्म र नेतृत्वदायी भुमिकामा भने संस्थालाई कुन दिशातर्फ लैजाने ? रणनीतिहरु कस्तो बनाउने ? र कर्मचारीहरुलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने विषयहरुले विशेष महत्व राख्दछ ।

कतै नेपाल श्रीलंका त हुने हाइन भन्ने बहस बेला–बेलामा उत्पन्न भइरहन्छ, यसमा के भन्नुहुन्छ ?

नेपालमा के भइरहेको छ ? नेपालीहरु धमाधम विदेश गइरहेका छन । अर्थतन्त्र सुस्ताएको छ । कतै नेपाल पनि श्रीलंकाको हालतमा पुग्ने त होइन भनेर भनिरहेको मैले सुन्छु । यसमा मलाई कस्तो लाग्छ भने विदेश जाने भन्ने कुरा सामान्य हो । पढ्न जाने, रोजगारीमा जाने भन्ने विषय नेपालमा मात्रै नभई विश्वभर नै चल्छ । तर युवाहरुलाई देशभित्रै कसरी टिकाउने भन्ने राज्यले सोच्नुपर्ने कुरा हो । तर फेरि यस्तो कुरा सोच्दैमा तुरुन्तै समस्याको समाधान भइहाल्छ भन्ने पनि हुँदैन । जुनसुकै सरकार आएपनि हुँदैन । देशभित्रको सिपलाई यही कसरी प्रयोगमा ल्याउँदा आर्थिक तथा सामाजिक विकासको लागि राम्रो हुन्छ । त्यो सोच्नुपर्छ जस्तो लाग्छ । त्यसैले विदेश पलायन हुने विषयलाई त्यती धेरै नकारात्मक रुपमा लिनु पर्दैन । पानी ओरालोतिर मात्रै बग्छ भनेजस्तै जहाँ रोजगारी र अवसरहरु हुन्छन त्यहाँ युवाहरु पुग्नु स्वभाविक हो । यो कुरा साँचो हो कि विकासको गतिमा हामी अलिक पछाडी परेका छौँ । तर हामी युक्रेन जस्तो त भएका छैनौँ नी । लडाई गरेर ध्वस्त भएका त छैनौँ नि । विस्तारै विकास भइरहेको छ । राजनीतिक परिर्वतन तिब्र गतिमा भइरहेको कारणले हामीमा समस्या भएको हो तर अब हामी स्थायित्वमा जान सकिन्छ । यसलाई हामीले अत्यन्तै सकारात्मक रुपमा लिँदै अगाडी बढ्नुपर्छ । हाम्रो वर्तमान अवस्था गाजाको जस्तो, इजरायल–प्यालेस्टाइको जस्तो त छैन नी । हाम्रो अर्थतन्त्र ट्रयाकमा आउन अझै समय लाग्ला तर सकारात्मक हुँदै अगाडी बढ्नुपर्छ । सबैले बर्बाद नै हुन लाग्यो भन्दै नकारात्मक सन्देश दिनु हुँदैन ।

श्रीलंकामा पर्यटनमा आधारित अर्थतन्त्र भएकाले कोभिड सुरु भएपछि विदेशी ऋण भुक्तानी गर्न समस्या भएको र अहिले नयाँ सरकार आएपछि ऋण भुक्तानी गरिसकेको अवस्था हो । कतै नेपाल पनि श्रीलंका जस्तै बन्न लाग्यो भन्ने जुन रुपमा हल्ला फैलिएको छ । त्यस्तो होइन नि । वास्तममा हाम्रो भन्दा पनि श्रीलंकको स्थिती धेरै राम्रो छ । श्रीलंकाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) करिब ७५ अर्ब अमेरिकी डलर बराबरको छ र हाम्रो ४०/४२ अर्ब अमेरिकी डलरमा चलिरहेको छ । सामान्य हिसाबले पनि हाम्रो भन्दा श्रीलंकाको करिब डेड गुणा बढी छ । प्रतिव्यक्ति आयको तुलना गर्ने हो भने हाम्रो साढे १३ सय डलरको हारहारिमा पुग्न लाग्यो भने उनीहरुको ३३ सय डलर पुग्न लाग्यो । यस हिसाबले हामीले राम्रो गर्ने हो भनेपनि श्रीलंका जस्तो हुन अझै २० वर्ष लाग्छ ।

बैंकिङ्ग क्षेत्रमा काम गर्छु र भविष्य बनाउँछु भन्दै गरेका युवाहरुलाई के सुझव दिनुहुन्छ ?

हामी जतिबेला बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्यौँ, त्यो भन्दा अहिले अवस्था फरक छ । फरक के छ भने अहिले विदेशमा पनि अवसरहरु छन । विगतमा हामीले काम गर्दा विदेशी बैंकहरुमा काम गर्न जाने भन्ने चलन थिएन । हैन विदेश नगई यही नै बस्ने हो भने जागिरे मानसिकता भन्दा माथि उठ्नु अत्यन्तै जरुरी छ । बैंकमा जागिर खान जान्छु १० बजे अफिस जाने ५ बजे घर फर्किने यस्तो खालको मानसिकताबाट हामी माथि उठ्नु जरुरी छ । त्यती मात्र नभई जागिर खान गयो त्यही सिक्यो त्यही काम गर्यो यतीले मात्रै पुग्दैन । बैंकिङ्ग भनेको डाइनामिक क्षेत्र हो । नयाँ कुराहरु कसरी सिक्न सकिन्छ ? नयाँ इनोभेसनहरु के गर्न सकिन्छ ? नयाँ किसिमका प्रोडक्टहरु के उत्पन्न गर्न सकिन्छ ? यी यावत कुराहरुमा ख्याल गर्दै अगाडी बढ्नुपर्छ । यो होइन कि नयाँ सोच र विचारहरु सधैँ उच्च तहबाटै आउँछ, युवाहरुबाट पनि नयाँ योजनाहरु अझै बढि आउन सक्छन । त्यसैले सिक्न खोज्ने, जान्न खोज्ने, नयाँ कुराहरुको अन्वेषण गर्ने जस्ता कुराहरु गर्दा पक्कै पनि सफल बैंकर बन्न सकिन्छ ।

अबको १०/१५ वर्षमा तपाईले जस्तै थुप्रै नेपालीहरुले विदेशी बैंकहरु हाँकेको देख्न पाइन्छ त ?

यो त भविष्यको कुरा हो । सम्भावनाहरु धेरै छन । यदी हामीले विदेशमा गएर पनि राम्रो काम गरेर देखाउन सक्यौँ भने अवश्य पनि थुप्रै नेपाली युवा साथीहरुले विदेशी बैंकहरुको नेतृत्व गरेको देख्न सकिन्छ ।