८.५७ अंक बढेको बजारमा ३ अर्ब ८५ करोडभन्दा बढीको शेयर खरीदविक्री

८.५७ अंक बढेको बजारमा ३ अर्ब ८५ करोडभन्दा बढीको शेयर खरीदविक्री


बैकिङ्ग समाचार ।

सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५७ अंक बढेको छ ।  परिसूचक २ हजार ७ दशमलव २९ बिन्दुमा पुगेको हो । सोमवार २१४  ओटा कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयरको ३६ हजार २४५ पटकमा रू. ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ बरावरको शेयर खरीदविक्री भएको हो । 

सोमवार कारोबारमा आएका २१४  ओटा कम्पनीमध्ये ८१ ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७० ओटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै सोहि दिन २५ ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

सोमवार कारोबारमा आएका १२ ओटा समूहमध्ये ब्यापार समूहको परिसूचक २ दशमलव ४६ प्रतिशत, विकास बैंक समूहको परिसूचक शून्य दशमलव ४८ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । 

सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव शून्य ४ प्रतिशत वृद्धि भएको छ । सोमवार दिनभरको कारोबार अवधिमा सबैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४५५ पुगेको छ ।

सबैभन्दा धेरै सोमवार सिद्धार्थ बैंकको डिबेञ्चरको शेयर मूल्य ७ दशमलव ६० प्रतिशत घटेको हो । दोस्रोमा समिट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ८७ प्रतिशत घटेको छ । 

त्यसैगरी सर्वाधिक कारोबार गर्नेमा सोमवार पनि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको रू. ३४ करोड ९१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।  कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रू. २ हजार २२४ पुगेको छ । कम्पनीले आर्कषक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै उक्त कम्पनीको शेयर सर्वाधिक कारोबार भएको हो ।

दोस्रोमा नागरिक लगानी कोषको रू. ३२ करोड ३५ लाखभन्दा बढीको शेयर खरीद विक्री भएको हो । कोषले हकप्रद शेयर निष्कासन गर्न पुस १४ गते बुकक्लोज गरेको छ । 
बुकक्लोज गर्ने अन्तिम दिन भएका कारण पनि कोषको शेयर धेरै खरीदविक्री भएको हो । पछिल्लो समयको बजार हेर्दा अल्पकालिन लगानीकर्ता प्रोफिट बुक गर्दै पुन : शेयर खरीद गर्नेतर्फ लागेका छन् ।जसका कारण आइतवार ३९ दशमलव ९८ अंक बजार घटेको थियो भने पुनः सोमवार परिसूचक बढेको छ । 

कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केहि घटेको छ । आइतवार रू.५ अर्बभन्दा बढीको शेयर खरीदविक्री भएको थियो ।  यसरी हेर्दा बजारमा पछिल्लो समयमा दिर्घकालिन लगानीभन्दा अल्पकालिन लगानी गर्नेको संख्या बढी देखिन्छ ।

त्यसो त अहिले बजारमा पर्याप्त मात्रमा तरलता, सस्तो ब्याजदर र ब्रोकर कमिशन घटेकोले पनि अव बजार बुलिस प्रवृत्तिमा जाने अनुमान लगानीकर्ताले गरेका छन् ।