ब्रोकर कमिशन घटेर लागू भएको दिन नेप्से ३९.९८ अंकले घट्यो, कारोबार रकम करीब ५ अर्ब

ब्रोकर कमिशन घटेर लागू भएको दिन नेप्से ३९.९८ अंकले घट्यो, कारोबार रकम करीब ५ अर्ब


बैकिङ्ग समाचार ।

धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिशन घटेर लागू भएको दिन धितोपत्र बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।

यस दिन अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा बजार ३९ दशमलव ९८ अंक घटेर १ हजार ९९८ दशमलव ६५ विन्दुमा बन्द भएको हो । बिहीवार बजार २ हजार ३८ दशमलव ६३ विन्दुमा बन्द भएको थियो । २ हजार ४७ दशमलव १३ विन्दुदेखि खुलेको बजार निरन्तर घटेर बन्द भएको हो ।

यो दिन कारोबारमा आएका १२ ओटा समूहकै परिसूचक घटेको छ । सर्वाधिक होटल समूहको परिसूचक ४ दशमलव ६६ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङको १ दशमलव ४९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४८ प्रतिशत, जलविद्युतको १ दशमलव ९१ प्रतिशत, वित्तको शून्य दशमलव ५८ प्रतिशत, निर्जिवन बीमाको २ दशमलव ५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९५ प्रतिशत, अन्यको २ दशमलव ७५ प्रतिशत, लघुवित्तको १ दशमलव ३ प्रतिशत, जीवन बीमाको ३ दशमलव ७९ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक घटेको छ ।

आइतवार कारोबार रकम पनि रू. ४ अर्ब ६२ करोड ३४ लाख ५२ हजारमा सिमित भएको छ । बिहीवारको तुलनामा कारोबार रकम पनि घटेको हो । बिहीवार रू. ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार बराबरको शेयर कारोबार भएको थियो ।

आइतवार पनि नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको पहिलो स्थान ओगटेको छ । कम्पनीले दुई साताभन्दा बढी समयदेखि सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको स्थान सुरक्षित गर्दै आएको छ । 

आइतवार यस कम्पनीको रू. ६७ करोड ५७ लाख ४३ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार गर्दे आएको उक्त कम्पनीको शेयरमूल्य दोहोरो अंकले घटेको बजारमा प्रतिकित्ता रू. ११६ ले घटेर रू. २ हजार २२४ मूल्य कायम भएको छ । दोहोरो अंकले घटेको आइतवारको बजारमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव ८१ प्रतिशतले बढेको छ । यो दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७ ले बढेर अन्तिम मूल्य रू. ४१४ पुगेको हो ।

आइतवार सर्वाधिक मूल्य घट्नेमा विशाल बजार कम्पनी र सोल्टी होटल रहेको छ । विशाल बजार कम्पनीको ५ दशमलव ५४ प्रतिशतले घटेर रू. २ हजार ५४१ र सोल्टी होटलको ५ दशमलव ३७ प्रतिशत घटेर रू. १९४ मूल्य कायम भएको हो । 

धितोपत्र बजारको विकास र विस्तारका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुस १२ गतेदेखि धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिशन घटाएको छ ।

बोर्डले शेयर, ऋणपत्र र म्यूचुअल फण्डको इकाई खरीद वा विक्री गर्दा लाग्ने कमिसन घटाएर लागू गरेको हो । शेयर खरीदविक्रीमा लाग्ने यस अघिको शून्य दशमलव ४० प्रतिशतदेखि शून्य दशमलव ६० प्रतिशतसम्मको ब्रोकर कमिशन बोर्डले शून्य दशमलव २७ प्रतिशतदेखि शून्य दशमलव ४० प्रतिशतमा झारेको हो ।

बोर्डले निर्धारण गरेको हालको कमिशनले पनि साना लगानीकर्ता मर्कामा पर्ने विश्लेषण लगानीकर्ताहरुले गरेका छन् । डिपीचार्ज रू. २५ लाई घटाउनुपर्ने माग पनि लगानीकर्ताहरुको छ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बोर्डको ब्रोकर कमिशन सम्बन्धि निर्णयलाई “मितको टाउको बेलै बराबर” भन्ने टिप्पणी गरेकी छिन् ।

बोर्डले न्यूनतम रू. २५ ब्रोकर कमिशनलाई रू. १० मा हैन रू. १ मा झार्न उनले सुझाब दिएकी छिन् । उनले आफुले दिएको सुझाबप्रति बोर्डलाई चित्त नबुझे नजिकका दुई ठूला छिमेकी राष्ट्रमा आँखा लगाउन पनि अनुरोध गरेकी छिन् । 

उता, ब्रोकरहरुले पनि कमिशनको विषयमा एकलौटी निर्णय गरेको आरोप लगाएका छन् । स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष भरत रानाभाटले धितोपत्र दलाल व्यवसायीको कमिशन छुट्याउन सुझाब दिएका थिए । तर बोर्डले ब्रोकर कमिशनभित्रै आफुले पाउने कमिशनलाई गाभेको छ ।

ब्रोकर कमिशनबाट शून्य दशमलव ६ प्रतिशत बोर्डलाई र शून्य दशमलव शून्य २ प्रतिशत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई बुझाउनुपर्ने व्यवस्था बोर्डले गरेको हो । कारोबार कमिशन वाहेक अन्य आम्दानीको स्रोत नभएको अवस्थामा आम्दानीको अन्य विकल्प दिनुपर्ने पनि रानाभाटको माग छ ।