बैंकिङ्ग समाचार, काठमाडौं ।
क्यासलेस (नोटरहित) समाज निर्माणका लागि डिजिटल बैंकिङ्ग अपरिहार्य छ । त्यसको उत्थान र प्रोत्सानका लागि यतीबेला बैंकहरुले तिब्र कसरत गरिरहेका छन । प्रविधिको विकासका कारण बैंकिङ्ग क्षेत्रमा आमूल परिवर्तन आएको छ । बैंकिङ्ग क्षेत्रको आठ दशक लामो इतिहासमा नेपाली बैंकहरु शहरबाट घर र घरबाट जनताका खल्तीमै पुगेका छन । प्रविधिको प्रयोग बढाउन बैंकहरुले डेबिट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्दै आएका छन। मोबाइल र इन्टरनेट बैंकिङ्ग जस्ता सुविधा जनताका दैलामा पुर्याएका छन। सामान खरिदवापतको भुक्तानी होस वा घरायसी बिलहरु तिर्न, बैंकिङ्ग सुविधाको उपलब्धता बढ्दो छ । हात–हातमा पुगेका स्मार्ट मोबाइलले पनि अत्याधुनिक बैंकिङ्गको प्रयोगमा सहभागिता बढाउन थालेको महसुश गरिएको छ । विशेषतः कोभिडका कारण यसको महत्व पनि बढेको छ ।
यस्तै कसरतमा देशको राष्ट्रिय स्तरको माछापुच्छ्रे बैंकले आफुलाई स्मार्ट बैंकको रुपमा परिचित गराइरहेको छ । ‘अहिले हाम्रो बैंकको काम पेपरलेस भएको छ ।’ सोही बैंकमा डिजिटल मार्केटिङ्ग प्रमुखको रुपमा कार्यरत सुनिल खतिवडाले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भने, ‘डिजिटल प्रणालीमा जाँदा अनलाइनबाट खाता खोल्न सकिन्छ । केवाईसी अपडेट गर्न सकिन्छ । सामान्य भन्दा पनि सामान्य सेवाका लागि पनि बैंक धाइरहनु पर्दैन। शुल्क तिर्न, कुनै साथीलाई पैसा दिनदेखि ईएमआई तिर्नुपरे सबै डिजिटल सेवाबाटै गर्न सकिन्छ ।’
‘हामीले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका आधारभुत सेवाहरु त दिइरहेका छौँ । तर यती मात्रैले पुगेको छैन । माछापुच्छ्रे बैंकलाई स्मार्ट बैंकको रुपमा प्रचार त गरिरहेका छौं । तर यसले ग्राहकहरुलाई कत्तिको स्मार्ट बनाएको छ त ? यो मुख्य कुरा हो । त्यसैले हामीले बुझे अनुसार डिजिटल बैंकिङ्गलाई प्रचार गरेर मात्रै पुग्दैन । यसको प्रयोगको लागि आवश्यकता अनुसार मर्चेन्टहरुको पनि सञ्जाल विस्तार गर्नुपर्छ ।’ यसको लागि माछापुच्छ्रे बैंक निरन्तर लागिपरेको बताउँदै उनले भने,‘ कुनै समय ‘बैंक तपाईको घर–घरमा’ भन्ने नारा हुन्थ्यो । तर अहिले नारा फेरिएको छ, ‘बैंक तपाईंको गोजीमै’ ।’
यसको लागि माछापुच्छ्रे बैंक निरन्तर लागिपरेको बताउँदै उनले भने,‘ कुनै समय ‘बैंक तपाईको घर–घरमा’ भन्ने नारा हुन्थ्यो । तर अहिले नारा फेरिएको छ, ‘बैंक तपाईंको गोजीमै’ ।’
पछिल्लो समय माछापुच्छ्रे बैंकले ‘वी च्याट वालेट’ सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवा नेपाली बैंकिङ्ग क्षेत्रकै नयाँ थियो । यसमा विशेषगरी बैंकले चीनका पर्यटकहरुलाई ‘फोकस’ गरिएको उनले बताए । उनले भने,‘नेपाल घुम्न आउने चीनका अधिकांश पर्यटकहरुसँग कार्ड पनि हुँदैन र नगद पनि बोक्दैनन् । त्यसैले नेपालमा हुँदा उनीहरुले गरेको खर्चको बील भुक्तानीका लागि समस्या देखेपछि हामीले यस्तो सेवा सञ्चालनमा ल्याएका थियौँ । अहिले हामीले सबै मर्चेन्टहरुकोमा क्युआर राखिदिएका छौँ । अब बिल भुक्तानीको लागि कुनै समस्या भएन ।’ यस्तै माछापुच्छ्रे बैंकसँग अहिले ‘च्याट बट’ पनि छ । त्यसमा आम उपभोेक्ताहरुले भोगेका समस्याहरु राख्न सकिने खतिवडाले सुनाए । ‘हामीले ‘च्याड बट’ लाई फेसबुक म्यासेन्जरसँग जोडेका छौँ । यसमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ भएको हुनाले ग्राहकका समस्याहरुलाई ‘अटोमेटिक’ हल गर्नेछ ।’
डिजिटल सेवाको दौडानमा विभिन्न चुनौती पनि छन । डिजिटल बैंकको पूर्वाधार तयारीमा कति खर्च गर्ने भन्ने सीमितता छैन। ग्रामीण भेगमा यसको सेवा विस्तार गर्न कठिन छ । स्मार्ट फोन हातमा भएकाहरु पनि त्यती विश्वस्त भएर लाग्न सकिरहेका छैनन । त्यसैले माछापुच्छ्रे बैंक डिजिटल गम्भीर भएर लागेको उनले बताए । उनले भने,‘एकातिर कस्तो खालको सिस्टम र कस्तो उपकरण राख्ने भन्ने हुन्छ भने अर्कोतिर हाम्रो अहिलेको आवश्यकता के हो ? ग्राहकले प्रयोग गर्नसक्ने प्रोडक्ट के–के हुन ? भन्ने पनि छ । यस्ता विषयलाई ध्यान दिँदै बैंकले नयाँ पुस्तालाई तार्गेट गरेको छ । यसमा विषेश गरी विद्यार्थीहरु पर्छन ।’
यो युग भनेको डिजिटल ट्रान्सफर्मेसनको हो । यकातिर पुर्वाधार निर्माण र अर्कातिर यसको प्रयोगको बारेमा दिने सूचना तथा जानकारी यी सबै कुरा यतीबेलाका चुनौतिहरु हुन् । डिजिटल बैंकिङ्गको प्रयोगमा विद्यार्थीहरुलाई प्रोत्साहित गर्नका लागि आफुहरु अहिले कलेजहरुमा धाइरहेको उनले बताए । उनले भने, ‘हाम्रो बैंकले विद्यर्थीहरुलाई डिजिटल बैंकिङ्गको प्रयोगमा प्रोत्साहित गर्नको लागि विद्यार्थी बचत खाता सञ्चालनमा ल्याएका छौँ । त्यसमा विद्यर्थीहरुले भएका सबै डिजिटल सेवाहरु सित्तैमा लिन पाउनेछन् । हामीले विद्यार्थीहरुलाई वित्तिय ज्ञान बढाउनको लागि यस्ता सेवाहरु सञ्चालनमा ल्याएका हौँ ।’
नयाँ पुस्तालाई ‘फोकस’ गरेको माछापुच्छ्रे बैंकले विद्यर्थीहरुकै लागि ‘स्टुडेन्ट क्रेडिट कार्ड’ को पनि सुविधा ल्याएको छ । खासगरी क्रेडिट कार्ड भन्ने वित्तिकै कमाई हुनेका लागि मात्रै बुझिन्छ । तर विद्यार्थीहरुलाई किन ? प्रश्नको उत्तर दिँदै खतिवडाले भने, ‘हामीले विद्यर्थीहरुलाई २० हजारसम्मको क्रेडिट कार्ड दिने व्यवस्था लागु गरेका छौँ । यो किन त भन्दा विद्यार्थीहरुलाई वित्तिय अनुसाशन सिकाउनको लागि। पैसा पछि तिर्नु त पर्छ । तर भुक्तानीको लागि पनि हामीले अत्यान्तै सजिलो बनाइदिएका छौँ । महिनाको ५ सय रुपैँया पकेट खर्चबाट तिर्ने व्यवस्था मिलाएका छौँ । ब्याज पनि कम छ । फेरि विद्यार्थहरुलाई क्रेडिट कार्ड दिने हामीले मात्रै हो ।’
करिब १० लाख ग्राहक रहेको माछापुच्छ्रे बैंकमा अनलाईनमार्फत कारोबार गर्ने २ लाख ग्राहकहरु छन् । तर कोभिड–१९पछिको लकडाउनमा डिजिटल बैंकिङ्गमा ठुलो उपलब्धी हाँसील गरेको खतीवडाले सुनाए । उनले भने, ‘लकडाउनका बेला उपभोक्ताहरुलाई हामीले अफिसबाटै फोन गरेर मोबाइल बैंकिङ्ग चलाउन सिकायौं । सबै काम घरबाटै गर्न सकिने भएपछि उनीहरु पनि खुशी भएका थिए । त्यसबेला डिजिटल बैंकिङ्ग कारोबार ५ गुणाले बढेको थियो । त्यसबेला त ग्राहकहरुले एक प्रकारको बाध्यताले सिके तर यो पनि हाम्रो लागि थोरै नै हो । यसमा हामीले अझै धेरै गर्न बाँकी नै छ ।’
अहिले धेरै नागरिकको बैंक खाता छ। अधिकांश व्यवसायीहरूको पनि बैंक खाता छ। त्यसैले सम्भव भएसम्म बढीभन्दा बढी नागरिकहरूलाई नगदरहित डिजिटल कारोबारको प्रोत्साहन गर्न सबै पक्षले आ–आफ्नो स्थानबाट पहल गर्न जरुरी छ। यसको जती प्रयोग बढ्दै जान्छ त्यती नै धेरै जाखिमहरु त आउँछन नै । यस्ता जोखिमहरुको विषयमा बहस गर्दै उनले भने, ‘हामीले हाम्रा सिस्टमहरुलाई बलियो बनाउनुपर्ने छ । पहिला सानो सिस्टमले काम गथ्र्यो भने अहिले सुरक्षीत र बलियो सिस्टमको आवश्यकता पर्ने देखिन्छ । त्यसैले यसको प्रोत्सानको लागि बैंकले यसमा धेरै लगानी गर्नुपर्ने हुन्छ । अर्को कुरा यसको प्रयोग गर्ने मर्चेन्टहरु पनि खर्च बढ्ने डरले त्यती उत्साहित देखिँदैनन् ।’
बेला–बेलामा प्रविधिका कारण वित्तीय दुर्घटनाहरु भएका छन। सोही कारण ग्राहकहरुमा मनोवैज्ञानिक अड्चन हुने गरेको उनी बताउँछन । उनले भने, ‘एटीएमबाट रकम चोरी, बैंकहरुको प्रणाली नै ह्याक गरेर विदेशबाटै पैसा झिकिदिने जस्ता घटनाले मनोवैज्ञानिक त्रास सिर्जना गरिरहेको पाइन्छ । त्यस्ता घटनाले पनि ग्राहकलाई प्रविधिमैत्री बन्न बाधा उत्पन्न गरिरहेका छन। त्यसैले ग्राहकहरुले पनि डिजिटल माध्यमबाट कारोबार गर्दा पिन नम्बर, पासवर्ड लगायतका कुराहरु सुक्षीत राख्नुपर्ने हुन्छ ।’
बैंक तथा वित्तीय संस्थाहरूमा आबद्ध सबै ग्राहकहरूलाई डिजिटल कारोबारमा अभ्यस्त बनाई डिजिटल नेपाल बनाउने अभियानमा योगदान गर्न नियामक निकाय, बैंक तथा वित्तीय संस्था, ठूला तथा साना व्यवसायी, तीनै तहका सरकारले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न जरुरी रहेको उनी बताउँछन । नियमनकारी निकायले पनि सबैलाई सहज र सबल निति ल्याएको खण्डमा देशमा डिजिटल बैंकिग प्रणालिमा कायापलट हुने उनको भनाई छ ।
प्रतिक्रिया