राष्ट्र बैंकले गर्‍यो पुनर्बीमासहित १३ कम्पनीको शेयर धितोका लागि ‘अयोग्य’ घोषणा

राष्ट्र बैंकले गर्‍यो पुनर्बीमासहित १३ कम्पनीको शेयर धितोका लागि ‘अयोग्य’ घोषणा


बैंकिङ्ग समाचार ।

नेपाल पुनर्बीमा कम्पनी सहित दोस्रो बजारमा सूचीकृत कम्पनीका शेयर बैंकिङ धितोमा लिइने कर्जाका लागि अयोग्य भएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले यी कम्पनीलाई ऋण लिने हैसियतको दायराभन्दा बाहिर राखेको हो । 

 

राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशनमा संशोधन गर्दै शेयर धितोमा लिइने कर्जाका सम्बन्धमा नयाँ व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार २ सय ५० वटा कारोबार इतिहास नभएका कम्पनीहरु शेयर धितो कर्जाका लागि अयोग्य हुने व्यवस्था गरिएको हो । यो व्यवस्थाले यस्ता कम्पनीहरुको शेयर धितोमा राखेर कर्जा लिने अवस्था केही समयका लागि बन्द भएको हो । 

 

कुन कुन कम्पनी अयोग्य ? 

बजार खुलेको प्रत्येक दिन कारोबार भएको अवस्थामा पनि राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गर्न कम्तीमा पनि २०७६ भदौभन्दा अगाडि १८ गतेभन्दा अगाडि शेयर सूचीकरण भई काराबार सुरु भइसकेको हुनु पर्नेछ । त्यसभन्दा पछि सूचीकरण भएका कम्पनीको शेयर आजको दिनसम्म धितोका लागि अयोग्य मानिन्छन् । 

साधारण शेयर निष्कासन र बजारमा सूचीकृत भएर कारोबार सुरु भइसकेकामध्ये आजको दिनमा १३ वटा कम्पनी अयोग्य छन् । त्यसमध्ये बजारमा भर्खरै सुचीकरण भएको माउन्टेन इनर्जी हाइड्रोपावरदेखि हिमाल दोलखा हाइड्रो कम्पनीसम्म छन् । 

यसअन्तर्गत सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी, समाज लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, लिवर्टी इनर्जी, एनआरएन इन्फास्ट्रक्चर, अजोड इन्स्योरेन्स, साधना लघुवित्त, एजनआईशी एशिया लघुवित्त र सबैको लघुवित्त समेत छन् । तोकिएको कारोबार अवधि पूरा भएपछि यी कम्पनीहरु कारोबारका लागि योग्य हुनेछन् । 

संस्थागत लगानीकर्तालाई धक्का

बजारमा सूचीकरण भएसँगै निरन्तर उचालिँदै आएका नयाँ कम्पनीलाई यो निर्णयले धक्का पुर्याउनेछ । अहिले बजारमा विभिन्न बीमा कम्पनीका साथसाथै इन्फास्ट्रक्चर बैंक लगायत ठूला कम्पनीहरुको आईपीओ आउँदैछ । ती कम्पनीका शेयर पनि शेयर धितो कर्जाका लागि अयोग्य हुनेछन् । यसले गर्दा त्यस्ता कम्पनीहरुमा संस्थागत लगानीकर्ताको आकर्षण घट्नेछ । यसले शेयर स्क्रिपको अस्वभाविक वृद्धिलाई रोक्नेछ । 

अहिले बजारमा पुनर्बीमा लगायत कम्पनीको शेयर माथि उचालिनुमा संस्थागत लगानीकर्ताको हात रहेको टिप्पणी हुने गरेको छ । संस्थागत लगानीकर्ता बैंकिङ ऋणमा बढी आश्रित हुने हुँदा त्यस्ता शेयरहरु कारोबारका लागि अयोग्य हुँदा यस्ता कम्पनीहरुका त्यस्ता लगानीकर्ताको आकर्षण कम हुन्छ । अहिले यो बैंकको शेयर होल्ड गर्ने लगानीकर्तालाई यो निर्णयले धक्का पुगेको छ ।