काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सुधार प्रक्रिया अगाडि बढाउन नेपाल धितोपत्र बोर्डका उच्च पदाधिकारी तथा नेप्सेका सञ्चालक समितिबिच छलफल सम्पन्न भएको छ। नेपाल सरकारले गठन गरेको नेप्सेको पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ ले पेस गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन, उपकरण तथा सेवा विविधीकरण विषयमा सेबोन तथा नेप्सेका पदाधिकारीबीच बोर्डको कार्यालयमा असोज २९ गते छलफल सम्पन्न भएको हो।
उक्त छलफलमा बोर्डका अध्यक्षसहित उच्च व्यवस्थापन र नेप्सेको सञ्चालक समिति तथा उच्च व्यवस्थापनका पदाधिकारीहरू सहभागी थिए। छलफल नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति, कार्य प्रक्रिया र कारोबार प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा केन्द्रित थियो। उक्त छलफलमा पुँजी, जनशक्ति तथा सूचना प्रविधि पूर्वाधार आधुनिक स्टक एक्सचेन्जका लागि अपरिहार्य विषय रहेको जानकारी गराउँदै बोर्डका अध्यक्ष डा.गोपाल प्रसाद भट्टले नेप्सेको सुधार प्रक्रियाको सुरुवातको रूपमा पहिलो पटक छलफल कार्यक्रम आयोजना गरेको बताए।
नेप्सेको पुँजी तथा स्वामित्वको पुनर्संरचनाको काम र दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवं उपकरण तथा सेवा विविधीकरणसँग सम्बन्धित विभिन्न ३० भन्दा बढी विषयमा बोर्डको नियामयकी अधिकार प्रयोग गरी धितोपत्र बजार सुधारको कार्य साथ साथै अगाडि बढाउने बोर्डको आगामी कार्यदिशा रहेको जानकारी दिए। छलफलका क्रममा नेप्सेको सञ्चालक समितिका अध्यक्ष तथा नेपाल सरकार, अर्थ मन्त्रालयका सह–सचिव नारायण प्रसाद रिसालले बोर्ड र नेप्सेको सञ्चालक समितिबिच भएको यस छलफल कार्यक्रमलाई धितोपत्र बजार सुधारको नयाँ सुरुवातको संज्ञा दिँदै नेप्से पुनर्संरचना सम्बन्धी प्रतिवेदनमा उल्लिखित तत्काल कार्यान्वयन गर्न सकिने विषयमा हाल नेप्से केन्द्रित रहेको बताए।
यता बोर्डका उप कार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचना सम्बन्धी प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन तथा दोस्रो बजारको सञ्चालन, व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै धितोपत्र बजार उपकरण तथा सेवा विविधीकरण विषयमा बोर्डले तयार गरेको नियामयकी विषयमा केन्द्रित भई प्रस्तुतीकरण दिएकी थिइन्। नेप्सेको पुनर्संरचना तथा दोस्रो बजारको प्रभावकारी सञ्चालनमार्फत नेपालको पुँजी बजारमा लगानीका विकल्प विस्तार, कारोबार प्रणालीको विश्वसनीयता वृद्धि र बजारको पारदर्शिता सुदृढ गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ।







About Us
प्रतिक्रिया