भोटेकोशी बाढी उद्धारमा सघाउन अष्ट्रेलियाले पठाउँदै ड्रोन विशेषज्ञसहितको टोली


काठमाडौं – भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियानमा सहयोग पुर्‍याउन अष्ट्रेलियाले ड्रोन विशेषज्ञसहितको १५ सदस्यीय विपद् सहायता प्रतिक्रिया टोली नेपाल पठाउने भएको छ।

अष्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङले उक्त जानकारी दिँदै टोलीमा फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स तथा क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यहरू पनि सहभागी रहने बताएकी छन्। टोली आगामी केही दिनभित्र नेपाल आइपुग्ने जनाइएको छ।

अष्ट्रेलिया सरकारले टोलीले अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गरी प्रभावित क्षेत्रको तीव्र नक्सांकन, तस्बिर संकलन तथा खोजी कार्यमा सहयोग गर्ने जनाएको छ। यसबाट नेपाली सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरूलाई उद्धार अभियान प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

अष्ट्रेलियाले यसअघि पनि नेपाललाई सहयोगको प्रस्ताव गरेको थियो। नेपाल सरकारले औपचारिक रूपमा सहयोग मागेपछि विशेषज्ञ टोली पठाउने निर्णय गरिएको हो। अष्ट्रेलियाले खोज, उद्धार तथा पुनःस्थापनाका कार्यमा थप सहयोग गर्न समेत आफू तयार रहेको जनाएको छ।

यसअघि नै संकट व्यवस्थापनका लागि १९ जना अष्ट्रेलियाली कर्मचारी नेपाल आइसकेका छन्। उनीहरूमा कन्सुलर तथा मानवीय सहायता अधिकारी, अष्ट्रेलियाली संघीय प्रहरी तथा रक्षा मन्त्रालयका कर्मचारीहरू रहेका छन्।

भोटेकोशी बाढीमा परेर हालसम्म ३८ अष्ट्रेलियाली नागरिक बेपत्ता रहेको जनाइएको छ।