काठमाडौं – रसुवा बाढी प्रभावित क्षेत्रका लागि सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बताएका छन्। उनका अनुसारअनुसार भारतसहित विभिन्न मुलुकबाट ठूलो परिमाणमा राहत तथा उद्धार सहयोग प्राप्त भइरहेको छ।
भारतले हालसम्म ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धार कार्यका लागि भारतको ११ सदस्यीय टोली नेपाल आइसकेको छ। भारतले २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रकसमेत अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ। पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुने क्रममा रहेको छ भने श्रीलंकाले १० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको प्रधानमन्त्री शाहले बताएका छन्।
यस्तै, चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरिसकेको छ। चीनबाट आएको उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ भने चीनले ५० टन राहत सामग्री समेत उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा आवश्यक पर्ने ३० वटा बेलीब्रिज सहयोग गर्न नेपाल सरकारले चीनसँग अनुरोध गरेको छ।
अमेरिकाले ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) ले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने थप १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ। स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १० लाख स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको छ।
आर्थिक पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट समेत सहयोगको प्रतिबद्धता आएको छ। एसियाली विकास बैंक ९एडीबी० ले बजेटरी सहयोगअन्तर्गत ५० लाख अमेरिकी डलर अनुदान तथा प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
प्रधानमन्त्री शाहका अनुसार बेलायत, जापानलगायत मित्रराष्ट्रबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने युरोपेली संघ (ईयू) र संयुक्त राष्ट्रसंघका विभिन्न निकायबाट समेत राहत तथा पुनः स्थापनाका लागि सहयोग प्राप्त भइरहेको छ।






About Us
प्रतिक्रिया