भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ५६ जनाको शव फेला


काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मङ्गलवार दिउँसो १४ बजे सम्म १ हजार ५६ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३ सय २१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्चिम १ सय ६५ जना र भारतमा ५ जना गरी १ हजार ५६ जनाको शव फेला परेको हो।

फेला परेको शवहरू मध्ये ९ सय ७२ को लाइजाँच मुचुल्का सम्पन्न भएको छ भने ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ सय २१ महिला, १ सय ९८ पुरुष र ३ सय ६५ नखुलेको गरी जम्मा ६ सय ८४ वटा शव व्यवस्थापन (माटो मुनि गाडिएको) गरिएको छ। साथै पहिचान नभएको ८ सय ६९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। 

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रहरूबाट ४ हजार ५ सय ३० जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ६ सय ६ जनाको खोजी कार्य भइरहेको छ।

विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ४ सय ५३ जना व्यक्तिहरूलाई राखिएको छ। जसमध्ये नुवाकोटमा २ हजार ४ सय ६६ जना, धादिङमा २ सय ६० जना, रसुवामा ३ सय ९८ जना र काठमाडौंमा ३ सय २९ जना रहेका छन्।प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।