रसुवा- रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा करिब १५ मिटर तल ओर्लेर टोलीले काम गरिरहेको छ। त्यस्तै, त्रिशूली–३ बी को टनेलमा पनि सेनाको विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
रसुवागढी हाइड्रोपावरको टनेलमा भने सुरक्षाकर्मीको संयुक्त टोली खोजतलास गर्दै करिब २५० मिटर भित्रसम्म पुगेको थियो। तर, त्यहाँ कोही पनि फेला नपरेपछि टोली बाहिर फर्किएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यलाई व्यवस्थित र समन्वयात्मक बनाउन नेपाली सेनाका आठ हजार ९०० भन्दाबढी जनशक्ति प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाको टोलीले खोला किनार, पहाडी क्षेत्र तथा स्थानीयका घर–घरमा पुगेर खोजी, उद्धार र राहतकार्य गरिरहेको नेपाली सेना श्रीनाथ गणले जनाएको छ।






About Us
प्रतिक्रिया