काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवामा विपद्पछिको पुनः स्थापना तथा राहतका लागि अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त हुने आर्थिक तथा मानवीय सहयोग बढ्दै गएको बताएका छन्। प्रधानमन्त्री शाहले फेसबुकमार्फत रसुवाका लागि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट आर्थिक, प्राविधिक तथा मानवीय सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिएका हुन्।
उनका अनुसार एसियाली विकास बैंक (एडिबी)बाट बजेटरी सहयोगअन्तर्गत ५ मिलियन अमेरिकी डलर अनुदान तथा प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ। त्यस्तै, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा प्राप्त हुने भएको छ।
अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर तथा अस्ट्रेलिया सरकारले १ मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले बताएका छन्। यसैगरी, भारत सरकारबाट हालसम्म चार चरणमा गरी कुल ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि यस्तै प्रकृतिको मानवीय सहायता आउने क्रममा रहेको उनले जानकारी दिएका छन्।
पूर्वाधारतर्फ चीनसँग ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको छ। भारतले आइतबार २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ। भारतले थप सात वटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। त्यस्तै, स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १ मिलियन स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको जनाइएको छ।






About Us
प्रतिक्रिया